गोरक्ष समाचारदाता
दाङ, २७ फागुन । रोटरी क्लब अफ दाङद्वारा आयोजित रोटरी हाजिरीजवाफ प्रतियोगितामा गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएको छ । स्वर्गीय विष्णुप्रसाद शर्मा घिमिरेको स्मृतिमा मङ्गलवार घोराहीमा आयोजित मावि स्तरीय रोटरी क्विज कन्टेस्ट २०२६ को विजेता गोर्खा स्कुल भएको हो ।
प्रतियोगितामा माउन्ट भ्यू बोर्डिङ स्कुल द्वितीय भएको छ भने मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल तृतीय भएको छ । यसैगरी प्रतियोगितामा ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल र ज्ञानमाला एकेडेमीले सान्त्वना भएका थिए । घोराही उपमहानगरपालिकाभित्र रहेका मावि तहका १६ ओटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम विजेता समूहलाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी प्रतियोगिताका द्वितीयलाई सात हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीयलाई पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई नगद एक एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले विद्यार्थीको बौद्धिक क्षमता विकासमा यस्ता खालका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले प्रतिस्पर्धामा हारजित प्राविधिक पाटो भएकाले सिकाइ नै महत्वपूर्ण रहेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले आगामी वर्षदेखि आफूहरूले पनि विद्यार्थी केन्द्रित पृथक कार्यक्रम गर्ने उल्लेख गर्दै प्रतियोगी विद्यार्थीलाई सहभागिताका लागि आह्वन गरे । प्रियासनले सामुदायिक तथा संस्थागत विद्यालयसँग सहकार्य गरेर विद्यार्थीलाई सिप विकाससँगै उत्पादन र आयआर्जनमा प्रत्यक्ष सहभागिता हुने बताए ।
कार्यक्रममा बोल्दै प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले विद्यार्थीको क्षमता प्रदर्शनका लागि प्याब्सनले विभिन्न कार्यक्रम गरिरहेको स्मरण गराउँँदै रोटरी क्लब अफ दाङलगायतका संघसंस्थाले पनि विद्यार्थी केन्द्रित प्रतियोगिता सञ्चालन गरेकोमा प्रशंसा गरे । रोटरी क्लब अफ दाङका अध्यक्ष रोशन दाहालको अध्यक्षतामा भएको प्रतियोगितामा क्लबका सदस्य पदम केसीले स्वागत गरेका थिए भने सहजीकरण उपाध्यक्ष बुद्धिप्रकाश शर्माले गरेका थिए ।