‘सांस्कृतिक सम्पदाको संरक्षणसँगै चलचित्र क्षेत्रको विकास’

चलचित्र पत्रकार संघ दाङको छैठौ अधिवेशन

बालाराम खड्का

तुलसीपुर, १ चैत । पूर्व राष्ट्रिय सभा सदस्य र राष्ट्रिय कलाकार कोमल वलीले दाङका प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको छैठौँ जिल्ला अधिवेशनलाई शनिवार तुलसीपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि वलीले सांसकृतिक कला, प्राकृतिक सम्पदाको संरक्षण गर्दै चलचित्र क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन् ।

दाङ थारू समुदायका परम्परागत कला र संस्कृतिको संरक्षणमा पत्रकारिता र चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले पत्रकारले आफ्नो कलम चलाएर दाङको सांस्कृतिक धरोहरको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनु पर्ने बताएकी थिइन् । कार्यक्रममा बोल्दै वलीले भनिन, ‘दाङको परम्परागत नृत्य, कला जस्तै सोरठी, टप्पा र पैसेरी नाचहरू अहिले लोप हुने अवस्थामा पुगेका छन् । यी कला र संस्कृतिको संरक्षणसँगै विकासका लागि चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यसका लागि पत्रकारिता क्षेत्रको पनि भूमिका रहन्छ ।’

सबैको मिलेर चल्ने प्रयासले मात्र यसलाई बचाउन सकिने भन्दै उनले पत्रकारले यी सांस्कृतिक धरोहरको संरक्षणका लागि भूमिका खेल्नु पर्ने बताइन् । वलीले दाङमा फिल्म निर्माण र छायाँङ्कनलाई प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिइन् । ‘दाङमा चलचित्र उद्योगको विकास गर्न आवश्यक स्थान र पूर्वाधारको अभाव छ । यसका लागि सबै तहका सरकार र सञ्चारकर्मी मिलेर काम गर्नुपर्छ’,उनले भनिन्, ‘यसले दाङको सांस्कृतिक सम्पदालाई अझ राम्रोसँग प्रचारप्रसार गर्न मद्दत पु¥याउनेछ ।’

दाङका थारू समुदायको कला र संस्कृतिको संरक्षण र विकासका लागि पत्रकारिता र चलचित्र क्षेत्रलाई जोडेर अघि बढ्न सकिने बताइन् । थारू संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई चलचित्र माध्यमबाट विश्वसामु चिनाउन सकिने बताइन् ।

‘फिल्म उद्योगको विकास र पर्यटन प्रवर्धनका लागि स्थानीय तहबिच सहकार्य अत्यन्त जरुरी छ’, उनले भनिन्, ‘दाङमा विमानस्थलको अभावको समस्या पनि उठाइन् र टरिगाउँ विमानस्थल सञ्चालनमा ल्याउनु पर्नेछ ।’ दाङमा विमान स्थल नहुँदा केही समस्या भएको भन्दै सके टरिगाउँ विमानस्थल नभए दाङमा कुनै पनि ठाउँमा विमानस्थल आवश्यक रहेको र त्यसमा सबैले मिलेर बनाउने बताइन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षमा भएको कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले चलचित्र क्षेत्रको व्यवस्थित विकासका लागि विधेयक र कानुनी संरचनाको आवश्यकता रहेको बताए । प्रदेश सरकारको ध्यान आकर्षित गर्दै चलचित्र क्षेत्रको विकास र पर्यटन प्रवर्धनमा सहकार्य आवश्यक रहेको बताए ।

प्र्रदेशस्तरमा चलचित्र पत्रकारिता र पर्यटन विकासका लागि कानुनी ढाँचा तयार गर्नु पर्ने भन्दै उनले भने, ‘पर्यटन क्षेत्रमा प्रवर्धन गर्न डिजिटल प्लेटफर्मको प्रयोग अपरिहार्य छ । यसका लागि चलचित्र उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्छ तर यसको लागि उचित कानुनी ढाँचा नहुँदा समस्या भइरहेको छ ।’

चलचित्र क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको बताउँदै चलचित्र क्षेत्रबाट देशको आर्थिक समृद्धिमा समेत योगदान पु¥याउने बताए । चलचित्र पत्रकारितामा कलम चलाउने पत्रकारले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए । ‘पर्यटन क्षेत्रको प्रवर्धनका लागि डिजिटल प्लेटर्फ आवश्यक छ’, उनले भने, ‘त्यसका लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्न सक्क तर त्यसका लागि आवश्यक कानुन नहुँदा समस्या भइरहेको छ । प्रदेश सरकाको त्यसतर्फ ध्यानाकर्षण गराउन आवश्यक छ ।’

उनले चलचित्र विधेयक राष्ट्रिय सभाबाट पास भएर अघि बढेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताले पत्रकारहरूको सक्रियताका कारण दाङमा पनि विट पत्रकारिता र त्यसमा पनि मनोरञ्जन पत्रकारिताले राम्रो गति लिएको भन्दै चलचित्र पत्रकार संघको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले समाजलाई दिशानिर्देश गर्ने महत्वपूर्ण माध्यम चलचित्र भएको उल्लेख गर्दै त्यसलाई सही दिशा दिने काम चलचित्र पत्रकारिताले गर्ने बताए ।

उद्घाटन कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य धु्रवराज न्यौपाने, चलचित्र पत्रकार संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव पुन, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहोरा, राष्ट्रिय समाचार समिति (रासस) दाङ प्रमुख नारायणी रजौरे, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रिपोर्टर्स क्लब दाङका अध्यक्ष तथा संघका सल्लाहकार शरद रेग्मी, लेखक तथा साहित्यकार वसन्त आचार्यले चलचित्र पत्रकारिताले फिल्म उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले ं जिल्ला अधिवेशनमा विभिन्न क्षेत्रका पत्रकारलाई सम्मान गरेको छ । अधिवेसनमा गोरक्षकर्मी पत्रकार लीलाधर वली, पत्रकार वसुन्धरा गौतम, सुधासुमन ढकाल, वसन्त पौडेल र दीपक बोहरालाई चलचित्र पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । चलचित्र पत्रकार संघका उपाध्यक्ष पूर्ण केसी ‘मुस्कान’को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।

अध्यक्षमा अर्याल चयन

यसैबिच चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल चयन भएकी छिन् । चलचित्र पत्रकार संघ दाङ शाखाको छैठौँ अधिवेशनबाट अर्याल सर्वससम्मत अध्यक्षमा चयन भएकी हुन् । संघको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारीलाई चयन गरिएको छ । बाँकी सदस्य पछि थप गर्ने गरी सदस्यमा हिमाल महरा, दीपेन खत्री, टेकराज भण्डारीलाई चयन गरिएको छ ।