Goraksha

National Daily

निर्वाचन सुरक्षाबारे दाङका प्रमुख जिल्ला अधिकारी :‘निर्धक्कसँग मतदानमा सहभागी हुनुहोस्’

गोरक्ष समाचारदाता
दाङ, १५ फागुन । निर्वाचनका लागि जिल्लास्तरमा गठन गरिएको जिल्ला एकीकृत सुरक्षा संयन्त्रले अब मतदानको दिनको सुरक्षा व्यवस्थाका लागि केन्द्रित गरेको छ । केन्द्र र प्रदेशस्तर हुँदै जिल्ला तहसम्म एकीकृत सुरक्षाको व्यवस्था गर्ने निर्वाचन आयोगको अवधारणा अनुसार जिल्लामा सुरक्षा सक्रियता बढाइएको हो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै सुरु भएको एकीकृत सुरक्षा व्यवस्थालाई थप सक्रिय बनाउँदै लगिएको छ । निर्वाचन अधिकृतको कार्यालयको स्थापनादेखि प्रारम्भ भएको चुनाव लक्षित सुरक्षा व्यवस्था उम्मेदवारको मनोनयको दिन हुँदै यहाँसम्म मजबुत ढङ्गले आएको र अब मतदानको दिनका लागि ध्यान केन्द्रित भएको सुरक्षा अधिकारीले बताएका छन् ।
‘अब मतदानको दिन मतदान स्थलको सुरक्षा, पतपेटिकालाई मतगणना स्थलसम्म सुरक्षित रूपमा ल्याउने सन्दर्भको सुरक्षा, मत गणना स्थालको सुरक्षा र मतपरिणाम सार्वजनिक भएपछिको विजय जुलुसको सुरक्षाको प्रबन्ध मिलाउन एकीकृत सुरक्षा संयन्त्रले काम गर्दैछ’, दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याले भने ।
निर्वाचन प्रयोजनका लागि जिल्लामा पाँच हजार पाँच सय ११ जना सुरक्षाकर्मी खटिएका छन् । ‘निर्वाचनको संवेदनशीलतालाई हेरेर नेपाली सेनाको सहयोगमा सबै सुरक्षा निकायको सहभागिता रहने गरी ‘बम डिस्पोजल टिम’ पनि तयारी अवस्थामा राखिएको छ’, अर्यालले भने, ‘यसैगरी बख्तरबन्द गाडीसमेतको व्यवस्था गरिएको छ ।’ मतदान स्थललाई गोपनीयताका दृष्टिले व्यवस्थित गरिएको र तीन तहको सुरक्षा घेराभित्र मतदान स्थललाई राखिएको हुँदा निर्धक्कसँग मतदान गर्न उनले आह्वान गरेका छन् ।
सुरक्षाका दृष्टिले मतदान स्थलहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेर सुरक्षा तथा अन्य ढङ्गले व्यवस्थापन गर्ने गरिन्छ । दाङमा एक सय ५९ मतदान स्थलमध्ये १६ वटालाई अतिसंवेदनशील भनिएको छ । यसैगरी एक सय ३४ लाई संवेदनशील र नौ वटालाई सामान्य भनिएको छ । ‘अतिसंवेदनशील भनेर छुट्याइएको आधारमै मतदाताहरू तर्सनु पर्दैन, त्यहाँ जनशक्ति र सुरक्षा फौज बढाउनका लागि यसरी छुट्याइएको मात्र हो’, प्रमखु जिल्ला अधिकारी अर्यालको भनाइ छ, ‘दाङमा मतदाताले ढुक्कसँग मतदान गर्ने अवस्था छ ।’
भौगोलिक रूपमा टाढा रहेका, सडक यातायात सहज नभएका, जङ्गलको बाटो भएर पुग्नु पर्ने, मतदान स्थल साँघुरो भएका, धेरै मतदाता सङ्ख्या रहेका र विगतका निर्वाचनमा केही अप्रिय घटनाहरू भएका मतदान स्थललाई अतिसंवेदनशील भनेर छुट्याइएको छ ।
तीन तहमा सुरक्षा व्यवस्था गरिएका जानकारी पनि प्रमुख जिल्ला अधिकारीले दिएका छन् । ‘मतपेटिका र मतदान स्थलको सुरक्षामा हतियारसहित नेपाल प्रहरी रहन्छ’, उनले भने, ‘त्यस बाहिर सशस्त्र प्रहरी र नेपाली सेनाहरू तैनाथ हुन्छन् ।’ मतदान केन्द्रभित्र कुनै अप्रिय घटना भए र नेपाल प्रहरीलाई थप मद्दत आवश्यक भए तत्कालै बाँकी घेरामा रहेका सशस्त्र र सेनाको समूह मतदान स्थलभित्र प्रवेश गरेर अवस्थालाई नियन्त्रणमा लिनेछ ।
‘यसो गर्दा पहिले सशस्त्र अनि नेपाली सेनाको टोली आउँछ भन्ने बुझाइ छ तर त्यो होइन’, प्रजिअ अर्यालले भने, ‘जो चाँडो पुग्न सक्छ त्यही टोली पुगिहाल्छ, त्यहाँ औपचारिकता भन्दा सुरक्षा नै प्राथमिकतामा हुन्छ ।’ त्यसरी सुरक्षा घेरामा रहेका टोलीले अप्रिय अवस्थालाई नियन्त्रणमा लिने सन्दर्भमा आफूभन्दा माथिको तहसँग समन्वय गर्ने तर आदेश पर्खन भने नपर्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।
मतदान अधिकृतहरू मतदान केन्द्रमा पुग्दै गर्दा मतपेटिका र अन्य आवश्यक सामग्री आफूसँगै लिएर जानेछन् तर मतपेटिकालाई गणनास्थलसम्म पु¥याउने दायित्व भने जिल्ला प्रशासन कार्यालयले लिएको छ ।
‘हामीले मतपेटिका मतगणना स्थलसम्म ल्याउन सुरक्षा र ढुवानीको प्रबन्ध आफैँ गरेका छौँ’, शुक्रवार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रजिअ अर्यालले भने, ‘त्यसका लागि हामीले भाडामा जिप, बस, मिनी बस गरेर ९८ वटा गाडीको व्यवस्था गरेका छौँ र सुरक्षाका लागि खटिएको मोबाइल टोलीको स्कर्टिङमा ती मतपेटिकालाई गणना स्थलसम्म ल्याउने छौँ ।’ यसरी मतपेटिका सोही दिन बेलुका ९ः०० बजेसम्म मतदान केन्द्रमा पु¥याइने गरी व्यवस्था मिलाइएको छ ।
जतिसके चाँडो मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गर्ने उद्देश्यले सबै प्रकारका व्यवस्था मिलाउने क्रममा निर्वाचनमा भाग लिएका दलबिच सहमतिका लागि सहजीकरण गरेर सम्भव भएसम्म २१ गते रातिबाटै मतगणना गर्ने प्रयासमा आफूहरू रहने जानकारी प्रजिअ अर्यालले दिए । ‘निर्वाचन आयोगले यो पटक प्रत्यक्ष र समानुपातिक मतहरू सँगसँगै गणना गर्ने प्रावधान राखेको छ । त्यसै अनुसार हामीले पनि दलहरूसँगको समन्वय र आफ्नो जनशक्तिको व्यवस्थापन गर्ने प्रत्यक्षको मतगणनासँगै समानुपातिकतर्फको मतपत्रको गणना गर्ने तयारी गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
यो पालिको मौन अवधि अलि चुनौतीपूर्ण हुनेतर्फ पनि प्रशासनको ध्यान गएको देखिएको छ । ‘मौन अवधिमा होली पर्व पर्छ, होलीको वहानामा उम्मेदवारले भिडभाड गर्ने र प्रचारप्रसारसमेत गर्ने सम्भावनातर्फ हाम्रो ध्यान गएको छ’, प्रजिअ अर्यालले भने, ‘कहीँकतै यसरी निर्वाचन आचारसंहिता उलङ्घन हुनथालेको पाइएमा प्रशासनलाई सूचना दिएर सहयोग गर्न सबैमा आग्रह गर्दछु ।’ दाङमा निर्वाचनका सन्दर्भमा पत्रकारिताका क्षेत्रबाट महत्वपूर्ण साथ पाएको र यस्तो साथ निर्वाचनको अवधिभर रहने अपेक्षा पनि उनले गरेका छन् ।
मतपरिणाम डिजिटल प्रणालीबाट सार्वजनिक गर्ने तयारी
निर्वाचनका क्रममा रिपोर्टिङ कार्यलाई सहजतासँगै लुम्बिनी प्रदेशभरकै नतिजा डिजिटल सञ्चारका माध्यमबाट दिने गरी व्यवस्था गर्न थालिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी दाङले शुक्रवार घोराहीमा सञ्चारकर्मीसँग आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक छलफल कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
निर्वाचनका क्रममा सुरक्षा संवेदनशीलतासँगै नागरिकको गोप्य मतदान गर्ने अधिकारलाई सुरक्षित गर्दै सहज ढङ्गले रिपोर्टिङ गर्ने व्यस्था मिलाइने बताइएको थियो । कार्यक्रममा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको मतगणनाको जानकारी डिजिटल सञ्चारमाध्यमको प्रयोग गर्दै दिने तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिएका छन् । त्यसका लागि दाङसहित प्रदेशका १२ वटै जिल्लाको जतिसक्यो चाँडै मतपरिणाम दिने गरी तयारी भइरहेको बताएका थिए ।
कार्यक्रममा निर्वाचनका क्रममा मिलाइएको सुरक्षा व्यवस्थाबारे प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र फागुन २१ गते हुने निर्वाचनको तयारीबारे लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख लालसिंह खड्का र सूचना अधिकारी कवँरले जानकारी गराएका थिए । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष प्रताप रेग्मीलगायतले निर्वाचनका क्रममा सहज रिपोर्टिङको व्यवस्थासँगै गोप्य मतदानको सुनिश्चिता हुने गरी मतदान स्थलको व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कवँरले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष प्रताप रेग्मीलगायतले निर्वाचनका क्रममा सहज रिपोर्टिङको व्यवस्थासँगै गोप्य मतदानको सुनिश्चिता हुने गरी मतदान स्थलको व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।
मदिरा बिक्रीवितरण र सेवनमा रोक
यसैबिच प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न दाङमा मदिरा जन्य वस्तुको बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ । सहयाक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सूचना जारी गरेर यस्तो जानकारी दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय दाङले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म जिल्लाभित्र सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन गर्न निषेध गरिएको जनाएको छ ।
प्रशासनका अनुसार निर्वाचन अवधिमा शान्ति, सुरक्षा कायम राख्न र कुनै पनि अप्रिय घटना हुन नदिन उक्त निर्णय गरिएको बताइएको छ । सूचनाको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।