लमही अस्पतालमा बढ्दै प्रसूतिका सेवाग्राही

प्रिया स्मृती गजमेर
देउखुरी, २८ फागुन । लमही अस्पतालबाट सात महिनाको अवधिमा करिब तीन सय जना महिलाले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म दुई सय ८८ जना महिलाले प्रसूति सेवा लिएका हुन् ।

गत वर्ष एक सय ८० जनाले अस्पतालबाट प्रसूति सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा प्रसूति सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको लमही अस्पताल प्रसूति सेवा विभागकी बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक ववि महत बताउँछिन् । उनका अनुसार अस्पतालले सेवा प्रभावकारी बनाएपछि देउखुरी क्षेत्रका स्थानीयलाई प्रसूति सेवा लिन सहज भएको छ ।

देउखुरी क्षेत्रका अन्य स्वास्थ्य संस्थाबाट समेत सुत्केरीसम्बन्धी जटिल केसहरू रिफर भएर लमही अस्पतालमा आउने गरेको नर्सिङ निरीक्षक महत बताउँछिन् । लमही अस्पतालमा सुत्केरी गराउन आउने महिलाका लागि सेवा सहज, छिटोछरितो र शून्य खर्चमा उपलब्ध हुने गरेको सेवाग्राही बताउँछन् ।

लमहीमै प्रसूति सेवा लिन पाउँदा राजपुर गाउँपालिका–५ निवासी नौसरी यादव खुसी व्यक्त गर्छिन् । देउखुरी क्षेत्रमा गुणस्तरीय प्रसूति सेवा नहुँदा घोराही वा नेपालगन्जसम्म जानु पर्ने स्थानीयलाई पछिल्लो समय हटेको उनी बताउँछिन् । बुहारीलाई प्रसूति सेवाका लागि लमही अस्पताल ल्याएको भन्दै उनले देउखुरीमै सेवा पाउँदा राम्रो भएको बताइन् ।

गढवा गाउँपालिका–३ निवासी सरिता पुनले पनि अस्पतालमा प्रसूति सेवा राम्रो भाएको बताइन् । ‘मेरो बहिनीलाई सुत्केरी व्यथा लागेपछि एम्बुलेन्स बोलाएर अस्पताल ल्याएको थिएँ, अस्पताल ल्याएपछि बच्चा जन्मियो । अहिले बहिनी र बच्चा दुवैको स्वास्थ्य ठिक छ’, उनले भनिन् । लमही अस्पतालमा एड्भान्स एसबिए (शल्यक्रिया विधिद्वारा सुत्केरी गराउने) तालिम प्राप्त एक जना महिला डाक्टर तथा अनुभवी नर्सको टोलीले प्रसुति सेवा दिँदै आएका छन् ।

डाक्टरको नियमित उपस्थिति हुने भएकाले सामान्यतया अन्यत्र अस्पताल जानु पर्ने अवस्था नआउने गरी सेवा सञ्चालन भइरहेको उनको भनाइ छ । यसैगरी एक जना एमडिजिपी डाक्टरमार्फत् पनि सेवा प्रवाह भइरहेको छ ।

सरकारी अस्पतालमा सुत्केरी हुन आउने महिलाका लागि नेपाल सरकारले विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सरकारमार्फत् नवजात तथा आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी महिलाले दुई हजार रुपैयाँ, गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गराउने महिलालाई उत्प्रेरणा स्वरूप आठ सय रुपैयाँ उपलब्ध गराइने व्यवस्था रहेको छ ।

लमही नगरपालिकाभित्र बसोबास भएका सुत्केरी हुन आउने महिलाका लागि २४ घण्टा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्थासमेत रहेको छ ।

जनशक्ति अभाव, व्यवस्थापनको प्रयास

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले लमही अस्पतालमा जनशक्तिको अभाव रहेको बताए । अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि उपलब्ध जनशक्ति सीमित हुँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनी बताउँछन् ।

‘अस्पतालमा सेवा लिन आउनेको सङ्ख्या बढ्दै गएको छ । एउटा पालिकाको सीमित स्रोत साधनले देउखुरीका चार वटा पालिकाका नागरिकलाई सेवा दिनु सामान्य कुरा होइन’, प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘सकेसम्म अस्पताल आउने बिरामीलाई रिफर नगर्ने गरी सेवा प्रवाह गर्ने प्रयासमा छौँ ।’