भालुबाङ, १ चैत। दाङको राप्ती गाउँपालिकाले स्थानीय सिलाई व्यवसायीहरूको सीप तथा पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक महिने कटाई सिलाई सम्बन्धी स्तरवृद्धि सीप विकास तालिम सुरु गरेको छ। तालिमको आइतबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीयस्तरमा रहेका सिलाई व्यवसायीहरूको सीपलाई थप परिष्कृत गर्दै स्वरोजगार र आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताए । उनले सीपमूलक तालिमले व्यक्तिको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यवसायलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहभागीहरूलाई आग्रह गरेका हुन ।
अध्यक्ष विष्टले ‘सीपमार्फत व्यवसाय र व्यवसायमार्फत आर्थिक समृद्धि’ हासिल गर्ने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले सीपमूलक तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न तथा साना व्यवसायलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउँदै तालिमलाई गम्भीरतापूर्वक लिएर सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई सुझाव दिएका थिए ।
उद्यम विकास शाखा प्रमुख बीनिता चौधरीका अनुसार यसअघि आधारभूत तालिम लिई सिलाई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई लक्षित गरी स्तरवृद्धि तालिम सञ्चालन गरिएको हो। तालिममा गाउँपालिकाका विभिन्न वडाबाट ३८ जना महिला सिलाई व्यवसायीहरूको सहभागिता रहेको छ। तालिम वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियाँमा गरी दुई स्थानमा सञ्चालन गरिनेछ। एक महिनासम्म सञ्चालन हुने उक्त तालिमबाट सहभागीहरूको कटाई सिलाई सम्बन्धी सीपमा थप निखार आउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
तालिम उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण राउत, कार्यपालिका सदस्य रणबहादुर पुजाली,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, योजना शाखा प्रमुख अनिल आचार्यलगायतको सहभागिता रहेको थियो।