किशोरीलाई मानसिक स्वास्थ्य सचेतना

गोरक्ष समाचारदाता
दाङ, २५ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घोराहीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘सबै महिला र बालिकाको अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने मूल नाराका साथ मनाइएको महिला दिवसको अवसरमा किशोरीहरूलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङको आयोजनामा भएको सचेतना कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक स्वास्थ्य समस्या हुनुका कारण, लक्षण, व्यवस्थापनका उपायलगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा बरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकालले प्रशिक्षण दिएकी थिइन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापका अध्यक्ष बिमला योगीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले पछिल्लो समयमा मानसिक स्वास्थ्य समस्या समुदायमा बढ्दो मात्रामा देखिएकाले यसको न्यूनीकरणका लागि सरकारी तथा सामाजिक संघसंस्थाहरूको सहकार्यमा अभियानकै रूपमा अगाडि बढ्नु पर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी किशोरीले कार्यक्रम आफूहरूका लागि उपयोगी भएको बताएका थिए । कार्यक्रमको सहजीकरण मनोविर्शकर्ता निर्मला चौधरीले गरेकी थिइन् ।