नारायणप्रसाद श्रेष्ठ
प्रतिनिधिसभा २०८२ को निर्वाचन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । अब समानुपातिकतर्फ कसको वर्जस्व हुन्छ त्यो आउन बाँकी छ । निकै उतारचढाव तथा र शङ्काको घेराभित्र रहेर पनि जेन–जी आन्दोलन पछी गठन भएको सरकार नियम कानुन र आचार संहिताभित्र रहेर निर्वाचन स्वच्छ र पारदर्शी ढङ्गले सम्पन्न गर्न सफल भएको छ ।
कहीँ कतै पनि कुनै किसिमको अप्रिय घटना नभई शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न गर्न सुशीला कार्की सरकार सक्षम भएको छ । महिला प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सम्पन्न गर्न सक्नु हुन्न, यिनको निर्वाचन गराउने औकात छैन भन्ने भास्य निर्माण गरेका दलका नेता पनि अन्तत्वगत्वा निर्वाचनमा जान बाध्य भए । निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो ।
महिला प्रधानमन्त्री श्री सुशीला कार्कीको साहस हिम्मत र धैर्यतालार्ई सम्मान गर्नै पर्छ । हामी उहाँको दुरदर्शी चिन्तन, क्षमता शाहस र धैर्यताको उच्च सम्मान गर्छौ । अहिलेको निर्वाचन परिणामलार्ई हेर्दा ३५ वर्षसम्म एक क्षेत्र शासन गरेका नेता र नेतृत्वलार्ई जनताले निकै मिठो स्वाद चखाएका छन् । जीवनको हरेक पाइलामा सधै एउटै समय रहिरहन्छ भन्ने दम्भ र अहंकारलार्ई पराजय गराइ नयाँ नेतृत्वप्रति जनमत अगाडि आएको छ । मानिस हैन समय र विचार बलियो हुन्छ भन्ने चिन्तन अहिले हावी भएको अवस्था छ ।
भ्रष्टाचार र वेथितिले जनता कति पीडित रहेछन् भन्ने कुरा निर्वाचन परिणामले पुष्टि गरेको छ । तसर्थ यो सत्यलार्ई सबैले मनन गर्न जरुरी छ । राष्ट्र र राष्ट्रियताको संरक्षण र सम्वर्धन गर्दै नागरिक अधिकारलार्ई सम्मान गर्न र जनताका आधारभूत आवश्यकता पूरा गर्न प्रतिनिधि सक्षम छन् भने विश्वासका साथ अहिले आम जनमानसवाट नयाँ दललार्ई जिम्मेवारी सुम्पिएको अवस्था छ । हिजो निर्वाचनको सिलसिलामा जे जस्ता उतारचढाव भए पनि अहिले भर्खरै छानिएका प्रतिनिधिहरु राष्ट्रको साझा सम्पत्ति बनेका छन् ।
नवनिर्वाचित नेतृत्वलार्ई व्यवहार र कर्ममा परिस्कृत गर्दै राष्ट्रिय स्वाभिमान कायम गरेर भ्रष्टाचार मुक्त समाजको परिकल्पना गरी अघि बढ्न अहिले दबाब बढिरहेको छ । निकै आशा विश्वास र भरोसाका साथ प्रतिनिधि नै राष्ट्रको आधार हो, उनीहरुबाट नै राष्ट्रको समृद्ध हुन्छ भनी जनताले अभिमत दिएका छन् । चुनौती र अवसर दुवैलार्ई आत्मसाथ गर्दै अघि बढ्न प्रतिनिधिहरुलार्ई जिम्मेवारी सुम्पेका छन् ।
जनताको आधारभूत आवश्यकतासँगै भ्रष्टाचार मुक्त आदर्श समाजको परिकल्पना गरेर राष्ट्रिय अर्थतन्त्र मजवुत बनाउँदै समतामूलक लोकतान्त्रिक शासन सुदृढ गर्न अब प्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी आएको छ । हिजो चुनावको दौरानमा जे जस्ता तिता मिठा अनुभव भए पनि त्यस कुरालार्ई हटाई अब सबै हाम्रो, हामी सबैको यस्तो भावना विकसित गरी सपना बोकेर होइन यथार्थ धरातलमा आफ्नै माटो सुहाउँदो राष्ट्रिय सम्पत्तिको जर्गेना गरी अघि बढ्नु पर्ने समय आएको छ ।
विदेशमा श्रम र पसिना बेचेर होइन स्वदेशी माटोमा प्रकृतिको सुन्दर उपहार स्वरुप प्राप्त राष्ट्रिय सम्पत्तिको रक्षा गर्दै धर्तीमा सुन फलाउने नीति बनाउन अबको नेतृत्वलार्ई चुनौती र जिम्मेवारी थपिएको छ । निर्वाचनको दौरानमा प्रतिनिधिले जनतासामु गरेका प्रतिबद्धता र इमान्दारीपन अब कसरी कर्तव्य र व्यवहारमा लागु हुने हो त्यसको कठिन परिस्थितिको सामना नेता र नेतृत्वले कसरी गर्ने हुन् उनीहरुको परीक्षाको घडी सुरु भएको छ । तसर्थ हामी अनुरोध गर्छौँ, कोही कसैको बहकाउमा होइन तठस्थ र निडर रहेर इमान्दारपूर्वक जनताको सच्चा सेवक बन्न अब समयले घचघच्याउन सुरु गरिसकेको छ ।
परीक्षामा कमजोर मनस्थिति राखेर होइन दृढ र सङ्कल्पित भई आउने कुनै पनि चुनौतीलार्ई सहज समाधान गर्न लागि पर्न अबको नेतृत्वलार्ई समयले चुनौती दिइरहेको छ । हिजो जे जस्तो अवस्था देखिए पनि आजदेखि नयाँ युगको सुरु गर्नु पर्ने अवस्था छ । विगतमा नेताले जे जस्तो किसिमले जनतामा नैराश्यताको अवस्था सिर्जना गरे, त्यसको परिणाम स्वरुप नयाँ शक्ति उदाउने वातावरण बनेको छ ।
हिजो आफूलार्ई सती साल हुँ भनी हुंकार र अहंकार गर्ने तथा म नै सबै हँु भनी कहलिएका नेतृत्वले पनि लज्जास्पद हार स्वाकार्नु प¥यो । घमण्ड र अहंकारको कारण ३५ वर्षदेखि एक क्षेत्र शासन गरेका दल, व्यक्ति समेत पछारिन पुगेको अवस्था छ । यति मात्र होइन संविधान जारी भएको लामो समय पछि अहिले बहुमतको एकल सरकार गठन हुने अवस्था बनेको छ । यस्तो अवस्थामा नेता र नेतृत्वलाई कठिन परिस्थितिको सामना गर्नु पर्ने अवस्था पनि छ ।
अग्निपरीक्षाको यो घडीमा सयम, धीरताको निकै खाँचो छ । चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी हिजो जे–जस्ता तितामिठा अनुभव भए पनि त्यसलार्ई बिर्सिएर स्वार्थ र अहंवादी चिन्तन छोडी राष्ट्रिय स्वतन्त्रताको लागि धर्तीको एक मुट्ठी माटो समाइ भ्रष्टाचार मुक्त, सुशासनयुक्त समाज कायम गरी रोजगार र व्यवसायमूलक आधुनिक नेपाल बनाउन सबै लाग्नु पर्ने बेला आएको छ ।
वर्षामा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भने झै हिजो कै कार्यलाई अनुशरण गरी राष्ट्रिय ढुकुटीतर्फ आँखा लगाउने छुट अब कसैलाई छैन । पुरानो पिढीको इतिहास नदोहोरिने गरी अब नयाँ पिढीले नवनिर्वाचिततर्फ औंला देखाइरहेको यस अवस्थामा नेताले देशको माटो समाइ कसम खानु परेको छ । राष्ट्रलार्ई समृद्धितर्फ लैजाने नीति र व्यवहार अबको नेतृत्वप्रति जिम्मेवारी बढेको छ । जनता सोझा छन् । यिनलार्ई ललिपप खुवाएर लठ्याउन सकिन्छ भन्ने दिन अब सकिए ।
तसर्थ समय र परिस्थितिको सामना गर्दै सदनदेखि सडकसम्म जनताको आधारभूत आवश्यकतालाई हेरेर प्रतिनिधिले आफ्नो जिम्मेवारी निभाउनु परेको छ । निर्वाचन परिणामले अब पार्टीको नेता होइन जनताको नेता बनेर देखाउनु पर्ने अवस्था सिर्जना गरेको छ । हुनत अहिले सामाजिक सञ्जालमा राम्रा नराम्रा सबै कुरा लेखी लेखाइ नव निर्वाचित प्रतिनिधिलाई हतोत्साह गराउन खोजिएको पनि देखिन्छ । तर, पनि काग कराउँछ पिना सुक्छ भने झै कोही कसैको अफवाहमा नलागि प्रतिनिधिले प्रत्येक चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्नु पर्ने वेला आएको छ ।
तसर्थ अब हराउने र जिताउने भित्रको यो नाटकलार्ई यही बन्द गरी अब सच्चा देशभक्त र राष्ट्रिय स्वाभिमानयुक्त जननेता बन्नु परेको छ । अब प्रतिनिधिको परीक्षा सुरु भएको छ । अहिले दल केवल प्रवेश परीक्षामा मात्र पास भएका छन् । प्रतिनिधिहरुले यदि यसलार्ई आफ्नै माटो सुहाउँदो प्रकृतिको स्वच्छ हावाले सुशोभित स्वर्गसरी आफ्नो भूगोलको समृद्धितर्फ ध्यान दिन सकेनन् भने हाम्रो राष्ट्रिय स्वाभिमान कहाँ पुग्ने हो यो गम्भीर चिन्तनको विषय पनि जल्दोबल्दो बनेको छ ।
स्वतन्त्रपूर्वक परिवर्तनको लागि मत प्रयोग गरिएको वर्तमानको उर्लदो भेललार्ई केवल वर्षाको झरीसँग साट्न खोजिए वा जनमतले के भन्न खोजिरहेको छ त्यसतर्फ ध्यान नदिए तथा स्वार्थ र घमण्डको गन्ध कहीँ कतै पनि देखिने अवस्था रहे फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न । तसर्थ इमान्दारिता, नैतिक आचरण अबको राजनीतिले खोजेको यथार्थ सत्य हो भन्ने बुझी मन बचन र कर्मले नेता र नेतृत्वले पाइला चाल्नु परेको छ ।
विचारमा राष्ट्रियता, आचरणमा प्रेमभाव, कर्ममा जनभाव, अहिलेको आवश्यकता भएको छ । बानी र कर्ममा एकरुपता ल्याई आफूले दिएको वाचा र आश्वासन नेताको लागि चुनौतीको विषय बने पनि त्यसतर्फ गम्भीर रुपले चिन्तन गरी वाचा पूरा गर्नेतर्फ सबै एकजुट हुन परेको छ । अब नेताहरुलाई अलमल गरी पन्छिने समय छैन । नातावाद र कृपावादको चंगुलमा रहने प्रवृत्ति देखाउने छुट छैन ।
अहिले समन्यायको सिद्धान्तलार्ई अँगालेर सामाजिक न्यायको धरातलमा रही जनताको घरदैलोदेखि सिंहदरवारको ढोकासम्म एउटै उद्देश्य एउटै धारणा र एउटै चिन्तन लिएर प्रतिनिधिले आफूलार्ई प्रस्तुत गर्नु पर्ने समय आएको छ । क्षनिक लोभ र लालचमा फसी हिजो जसरी राष्ट्रियता र सार्वभौमिक राष्ट्रिय स्वतन्त्रतालार्ई प्रश्न चिन्ह खडा गरिएको थियो । त्यो अवस्था आउने वातावरण नदिन अहिले प्रतिनिधिहरु निकै चनाखो हुनु पर्ने अवस्था छ ।
त्यसैले निर्वाचनको परिणाम र जनताले दिन खोजेको भावनालार्ई बुझेर अगाडिको वाटो निर्माण गर्न अब हामी नेतृत्वलार्ई आग्रह गर्छौँ । नेतृत्वमा सद्बुद्धि र सकारात्मक चिन्तन जागृत होस् । परीक्षामा सहज उत्तीर्ण हुने वातावरण बनोस् । यही शुभकामना राख्दछौँ । चेतना भया ।