श्रीमान सम्पादकज्यू,
बिहानै दाङमा २५ जना पत्रकारको कोरोना परीक्षण गरिएको समाचार रेडियोबाट सुनेको केही घण्टामै राजधानीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको समाचारले मलाई पनि झसङ्ग बनायो । कतै म आफै पनि असुरक्षित त छैन ?
किनकि म पनि यस्तै क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी हुँ । काम गर्ने संस्थामा दिनहुँजसो यस्तै केही बिरामीहरुसँग त केही गर्भवती महिला र केही नवजात शिशुहरुसँग पनि हुन्छ । दिनभरीको थकान घरमा आएर ढुक्कसँग मेटाउने अवस्था समेत रहँदैन । म अझै अनलाइनको त्यो समाचारमा डुब्दै जाँदा टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको उल्लेख थियो ।
न्यूरो वार्डमा रहेका पाँचजना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको खबरले मलाइ थप सशंकित पनि बनायो । उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिको निर्णय समाचारमा पढिरहँदा मलाई पनि केही आशा पलाएको छ । किनकि हामीलाई हेर्ने पनि सरकार छ । यहाँको स्थानीय सरकारले यस्ता घटना हुन नपाउँदै हाम्रो पनि स्वाव परीक्षण गर्नेछ ।
सम्पादकज्यू,
अझै स्पष्ट पार्न चाहन्छु । म आफै सुरक्षित हुनुभन्दा पनि सयौं बालबालिकालाई सुरक्षित राख्नु पनि हाम्रो दायित्व हो । बालबालिकालाई खोप सेवा दिइरहँदा म संक्रमित भएको रैछु भने संक्रमण बालबालिकालाई पनि सर्न सक्छ भन्ने मैले एउटा कोरोना स्वास्थ्य बुलेटिनमा पढेकी थिएँ । फ्लु र इन्फ्लुन्जामा पनि सर्ने सम्भावना हुन्थ्यो भने कोरोनामा पनि अवश्य हुन्छ होला ।
एउटा नर्सिंङ स्टाफ कति जोखिममा हुन्छिन् भन्ने नेपालमै पनि केही नर्सलाई कोरोनाको संक्रमण देखिन थालेको मैले समाचारमा पढिरहेकी छुँ । विहानभरी छोराछोरीको स्याहार–सुसार, खाना खुवाउने, लुगा लगाइदिनेलगायतका धन्दा सकेसँगै स्वास्थ्य संस्थामा नियमित ड्युटी । कहिले कुइरेपानीको हेल्थडेस्कमा हुन्छु, कहिले घोराहीको स्वास्थ्य संस्थामा हुन्छु त कहिले बेलझुण्डीको कोरोना हस्पिटलमा पनि सरकारले पठाएपछि जानुपर्छ । आलोपालो ड्युटी गरिरहँदा म आफू कति जोखिममा छु, भन्ने मैलेभन्दा बढी अरुले बुझेका हुन्छन् ।
सातामा दुई दिन बालबालिकालाई खोप लगाउँदा भीडभाडमै काम गर्ने हो । शारीरिक दूरी कायम गर्न सकेजति मेहनत गरे पनि पूरै सम्भव हुने रहेनछ । गर्भवतीलाई पनि खोप लगाउनुपर्दछ । नियमित परामर्श पनि दिनुपर्दछ । बिरामी महिलाको सम्पर्कमा पनि आउनुपर्दछ । हो, मेरो पेशाजस्तै अन्य दिदीबहिनीहरु पनि नर्सिङ पेशामा छन् । कसैको ओपिडीमा ड्युटि होला, कसैको इमर्जेन्सीमा त कसैको विभिन्न वार्डमा । अहिले कोरोनाको संक्रमण जुनसुकै वार्डमा छ ।
स्वास्थ्य संस्थाको सबै काम सकेपछि जाने घरमै हो । घरमा पुगेपछि बच्चालाई हातमा लिन समेत ढुक्क हुने अवस्था छैन । हो, मलाई कोरोनाको लक्षणमा भनिएजस्तै उच्च ज्वरो आएको छैन । श्वास फेर्न गाह्रो पनि भएको छैन । तर स्वयं स्वास्थ्यकर्मी भएको नाताले अहिले कोरोनाका संक्रमितहरुमा यी कुनै पनि लक्षण नदेखिएको अवस्था रहेको जानकारी मलाईसमेत छ । मलाई थाहा छ, कोरोना परीक्षणले म संक्रमणबाट जोगिने होइन तर म आजसम्म संक्रमित रहेनछु र मैले आजसम्म सुई लगाइदिएका गर्भवती महिला र बालवालिकाहरुमा मबाट संक्रमण फैलिएको छैन भन्नेमा ढुक्क त हुन्थ्यो ।
पत्रकारहरुको कोरोना परीक्षण गरिएको भन्नेमा मलाई गुनासो कत्ति पनि होइन । उहाँहरु पनि हामी जस्तै बिभिन्न मानिसको सम्पर्कमा आउने गर्नुहुन्छ । सूचना संकलन गर्न उहाँहरु अझ धेरै ठाउँ डुल्नुहुन्छ । कोरोना बिरुद्धको लडाइँको अग्रमोर्चामा उहाँहरु पनि हामीजस्तै सक्रिय हुनुहुन्छ । उहाँहरुको समाचारले हामीलाई समेत बचेर काम गर्न सजिलो भएको छ भने लकडाउनमा घरमै बस्नेहरुका लागि समय कटाउन र अपडेट योगदान दिइरहेकोछ । अब उहाँहरु जस्तै फ्रन्टलाइनमा बस्ने स्वास्थ्यकर्मीहरुको पनि परीक्षण गर्ने कि ? सम्माननीय प्रधानमन्त्रीज्यूले स्वास्थ्यकर्मीको नेतृत्वमा यो कोरोनासँगको लडाइँ लड्ने हो भनेर आफ्नो सम्बोधनमा भन्नुपनि भएको थियो । त्यसकारण यो लडाइँका योद्धाहरुको सुरक्षाको सुनिश्चितता गर्ने उनीहरुको आत्मबल बढाउने जिम्मा राज्यको हो भन्ने लाग्दछ ।
स्वास्थ्यकर्मीको परीक्षण गर्ने भनेको उनीहरुको व्यक्तिगत फाइदा मात्रै हैन जस्तो लाग्छ । हाम्रा परिवारका सदस्य र हामीसँग सेवा लिन आउने सबैको स्वास्थ्य चिन्तासँग पनि जोडिएको बिषय हो यो जस्तो लागेर नै सम्पादकलाई पत्र लेख्ने जमर्को गरेकी हुँ । मेरो आफ्नो मात्रै कुरा भए त केही गरेर परीक्षण गरी ढुक्क हुन पनि सक्थें होला । तर, मेरो मात्रै भन्दा सबैको स्वास्थ्यको चिन्ता भएकाले सार्वजनिक रुपमा यो कुरा राख्न मन लागेर पत्र लेखेकी हुँ ।
सम्पादकज्यू,
त्यसकारण हामी स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण सम्भव छ भने जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्थानीय सरकारलाई पनि तपाईको सञ्चारमाध्यममार्फत यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । सिधै कार्यालयमा गएर पनि यो कुरा भन्न त सकिन्थ्यो होला, तर पत्रिकामार्फत ध्यानाकर्षण गराउँदा चाडो सुनुवाई हुने र सबै स्वास्थ्यकर्मीलाई सम्बोधन हुने विश्वासले यो पत्र पठाएकी छु । मेरो पहिलो पत्र हो, कार्यालयको कुरा बाहिर लगेको भन्ने पनि पर्न सक्छ । त्यसैले मेरो नाम उल्लेख नगरिदिनुहोला । धन्यवाद ।
दाङ जिल्लामा कार्यरत एक स्वास्थ्यकर्मी