गोरक्ष समाचारदाता
दाङ, २८ फागुन । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा अब दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिन सकिने भएको छ । बुधवार दुवै संस्थाबिच सेवा विस्तारसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा श्याम लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारले निजामती कर्मचारी अस्पतालमा पाइने उपचार सुविधा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्राप्त गर्न सक्नेछन् । आश्रित परिवार अन्तर्गत बुबा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षभन्दा कम उमेरका दुई सन्तान गरी अधिकतम छ जनासम्मलाई उपचार सेवामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
अवकासप्राप्त निजामती कर्मचारीलाई सबै प्रकारका सेवामा ५० प्रतिशतसम्म छुट दिइनेछ तर यो सुविधा ओपिडी सेवा, एम्बुलेन्स तथा औषधीमा भने लागु नहुने बताइएको छ ।