आय आर्जनमा जोडिँदै यौनिक तथा अल्पसङ्ख्यक समुदाय
प्रिया स्मृती गजमेर
देउखुरी, ३० फागुन । फरक पहिचान भएका यौनिक तथा अल्पसङ्ख्यक समुदाय आर्थिक आयआर्जनसँग जोडिन थालेका छन् । समाजमा खुलेर आफ्नो पहिचान दिन अप्ठ्यारो मानिरहेका उनीहरू अहिले बिस्तारै समाजसँग घुलमिल हुन थालेका हुन् । स्थानीय सरकारसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको फरक पहिचान समाज नेपालले दशदिने सिपमूलक च्याउ उत्पादन तालिम प्रदान गरेको छ ।
फरक पहिचान समाज नेपालका सदस्य कृष्टिना सेन्चुरीले तालिमले आर्थिक आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुगेको बताइन् । आगामी दिनमा राज्यले यस्ता खालका सिपमूलक तालिमलाई निरन्तरता दिनु पर्ने बताइन् । तालिममा सहभागी गंगा अधिकारीले तालिमले आफूलाई उद्यम र सिपसँग जोड्न मद्दत गरेको बताइन् । तालिम केही अप्ठ्यारो भए पनि जीवनोपयोगी रहेको उनको बुझाइ छ । अर्का सहभागी भूमिसिंह नेपालीले कडा मेहनतपछि च्याउ उत्पादनको सिप सिक्दा अब आफू पनि आर्थिक आयआर्जनसँग जोडिन सक्ने आशा पलाएको बताइन् । फरक पहिचान भएका व्यक्तिहरूको सवालमा राज्य संवेदनशील नभएको उनीहरूको गुनासो छ ।
कार्यक्रममा बोल्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले फरक पहिचान समाज नेपालले समाजमा रहेको विभेदकारी सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । फरक पहिचान भएका व्यक्ति पनि समाजकै अभिन्न सदस्य भएको उल्लेख गर्दै उनले उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितता गर्न सबैले जिम्मेवारी लिनु पर्ने बताए । ‘फरक पहिचान भएका मानिस पनि हाम्रै दाजुभाइ, दिदीबहिनी हुन् । उनीहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ ।
सम्मानित भएर बाँच्न सक्ने वातावरण सिर्जना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो’, प्रमुख चौधरीले भने । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले तालिमले सहभागीको क्षमता अभिवृद्धि गर्दै समाज रूपान्तरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । फरक पहिचान भएका व्यक्तिले आफ्ना क्षमता र सिपलाई सदुपयोग गर्दै समाजमा उदाहरणीय काम गर्र्न डाँगीले सहभागी सबैलाई सुझाए ।
फरक पहिचान समाज नेपालको प्रयास प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि समाजलाई सही बाटोमा डो¥याउने काम निरन्तर दिन आग्रह गरे । कार्यक्रममा लमही नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी समीक्षा पोख्रेलले राज्यले प्रदान गरेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । वडा नं ६ की वडा सदस्य पार्वती राना मगरले सिपलाई व्यवहारमा लागु गरेर जीविकोपार्जनमा सहज हुने बताए । फरक पहिचान समाज नेपालका अध्यक्ष वर्षा ठकुरीको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । सदस्य तिला भुसालको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सलिना चौधरीले गरेकी थिइन् ।
