Goraksha

National Daily

स्थिर सरकारलाई स्वागत गर्ने अवसर

प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । यसपटकको निर्वाचनको परिणामले नेपाली राजनीतिमा एउटा नयाँ र आशालाग्दो तरङ्ग ल्याएको छ ।

धेरै समयपछि मुलुकको संसद्ले एउटा दलको स्पष्ट र पूर्ण बहुमतसहितको उपस्थिति पाएको छ । विगतका वर्षहरूमा मिलीजुली सरकारका अस्थिरता, खिचातानी र राजनीतिक अस्वस्थता भोग्न विवश नेपाली जनताका लागि यो परिणाम एउटा महत्वपूर्ण उपलब्धि हो । यस जनादेशले वर्तमान संविधानले परिकल्पना गरे अनुसार पाँच वर्षसम्म टिक्ने स्थिर सरकार गठनको सुनिश्चितता गरेको छ । जुन मुलुकको विकास र समृद्धिका लागि प्राथमिक शर्त मानिएको छ ।

बहुमत प्राप्त हुनु आफैँमा सुखद् पक्ष भए पनि इतिहास साक्षी छ, नेपालमा बहुमतको भारी बोक्न र व्यवस्थापन गर्न नेतृत्व सधैँ चुकेको छ । विगतमा पनि पटक पटक स्पष्ट बहुमत आउँदा पनि आन्तरिक कलहका कारण संसद्ले पूर्ण कार्यकाल काम गर्न नपाएका दृष्टान्तहरू ताजा नै छन् । तसर्थ अब बन्ने सरकारका अगाडि प्राप्त बहुमतको सही र रचनात्मक व्यवस्थापन गर्नु सबैभन्दा पहिलो र मुख्य चुनौती हो ।

सरकार पाँच वर्ष नटिक्ने परिस्थिति तब मात्र सिर्जना हुन्छ, जब सत्तासीन दलभित्र अस्वस्थ शक्ति सङ्घर्ष सुरु हुन्छ, दक्षिणपन्थी वा उग्रपन्थी शक्तिहरू सल्बलाउन थाल्छन् वा शासकहरूमा सत्ताको दम्भ पलाउन थाल्छ । नयाँ नेतृत्वले यी तीनै सम्भावित खतराबारे सचेत रहँदै संयम्तापूर्वक अघि बढ्नुपर्छ । सत्ताको मादमा जनभावना विपरीतका कार्य भएमा त्यो दुर्भाग्यपूर्ण हुनेछ । यस पटकको संसद्को बनोट अघिल्ला ससंद्हरू भन्दा भिन्न र विविध छ ।

संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमतसहितको उपस्थिति रहेको छ । यस परिवेशमा बहुमत प्राप्त दलका लागि अन्य दलहरूसँग सहमति, सहकार्य र हार्दिकतासहितको सम्बन्ध स्थापित गरी अगाडि बढ्ने संस्कार र कौशलता प्रदर्शन गर्नु पनि एउटा ठुलो चुनौती हो । नयाँ राजनीतिक शक्तिहरूका मुद्दा र उनीहरूलाई प्राप्त जनमतलाई सम्मान गर्दै राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाउन सक्नु नै नयाँ नेतृत्वको परिपक्वता मानिनेछ ।

जनादेशले संविधान संशोधन जस्तो गम्भीर विषयका लागि आवश्यक पर्ने दुईतिहाइ सङ्ख्या पु¥याउन समस्या नहुने सङ्केत गरेको छ तर सङ्ख्या पुग्छ भन्दैमा सहमतिको प्रयत्न गरिएन, प्रतिपक्षीलाई पेलेरै लैजाने रणनीति लिइयो र लोकतन्त्रका आधारभूत मान्यतामा खेलाँची गरियो भने त्यसले अर्को संवैधानिक वा राजनीतिक सङ्कट निम्त्याउन सक्छ । बहुमतको अर्थ निरङ्कुशता होइन, बरु थप जिम्मेवारीपन हो भन्ने कुरा नेतृत्वले भुल्नु हुँदैन ।

तसर्थ, अब बन्ने नयाँ सरकारले प्रतिशोध, दम्भ र उन्मादको कुनै सङ्केत नदेखाई पूर्ण हार्दिकताका साथ सत्ता सञ्चालन गर्नुपर्छ । विगतका गल्तीहरूबाट पाठ सिक्दै, जनताले स्पष्ट रूपमा अनुभूत गर्ने गरी सुशासन र विकासका कार्यहरू अघि बढाउने जिम्मा अब आउने नेतृत्वको काँधमा छ । यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजाने दायित्व निर्वाह गर्ने जिम्मासहित आउँदै गरेको सरकारलाई हार्दिक स्वागत अनि सफल कार्यकालको शुभकामना ।