लकडाउमै निकालिए शिक्षक

गोरक्ष समाचारदाता
दाङ, १ जेठ । मुलुक कोरोनाको संक्रमणले व्याकुल भैरहेको छ । संक्रमणबाट जोगाउन लकडाउन घोषणा गरिएको छ । उद्योग, कलकारखाना, सार्वजनिक यातायात, खेलकुद गतिविधिहरु तथा सामुदायिक तथा निजि विद्यालयहरुका संपूर्ण शैक्षिक गतिविधिहरुसंगै परीक्षा लिइएका विद्यार्थिहरुको परीक्षाफल समेत प्रकाशनमा स्थानीय सरकारहरुले रोक लगाएका छन् । तर यस्तो अवस्थामा घोराही उपमहानगरपालिकाको एउटा सामुदायिक विद्यालयले भने सुटुक्क शिक्षकलाई निस्काशन गरेको छ ।
लकडाउनमा सवै पेशा कर्मीहरुलाई दिइदै आएको सुविधामा कटौती गर्ने नहुने विषयलाई सवै तहले अंगिकार गरीरहेको अवस्थामा दाङको गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सेवामुक्त गरिएको हो । कोरोनाको संक्रमणसंग जुध्न विश्व एक भैरहेको अवस्थामा एउटा सामुदायिक विद्यालयले लकडाउनकै समयमा शिक्षक निस्कारशन गर्नुलाइ लज्जासपद भएको शिक्षा क्षेत्रका अगुवाहरुले बताएका छन् । विद्यालयमा निजी श्रोतमा कार्यरत स्वास्थ्य विषयका शिक्षक बविता रेग्मी, आधारभुत तहका शिक्षकहरु पुष्पा चौधरी र होमा ढकाल, पत्रकारीता विषयका शिक्षक सन्तोष सुवेदी लाई बैशाख १ गते निकासित गरेकोे पिडित शिक्षकहरुले बताएका छन् । अवकाशपत्रउनीहरु २०६७ साल देखि कार्यरत उनीहरुलाई विना कारण निकासित गरिएको शिक्षकहरुले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिले भने लकडाउन अघिनै चार जना शिक्षक दरवन्दीमा आएकाले निजि श्रोतका शिक्षकहरुलाई हटाइएको बताएको छ । ‘विद्यार्थीहरुको शुःल्कबाट उहाहरुलाई पारिश्रमिक दिने गरिएको थियो, अव स्थानीय सरकारको निर्देशन वमोजिम विद्यार्थीबाट शुःल्क नलिन भनेपछि उहांहरुलाई तलव खुवाउने अवस्था रहेन’—विव्यस अध्यक्ष शरद डिसीले गोरक्षलाई बताए । लकडाउनकै समयमा किन निकालिएको भन्ने प्रश्नमा अध्यक्ष डिसीले सरकारले लकडाउनकै समयमा शिक्षक दरवन्दी कायम गरी विद्यालयमा पठाएकाले करारमा रहेका आंशिक शिक्षकहरुलाई हटाइएको बताए ।