गोरक्ष समाचारदाता
दाङ, २ चैत । नेपाल र भारतलाई जोड्ने धार्मिक एवम् ऐतिहासिक ‘गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा–२०८२’ सुरु भएको छ । प्रत्येक वर्ष चैत एकादशीका अवसरमा हुने गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन यात्रा आइतवार बिहानदेखि सुरु भएको हो ।
भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रूपमा रहेको दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्षपात्रदेवता सिद्धरत्ननाथ मठबाट सुरु भएको यात्रा विभिन्न ठाउँको परिक्रममा गर्दै चैतको ९ गते भारतको तुलसीपुरस्थित पाटेश्वरी मन्दिर पुग्नेछ ।
यात्राका क्रममा धार्मिक विधिअनुसार घोराही–३ चौपट्टास्थित महामृत्युञ्जय मन्दिर, लमही नगरपालिका–६ देउपुरस्थित गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिका–८ अन्तर्गत जमुनीबास, कोइलावास र भारतको जनकपुरमा रहेको मन्दिरमा विश्राम र पूजा गर्दै टोली चैतको ९ गते देवीपाटन मन्दिर पुग्ने कार्यक्रम रहेको गोरक्षपात्रदेवता देविपाटन महायात्रा व्यवस्थापन एवम् सञ्चालन समितिका सदस्य सचिव डा गोविन्द आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार देवीपाटन मन्दिर पुगेपछि १४ गतेसम्म पाँच दिन नेपाली टोली मन्दिरमा बस्ने र त्यो अवधिमा मन्दिरमा हुने सम्पूर्ण पूजापाठको कार्य नेपाली पुजारीहरूले गर्ने परम्परा छ । विगतदेखिको परम्पराअनुसार प्रत्येक वर्ष चैत्र एकादशीका अवसरमा चौघेरा मठबाट पिर, पुजारी, भण्डारी, सिरानेलगायत साधुसन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वलगायतका विभिन्न क्षेत्रका प्रतिनिधिसहितको यात्रा टोली देवीपाटन जाने गरेको संस्कृतिविद समेत रहेका समितिका सदस्य सचिव आचार्य बताउँछन् ।
उनका अनुसार चैत १४ गते देवीपाटन मन्दिरमा ठुलो मेला लाग्ने र उक्त दिनको पूजापाठ गरिसकेपछि त्यहाँबाट नेपाली टोली विदाई भएर चैत १५ गते बिहान नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ । यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि निरन्तर रूपमा हुँदै आएको विश्वास गरिन्छ ।
सदस्य सचिव आचार्यका अनुसार नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्धलाई हरेक वर्ष नवीकरण गर्ने यात्राका रूपमा लिने गोरक्षपात्र देवता–देवता महायात्रालाई लिने गरिन्छ । नेपालबाट पुजारी पुगेपछि नफर्किदासम्म देवीपाटन मन्दिरमा पूजापाठको जिम्मा नेपाली पिर, पुजारी, भण्डारी, सिरानेलगायतले गर्ने परम्परा छ ।’ उनका अनुसार यो यात्रा रातिको समयमा हुने र दिउँसोमा विश्राम गर्ने प्रचलन रहेको छ ।