स्वच्छ निर्वाचनका धमिला दृश्यहरू
केपी सुवेदी
प्रतिनिधि सभा निर्वाचन २०८२ सम्पन्न भएपछि प्राप्त नतिजाले सबैलाई जिल्ल पारेको छ र अहिले यसका कारण खोतल्ने लहर चलिरहेकै छ । निर्वाचनको नतिजा अनपेक्षित हुँदा विदेशी र स्वदेशी शक्ति केन्द्रहरुको भूमिकाको चर्चा पनि हुँदै छ । यस पटक त्यो परम्परा थप रोचक बनाइएको महसुस भइरहेको छ ।
हार्नेहरु वा धेरै मतको आँकलन गरेर अपेक्षाकृत परिणाम नआउँदा तिनै शक्ति केन्द्रलाई दोषारोपण गरेर आफ्नो कमजोरी लुकाउने सजिलो बहानामा यस पालि अझ बढी उत्ताउलो भएको पनि हुन सक्छ । जनताको विचारलाई केही नभएको ठानेर क्षणभरमै बदल्न सक्छु भन्ने दुस्साहसी प्रवृत्तिहरु चुनावी मैदानमा जोकर सरह भएको उदाहरणबाट जनताको चेतनालाई ललकार्नेलाई राम्रै पाठ सिकायो यो निर्वाचनले ।
पृष्ठभूमिमा विकृतिका भरिया साथमा लिएर अघि लागेका नेताहरु पनि यस पटक धेरै ठाउँमा नाजवाफ भएको देखियो । समग्रमा यस पटक विगतलाई अलि फरक किसिमले बुझेर नवीन शैली र तुलनात्मक स्वच्छता अंगालिएको महसुस गरिएको छ । कथित नयाँ दलबाट पुरानामाथि थोपर्ने गरेको मासु भात यस पटक धेरै सुनिएन ।
निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता पालनामा इमान्दार प्रयास भएकै हो र यसलाई विकसित लोकतान्त्रिक मुलुकले अवलम्बन गर्ने ढाँचामा लैजान सकिने आधारहरु यिनै हुन् भन्न सकिन्छ । चुनाव हार्नेहरुको समीक्षा वा चुनावलाई प्रभावित गर्ने महत्त्वपूर्ण शक्तिहरु सम्बन्धिका बुझाइ पनि वैचारिक धरातल अनुसार फरक नै हुने गरेको छ ।
हार्नेहरुले त्यसैमा पनि वामपन्थी विचारले प्रायः विदेशीहरुको चलखेल भयो भन्ने गर्छन् । अझै केही वाम नेताहरु यो, वा त्यो घटनामा विदेशीको नाङ्गो हस्तक्षेप भनेर जनतालाई भ्रमित गर्ने गरिएको छ र यो पटक पनि दोहोरियो । तर जनताको विवेकीय निर्णयलाई नकार्ने प्रवृत्ति गैरवामपन्थी राजनीतिमा कमै देखिन्छ । बरु निर्वाचनमा बहुमत सहित सत्ताको नजिक पुगेको दलप्रति अलिकति अविश्वास र अन्योलको वातावरण बनिरहेको हुन्छ । यस्तो देखिनु अस्वाभाविक मानिँदैन किनभने परीक्षण भइनसकेका दलहरुले सम्पादन गरेको कामको गुणदोषको आधारमा उनीहरुलाई विश्वासको जग बसाउने समय भविष्यले तय गर्छ ।
यो पटक अप्रत्याशित, अनपेक्षित र आश्चर्यजनक नतीजा प्राप्त गरेको रास्वपाले जनमतको सुनामी भित्याएको छ । दुई तिहाइको नजिक पुगेर पनि दुई वटा संख्याको नपुग परिणामले संविधान संशोधनमा अर्को शक्तिसँग मोलमोलाई गर्नुपर्ने परिस्थिति बनेको छ । तैपनि रास्वपा स्वयंका लागि अनपेक्षित नतीजा प्राप्त गर्दा अकल्पनीय धनराशिको चिट्ठा पर्दा अलमलिएझैँ भएको हुन सक्छ ।
रास्वपाले यो नतीजा प्राप्त गर्नुमा उसको राजनीतिक कौसलता वा उसको संगठनात्मक सुदृढताको परिणाम होइन । अस्पष्ट वैचारिक धरातलमा उभिएको पार्टी सुगठित राजनीतिक दलको परिभाषामा समेटिएकै छैन । किनभने मध्यावधि मै निर्वाचन भएको थियो तापनि एक पटक चौथो स्थानमा उभिएको दलले पार्टीको अधिवेशन गर्न सकेको छैन । संस्थापक सभापति अहिलेसम्म स्वघोषित सभापति हुन् र संगठनद्वारा अनुमोदित हुन सकेका छैनन् ।
तैपनि अस्ति भर्खरसम्म एकछत्र राज गरेका पुराना दल सबै मिलेर पनि बराबरीको हैसियतमा पुग्न रोक्ने तागत कसरी प्राप्त भयो होला रास्वपालाई विचारणीय विषय होइन र ? हो नि, यो हैसियतमा आउनुमा रास्वपा पार्टीभन्दा माथि एउटा मोर्चा, एउटा मञ्च बनाइयो र त्यसको योजनाकार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की, उनको मन्त्रिपरिषद, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहको समूह केही अन्तरिम सरकारमा र केही जसो बाहिर बसेर जेन्जीहरुलाई शहीद बन्नेसम्म संगठित गर्ने देखि रवि लामिछानेको पार्टी रास्वपामा गोलबन्द भएर पुराना दलहरुको विरुद्धमा लोकप्रिय मञ्च उभ्याउने काम भयो ।
त्यसैले लोकप्रिय मन्त्रीहरुलाई पठाएर बालेनलाई वरिष्ठको लोभमा फसाएर स्वदेशमा लोकप्रिय तत्व तयार गरियो तर कुलमान र महावीर पुन अटाउन सकेनन् । त्यसको सट्टामा अर्को पाटो विदेशमा बस्ने नेपालीहरु पूरक पात्रको भूमिका निभाइरहेका थिए । रविले स्वयं अपराध कबुलेर पाँच करोड बढी रकम अदालतमा धरौटी र बिगो बापत तिर्दा पनि निर्दोष भन्ने बुझ्दै थिए ।
विदेशमा बस्नेले एउटै रट लगाउँदै अन्तिमसम्म आँखा नै हेरी आफ्ना परिवारका सदस्यलाई आफ्नो निर्णय गर्न स्वतन्त्र हुनै दिएनन् र घण्टीमै मतदान गर्न दबाब दिइरहे । पुराना भनिएका दलहरु प्रति उनीहरुको गुनासो थियो, दलहरुले गर्दा हामी विदेशी हुन बाध्य भयौँ, रास्वपा अर्थात जेन्जी निर्मित सरकार र रवि–बालेन गठबन्धनले विदेश जाने बाध्यताको अन्त्य गर्छ । परिवारमा दबाब दिँदा जो वास्तवमै परिवारको भरणपोषण उनीहरु बाहेकको विकल्प थिएन त्यस्तो परिवारका सदस्यले अन्यत्र मतदान गरे खर्च पठाउन बन्द गर्ने सम्मको चेतावनी व्यहोरेको रहस्यमय परिस्थिति थियो ।
लोकप्रियता र रेमिटेन्सको तागत यति धेरै खतरनाक सिद्ध भयो कि विचारको राजनीति छायाँमा पर्यो । व्यक्तिको कुरा गर्ने हो भने रवि लामिछाने मात्र होइन बालेन पनि विवादरहित छैनन् । यस पालि रास्वपाबाट उम्मेदवार बनेका धेरै मानिस विवादित देखिन्छन् । कर्जा सूचनामा कालोसूचीमा परेका कतिपय व्यक्तिहरु छन् भने केही व्यक्ति सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका छन् भनिन्छ ।
विवादद्वारा विभूषित हुँदाहुँदै पनि यस्तो जीत निकाल्नु सामाजिक सञ्जालको प्रयोग आफ्नो अनुकूल प्रयोग गर्ने निपुणताले बनाएको लोकप्रियतावाले अन्यवादलाई छायाँमा पारेर हो । विचार नबदलेर भोट बदल्न सकिन्छ भन्ने सूत्रको प्रयोगले यस पटकको चुनावलाई प्रभावमा पार्यो भन्ने आधार पनि छन् । यसभन्दा विचार थाती राखेर भोट बदल्न नेतृत्व स्वयंले सिकाएको पनि हो । त्यसैले विचार मार्ने काम जसले सुरु गर्यो त्यहीबाट लोकप्रियतावाद प्रबल भयो ।
