गोरक्ष समाचारदाता
तुलसीपुर, २ चैत । राप्ती बबई क्याम्पसको अंग्रेजी विभागको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका–१३ स्थित आधारभूत विद्यालय बराहखुटी, दाङमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
अंग्रेजी विभागका विभागीय प्रमुख छविकुमार ओलीको संयोजकत्व तथा राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख सुशीलकुमार पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । शिविरमा एक सय २० भन्दा बढी स्थानीयले निःशुल्क आँखा परीक्षण गराएका थिए ।
तुलसीपुरको विकट क्षेत्र मानिने बराहखुटीमा राप्ती बबई क्याम्पसले पहिलो पटक स्वास्थ्य शिविर आयोजना गरेको भन्दै स्थानीयबासी तथा विद्यालय व्यवस्थापन समितिले कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको सहजीकरण क्याम्पसका पीआईसी शाखा प्रमुख किरण केसीले गरेका थिए ।