घोराहीमा सुरु भएन दिसाजन्य लेदो व्यवस्थापनको योजना
अमरराज आचार्य
दाङ, १ चैत । घोराही उपमहानगरपालिकाले दिसाजन्य लेदो (फोहोर) व्यवस्थापनकाको काम सुरु गर्न सकेको छैन । विभिन्न प्राविधिक समस्या तथा निर्वाचनका कारण दिसाजन्य लेदो (फोहोर) व्यवस्थापन कार्यान्वयनमा जान नसकेको उपमहानगरपालिकाले जनाएको हो ।
घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीका अनुसार छिट्टै नै ठेक्का आह्वान गरेर दिसाजन्य फोहोर व्यवस्थापनको काम अगाडि बढाइने भएको छ । दिसाजन्य फोहोर व्यवस्थापनका लागि अत्याधुनिक प्लान्ट बनाइने गरी भएको सम्झौता चार महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । घोराही उपमहानगरपालिकाभित्र रहेका शौचालयबाट निस्कने दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न छ करोड बढी रुपैयाँको लागतमा प्लान्ट बनाइने शाखा प्रमुख अधिकारीले बताए ।
उनका अनुसार घोराही–१३ स्थित डम्पिङ साइटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरिने योजना छ । फोहोरमैला व्यवस्थापन आयोजना सञ्चालन तथा नियमित मर्मतसंभारका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, नेपालगन्ज बाँके र घोराही उपमहानगरपालिकाबिच सम्झौता भइसकेको छ ।
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जका कार्यालय प्रमुख देवेन्द्र झाबिच सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौताले घोराहीलाई सुरक्षित, स्वच्छ र वातावरणमैत्री सहरतर्फ उन्मुख महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।
सम्झौता अनुसार आयोजना निर्माणको सम्पूर्ण पुँजीगत खर्च खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले बेहोर्नेछ भने आयोजना सम्पन्न भएपछि त्यसको स्वामित्व, सञ्चालन र नियमित मर्मतसंभारको जिम्मेवारी घोराही उपमहानगरपालिकाले लिनेछ ।
दुवै पक्षबिच भएको सम्झौताले घोराही क्षेत्रमा सुरक्षित सरसफाइ सेवा प्रवर्धन, जनस्वास्थ्य संरक्षण तथा वातावरणीय दिगोपनामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । तीव्र सहरीकरण हुँदै गएको घोराही जस्तो सहरमा जनसङ्ख्या वृद्धि, अव्यवस्थित बस्ती विकास र फोहोर व्यवस्थापनको अभावका कारण वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै गएको सन्दर्भमा दिसाजन्य लेदो व्यवस्थापनको आयोजना आवश्यक रहेको चौधरीले बताए ।
सेप्टीट्याङ्की तथा फोहोरमैला प्रशोधन केन्द्रमार्फत् ढल र फोहोरलाई सुरक्षित रूपमा सङ्कलन, प्रशोधन र व्यवस्थापन गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार बनाउन लागिएको प्रशोधन उपकरण अत्याधुनिक हुनेछ । ६८ बिघा १२ कट्ठामा फैलिएको डम्पिङ साइटको करिब दुई बिघा क्षेत्रफलमा प्रशोधन उपकरण जडान गरिने अधिकारीले जानकारी दिए ।
छ करोड १४ लाख ९४ हजार चार सय ८४ रुपैयाँको लागत अनुमान गरिएको यस आयोजना बहुवर्षीय हुने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र झाले बताए ।
‘यस आयोजनाबाट घोराही उपमहानगर क्षेत्रको नदी प्रणालीको संरक्षण, जलस्रोतको गुणस्तर सुधार तथा वातावरणीय क्षति न्यूनीकरण हुने विश्वास गरिएको छ’, झाले भने, ‘व्यवस्थापनको आवश्यकता, महत्व र गर्ने प्रक्रियाबारे छलफल भएको छ । यसबाट आम्दानीसमेत लिने गरी योजना बनाइएको हो । यो घोराहीका लागि महत्वपूर्ण आयोजना हो ।’
सम्झौता अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले प्राविधिक तथा व्यवस्थापकीय सहयोग, क्षमता अभिवृद्धि, मापदण्ड तथा सञ्चालन कार्यविधि (एसओपी) विकास, तालिम तथा अनुगमन–मूल्याङ्कनमा सहयोग गर्नेछ । सङ्घीय तथा अन्य स्रोतबाट आवश्यक थप बजेट जुटाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी घोराही उपमहानगरपालिकाले आयोजना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने, सडक कटान अनुमति तथा सम्बन्धित निकायसँग समन्वय गर्ने, वार्षिक बजेट विनियोजन गर्ने र फोहोरमैला प्रशोधन केन्द्रको दैनिकी सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ । प्लान्ट सञ्चालनका लागि दुई जना सञ्चालन तथा मर्मत कर्मचारी र एक जना चौकीदार नियुक्त गर्ने, सेप्टी ट्याङ्की सफा गर्न डिस्लजिङ सवारीसाधन खरिद गर्ने र फोहोरमैला व्यवस्थापनसम्बन्धी नियमावली तथा कार्यविधि तर्जुमा गर्ने व्यवस्था सम्झौतामा समेटिएको छ ।
दुवै पक्षका प्रतिनिधि सम्मिलित संयुक्त समन्वय समिति गठन गरी आयोजना कार्यान्वयन, अनुगमन र समस्या समाधान गर्ने व्यवस्था गरिएको छ । समितिको बैठक कम्तीमा त्रैमासिक रूपमा बस्ने पनि जनाइएको छ । घोराही उपमहानगरपालिकाले दिसाजन्य फोहोर व्यवस्थापनका लागि दिगो समाधान खोज्न परियोजनामार्फत् काम सुरु गरिएको नगर प्रमुख चौधरीले बताए ।
घोराहीमा अत्याधुनिक प्लान्ट स्थापना गरेर दिसाजन्य लेदो व्यवस्थापनमा काम हुनेछ । यसले सरसफाइका क्षेत्रमा महत्वपूर्ण योगदान दिने उपमहानगरपालिकाको अपेक्षा रहेको छ । यस परियोजनाका लागि तथ्याङ्क सङ्कलन तथा नीतिगत तहमा युएन–ह्याबिट्याटको सिडब्लुआइएस परियोजनाले सहयोग गर्ने भएको छ । युएन–ह्याबिट्याटको सिडब्लुआइएस परियोजनाका अनुसार गणक नै खटाएर विवरण सङ्कलन गरिनेछ ।
युएन–ह्याबिट्याटको सिडब्लुआइएस परियोजनाका अनुसार सरसफाइका क्षेत्रमा काम गरिरहेको सन्दर्भमा अहिले यो कार्यक्रम सातै प्रदेशका एउटा÷एउटा स्थानीय तहमा रहेको छ । सरसफाइमा घोराहीलाई नमुना सहर बनाउने उद्देश्य अनुरूप लुम्बिनीको घोराहीमा परियोजनाले सहयोग गर्न थालेको बताइएको छ ।
