Goraksha

National Daily

प्रेरणाको विन्दु : जोकरको शिक्षा

तुफानबाबु श्रेष्ठ

एक पटक सर्कसमा दर्शकहरूको ठूलो भीड जम्मा भएको थियो । रंगीन बत्ती, संगीत र हाँसोको माहोलबिच एक जोकर मञ्चमा आयो । उसको चालढाल र अनुहारको हावभाव यति रोचक थियो कि दर्शकहरू तुरुन्तै उसतर्फ आकर्षित भए । केही क्षणमै उसले एउटा रमाइलो चुटकिला सुनायो । चुटकिलाको अन्त्य हुन नपाउँदै सर्कसको हल ठट्टा र हाँसोले भरियो ।

दर्शकहरूको प्रतिक्रिया देखेर जोकर मुस्कुरायो । केही बेरपछि उसले त्यही चुटकिला फेरि सुनायो । यस पटक भने हाँसो पहिले जस्तो जोरदार थिएन । केही मानिस हल्का मुस्कुराए, कतिपयले केवल एकअर्कातिर हेरे । समय बित्दै गयो । अचानक जोकरले फेरि उही कथा सुरु ग¥यो । तर, यसपालि दर्शकहरू चुपचाप बसिरहे । चुटकिला सकिनुअघि नै भीडबाट एकजना उठ्यो र अलिकति झर्किएको स्वरमा भन्यो– ‘एउटै कुरा कति पटक सुन्ने ? अब यसमा हाँसो आउँदैन, केही नयाँ सुनाऊ ।’

मञ्चमा उभिएको जोकर केही क्षण मौन रह्यो । उसको अनुहारमा हल्का मुस्कान थियो, तर आँखामा गम्भीरता देखिन्थ्यो । सर्कसको हल अचानक शान्त भयो । सबैजना उसको प्रतिक्रिया सुन्न उत्सुक भए । जोकरले बिस्तारै बोल्न सुरु ग¥यो– ‘मित्रहरू, तपाईंहरूको कुरा बिल्कुल ठीक हो । एउटै चुटकिला बारम्बार सुन्दा हाँसो हराउँछ । तर एउटा प्रश्न सोच्नुस्– जब एउटै कारणले बारम्बार हाँस्न सकिँदैन भने, किन मानिसहरू एउटै कारण सम्झेर पटक–पटक दुःखी भइरहन्छन् ?’उसका शब्दहरू सुन्नेबित्तिकै हलमा गहिरो मौनता छायो । केही क्षणअघि हाँसिरहेका अनुहारहरू अब सोचमा डुबेका देखिन्थे ।

जोकरले फेरि थप्यो– ‘जीवनमा सुख र दुःख दुवै क्षणिक हुन् । खुसीका पलहरू हामी चाँडै बिर्सन्छौँ, तर पीडाका स्मृतिहरू भने मनभित्र गहिरो गरी थामेर राख्छौँ । यही कारणले जीवन कहिले काहीँ अनावश्यक रूपमा भारी लाग्छ ।’ उसका साधारण शब्दहरूभित्र लुकेको गहिरो सन्देशले दर्शकहरूलाई स्पर्श ग¥यो । वास्तवमा, मानिसहरू प्रायः विगतका पीडा, गल्ती र असफलतालाई बोकेर हिँड्छन्, जसले वर्तमानको खुसी देख्नै दिँदैन ।

जीवन भने निरन्तर बग्ने नदीजस्तै हो । यसलाई रोकेर राख्न सकिँदैन, तर त्यससँगै अघि बढ्न सकिन्छ । जसले अतीतको भार छोडेर वर्तमानलाई अपनाउन सक्छ, उसले मात्र जीवनको वास्तविक आनन्द पाउँछ । त्यसैले साँचो बुद्धिमत्ता भनेको दुःखलाई पकडेर बस्नु होइन, त्यसलाई बिस्तारै छोड्दै अघि बढ्नु हो । किनकि प्रत्येक नयाँ दिनसँगै जीवनले फेरि हाँस्ने, आशा गर्ने र नयाँ सुरुवात गर्ने अवसर लिएर आउँछ ।