कलश सहकारीको सचेतना कार्यक्रम

गोरक्ष समाचारदाता
दाङ, १ चैत । सहकारी संस्थामा जेन–जी पुस्ताको माग र उनीहरूलाई कसरी सहकारीमा आबद्ध गराउने भन्ने विषयमा घोराहीमा विद्यार्थीलाई सहकारी सचेतना प्रदान गरिएको छ । घोराही–१५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाको आयोजना र ज्योतिपुञ्ज आवासीय मावि घोराहीको सहकार्यमा विद्यार्थी सहकारी सचेतना कार्यक्रम भएको हो ।

जेन–जी पुस्ता, युवा विद्यार्थीलाई सहकारीमा आबद्ध गराई बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । सो अवसरमा संस्थाका सहकारी बजार प्रमुख कमल थपलियाले सहकारीको उद्देश्य, सहकारीका प्रकार, सहकारीका सिद्धान्त, सहकारीले गर्ने कामलगायतका विषयमा जानकारी गराएका थिए ।

नेपालको अर्थतन्त्र सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको र हाल सरकारी, निजी र सहकारीको समन्वयमा नेपालको अर्थतन्त्र सञ्चालन भइरहेको उनले जानकारी दिएका थिए ।

कार्यक्रममा संस्थाका व्यवस्थापक प्रकाश अधिकारीले कलशको स्थापना, बचतका तथा ऋणका प्रकारबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष माधव खनालले सहकारीमा युवा पुस्ताको सहभागिता वृद्धि गर्न सिर्जनशील योजना अन्तर्गत कार्यक्रम गरिएको जानकारी दिएका थिए ।

कलशले जेन–जी पुस्तालाई ध्यानमा राखेर विगतदेखि नै शैक्षिक प्रमाणपत्र धितो राखेर सरल कर्जा, युवा स्वरोजगार कार्यक्रममार्फत् स्वरोजगार बनाउने खालका योजनामा लगानी गर्दै आइरहेको भन्दै जेन–जी पुस्तालाई सहकारीमा थप सहभागिता वृद्धि गराउने सवालमा ध्यान दिइरहेको उनले बताए ।

सहकारी शिक्षा उपसमितिमा सदस्य खेमराज खनालले जेन–जी पुस्ताले खोजे जस्तै संस्थागत सुशासन, वित्तीय, सुशासन र आत्मनिर्भरताको आवश्यकतामा आधारित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने पर्यन्त गरिरहेको बताए । कार्यक्रमको सहजीकरण संस्थाको शिक्षा उपसमितिका सदस्य श्रीधर पन्तले गरेका थिए ।