दुर्गादेवी शिव मन्दिरमा रक्तदान

गोरक्ष समाचारदाता
दाङ, १ चैत । घोराही उपमहानगरपालिका–११ खैरास्थित दुर्गादेवी शिव मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रगत अभाव बढ्दै गइरहेका बेला बिरामीले उपचारका क्रममा थप जोखिम मोल्नु परेको अवस्थालाई मध्यनजर गर्दै मन्दिरले सामाजिक उत्तरदायित्व स्वरूप रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

दुर्गादेवी शिव मन्दिर र दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा समूहको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र घोराहीले प्राविधिक सहयोग प्रदान गरेको थियो । मन्दिर व्यवस्थापन समिति र दुर्गादेवी जुम्बा व्यायामशाला परिवारको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय समाज सेवी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जुम्बा व्यायामशालाका सदस्य तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दोर्ण केसीले जिल्लामा पछिल्लो समय रगत अभावको समस्या बढ्दै गएको कारण रक्त दान कार्यक्रम गरिएको बताए । रगतको अभावका कारण उपचाररत बिरामी जोखिममा पर्ने अवस्था सिर्जना भएकाले मानवीय सेवाको भावनाले प्रेरित भएर रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

‘रगत अभावका कारण धेरै बिरामीको ज्यान जोखिममा पर्नसक्छ । यस्तो अवस्थाबाट बिरामीलाई जोगाउन र समाजमा रक्तदानको महत्वबारे सचेतना फैलाउन यो कार्यक्रम गरिएको हो’, अध्यक्ष केसीले भने । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, स्थानीय समाजसेवी, जुम्बा व्यायामशालाका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिको सक्रीय सहभागिता रहेको थियो ।

कार्यक्रममा जम्मा ३९ जनाले रक्तदान गरेका आयोजकले जानकारी दिए । सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको दुर्गादेवी शिव मन्दिरले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ । स्थानीय स्तरमा आयोजना गरिएको यस रक्तदानले रगत अभावको समस्या केही हदसम्म समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।