‘जलविन्दुले आखाको ज्योति गुम्न सक्छ’
सन्दर्भ विश्व ग्लुकोमा सप्ताह
बालाराम खड्का
तुलसीपुर, २८ फागुन । तुलसीपुर निवासी एक अधबैँसे नागरिकको आँखा एकाएक रातो भयो । आँखा रातो भएपछि घर नजिकै रहेको किल्नीकबाट औषधी लिए र दुई–चार दिन आँखामा राखे पनि सन्चो नभएपछि उनी राप्ती आँखा अस्पताल रक्षाचौर आए । अस्पतालमा आँखा जाँच गर्दा उनको दृष्टि क्षमता कम हुनका साथै आँखाको दृष्टि नसामा क्षति पुगेको चिकित्सकले बताए ।
उनी प्रतिनिधिमूलक पात्र मात्र हुन् । उनी जस्तै धेरैलाई जलविन्दु रोगबारे थाहा नहुन सक्छ । जलविन्दु अर्थात् (ग्लुकोमा) आँखामा लाग्ने रोग हो । जलविन्दु रोग आँखाको दृष्टि नसालाई दीर्घकालीन असर गर्ने समस्या हो । आँखामा बढ्ने प्रेसरले दृष्टिनसालाई असर गर्ने गरेको चिकित्सक बताउँछन् । त्यसले बिस्तारै दृष्टिनसा सुक्ने तथा दृष्टि क्षमता घटाउँदै लजाने समस्या हुने राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर सहायक प्राडा रन्जितकुमार साह बताउँछन् । ‘सुरुवाती समयमा लक्षणविनै असर गर्ने भएकोले ्यसलाई साइलेन्ट थेप्टअफ साइट पनि भनिन्छ’, प्राडा साहले भने, ‘आँखाको दृष्टि क्षमतालाई धेरै घटाइसकेपछि मात्रै बिरामीले रोगबारे थाहा पाउँछ ।’
दृष्टि क्षमतामा धेरै असर पुगे पुरानै अवस्थामा फर्काउन कठिन हुने उनको भनाइ छ । सहायक प्राडा साहका अनुसार बिरामीले सुरुवाती लक्षणबारे थाहा नपाए पनि दृष्टि धमिलो हुँदै जाने, बत्तीमा हेर्दा इन्द्रेणी रँग देखिने, मन्द गतिले आँखा र टाउको दुख्ने, कतिपय जलविन्दुमा वाकवाकी हुने र आकस्मिक रूपमा टाउको दुख्नेलगायतका समस्या देखा पर्छन् । नेपालमा अन्धोपन बढनुको कारण जलविन्दु पनि एक भएकाले पूर्वानुमान गरेर ढुक्क हुन नसकिने उनको भनाइ छ ।
सचेतनाका लागि हरेक वर्ष मार्च दोस्रो सातालाई जलविन्दु सप्ताहका रूपमा मनाइन्छ । सोही अन्तर्गत नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज, राप्ती आँखा अस्पतालले दाङमा आइतवारदेखि जलविन्दु सचेतना सप्ताह सुरु गरेको छ । ‘जलविन्दुको चर्चा अन्यको तुलनामा कमै हुन्छ तर भविष्यमा भयावह अवस्था आउन सक्ने रोगका रूपमा जलविन्दुलाई लिन्छन् ।
त्यसैले सचेतनाको पाटो आवश्यक छ’, आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा साहले भने । उनका अनुसार अस्पतालमा औसत दैनिक १२÷१५ जना बिरामी जलविन्दुको उपचारका लागि आउने गरेका छन् । सर्वेक्षणका अनुसार नेपालमा दुई दशमलव एक प्रतिशत मानिसलाई बढीलाई जलविन्दुको समस्या छ । विश्वको सन्दर्भमा करिब दुईदेखि आठ प्रतिशतलाई जलविन्दुको समस्या रहेको अध्ययनले देखाएको छ ।
‘बिरामीले समयमै अस्पतालमा नआउँदा जलविन्दु अन्तिम चरणमा पुगेको हुन्छ र त्यस्तो अवस्थामा उपचारको सम्भावना थोरै रन्छ’, डा साहले भने । रोगबाट बच्न रक्तचाप बढ्न नदिने, मधुमेह हुनबाट जोगिने, जलविन्दुको कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुसार उपचार सुरु गर्ने, आँखामा चोटपटक लागेका बिरामीले नियमित आँखा परीक्षण गराउने र कम्तीमा ६÷६ महिनामा एक पटक जोसुकैले आँखा परीक्षण गराउँदा राम्रो हुने डा. साहको भनाइ छ ।
‘जलविन्दुको समस्याबाट बच्न मुख्य कुरा जनचेतना आवश्यक छ, मानिसमा जनचेतना भयो भने उपचारमा आउँछन्, जलविन्दु लागेको भए त्यसलाई पूर्णरूपमा निको पार्न नसके पनि रोकथाम गर्न सकिन्छ’, डा साहले भने । आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालले जलविन्दुबारे सप्ताहव्यापी सचेतना कार्यक्रम गरिरहेका छन् । अस्पतालले सप्ताहव्यापी रूपमा सचेतना कार्यक्रमका लागि प्रचारप्रसार, ¥याली, ग्लोकुमासम्बन्धी अस्पतालमा स्टल राखेर सचेतना दिइरहेको छ । सोही अन्तर्गत बिहिबार तुलसीपुरमा सचेतना ¥याली गरिएको राप्ती आँखा अस्पतालले जनाएको छ ।
