गोरक्ष समाचारदाता
दाङ, २८ फागुन । घोराही बजार क्षेत्रमा सरसफाइ गरिएको छ । ‘सुरक्षित, सफा र सुन्दर दाङ, सभ्य नागरिकको पहिचान’ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा बुधवार बिहान सरसफाइ कार्यक्रम गरिएको हो ।
घोराही उपमहानगरपालिका, ज्वाला दल गण घोराही तथा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस घोराहीको समन्वयमा घोराही बजार क्षेत्रमा सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नागरिक स्वास्थ्यसँगै बजारको सुन्दरतालाई ध्यानमा राख्दै सरसफाइमा विशेष चासो दिन नगरवासीलाई आग्रह गरेका थिए ।
प्रत्येक घरधनीले आफ्नै घर अगाडि सरसफाइ गर्नु पर्ने र सार्वजनिक स्थानको संरक्षणमा सबैले ध्यान दिनु पर्ने भन्दै भने, ‘यसो गर्न सके बजार सफा र सुन्दर राख्न सकिने तथा बाहिर पनि सकारात्मक सन्देश जानेछ ।’ सरसफाइलाई घोराहीमा अभियानका रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।स्थानीय तहको सक्रियताले नागरिकमा सरसफाइप्रति जागरुकता बढाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सरसफाइ घोराहीमा अभियानकै रूपमा निरन्तरता दिन स्थानीय सरकारलाई आग्रह गरेका थिए ।
घोराहीको सहिदगेटबाट सुरु भएको कार्यक्रम तुलसीपुर चोक, न्यू रोड, बैंक रोड, सहिद लखन थापा पार्कलगायतका स्थानमा सरसफाइ गरिएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र घोराही, दाङ जिल्ला उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ घोराही सिटी, त्रिभुवननगर जेसीज, रोटरी क्लब अफ दाङ तथा द लोटस ट्रेनिङ सेन्टरको सहयोगमा भएको घोराही बजार सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।