Goraksha

National Daily

भूगोल र भावनालाई जोडेर पश्चिम दाङको समृद्धि : उम्मेदवार सुवेदी [अन्तर्वार्ता]

प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ५ दिन मात्रै बाँकी रहेको छ । जेन–जी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने राष्ट्रपतिको आदेश बमोजिम निर्वाचनको तयारी सौहार्दपूर्ण रुपमा भइरहेको छ । मुलुक निर्वाचनमय बनेको छ । उम्मेदवारहरु चुनावीसभा र घरदैलो अभियानलाई तिव्र पारिरहेका छन् ।

पुराना राजनीतिक दलसँगै यो चुनावमा नयाँ राजनीतिक दल समेत निर्वाचन आयोगमा दर्ता भएर चुनावी अभियानमा छन् । नियमित निर्वाचनभन्दा फरक परिवेशमा हुन थालेको यो निर्वाचन यस अघिका निर्वाचनभन्दा भिन्न र रोचक पनि छ । विश्व समुदायले पनि यो निर्वाचनलाई उत्साहपूर्वक नियालिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर गोरक्षकर्मीले दाङ निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।

— तपाईंको परिचय र राजनीतिक पृष्ठभूमिकाबारे संक्षिप्तमा बताइदिनुस् न ?

म दाङको दंगीशरण–४, मौलीमा जन्मिएको मानिस । यसै माटोको छोरा हुँ । मेरो शैक्षिक यात्रामा मैले शिक्षा शास्त्रमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर हासिल गरेको छु । साथै, सन् २०१८ मा क्यानाडाको सेन्टफ्रन्सिस जेभियस विश्वविद्यालयबाट नेतृत्व विकास विषयमा डिप्लोमा अध्ययन सम्पन्न गरेको छु । विगत १५ वर्षभन्दा बढी समयदेखि म मिडिया, युवा नेतृत्व विकास, सुशासन र सुशासनका क्षेत्रमा सक्रिय छु ।

मैले ‘गुड गभर्नेन्स प्रोटेक्सन फोरम’ र ‘नेशनल फेडरेशन अफ युथ नेपाल’ को संस्थापक अध्यक्षको रूपमा युवा सशक्तिकरण र भ्रष्टाचार विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । ‘ग्लोबल ह्युम्यानिटेरियन एड क्यानाडा’ लगायतका अन्तर्राष्ट्रिय संस्थामा बोर्ड डाइरेक्टरको रूपमा काम गर्दा प्राप्त गरेको अनुभव नै मेरो राजनीतिको बलियो जग हो ।

साथै म प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट दोस्रो पटक उम्मेदवार बनेको छु । प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि मैले यहिबाट चुनाव लडेर १५ हजार तीन सय २४ मत प्राप्त गरें । जुनवेला यो निर्वाचन क्षेत्रमा हाम्रो कुनै पनि सङ्गठन नै थिएन भन्दा पनि हुन्छ । अर्थात् त्यो बेलाको प्राप्त मतलाई मैले गर्वको महसुस गरेको छ । त्यो बेलाको मत फालिएको मत हो तर अहिले मतदाताले मलाई जिताउनका लागिी मत दिँदै हुनुहुन्छ ।

— यो नियमित नभएर विशेष परिस्थितिमा हुन थालेको निर्वाचन हो। यो प्रतिनिधिसभा निर्वाचनलार्ई यहाँले कसरी लिनुभएको छ ?

हो, यो नियमित नभएर विशेष परीस्थीतिको आवधिक निर्वाचन हो । आम नेपालीका आर्थिक समृद्धि र सुशासनसँग जोडिएको यो निर्वाचनलार्ई मैले केवल राजनीतिक प्रक्रियाको रूपमा मात्र नभई दाङको मुहार फेर्ने एउटा ठोस मार्गचित्र कार्यान्वयन गर्ने ऐतिहासिक अवसरको रूपमा लिएको छु ।

मुलुकले परिवर्तन खोजिरहेको छ । दाङ जिल्ला पनि यसमा अलग रहन सक्दैन । मेरो लागि यो निर्वाचन क्षेत्र नं. ३ का ३६ वटै वडाका नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूको सुझावका आधारमा तयार पारिएको सङ्कल्पलार्ई पूरा गर्ने एउटा माध्यम पनि हो ।

संसदमा मेरो मुख्य भूमिका कानुन निर्माणमा हुने भए तापनि यहाँका आधारभूत जनसरोकारका समस्या समाधानमा पहल गर्नुलार्ई मैले आफ्नो परम कर्तव्य ठानेको छु । यसैले पनि अरू निर्वाचनभन्दा यो फरक प्रकृतिको निर्वाचन हो, जसले मुलुकलाई नयाँ दिसामा अघि बढाउन जनादेश दिने छ भन्ने मलाई विश्वास छ ।

— तपाईं र तपाईको पार्टीले चुनाव जित्ने आधार के–के छन् ?

अहिले मुलुकले नयाँ आयाम खोजिरहेको छ । जेन–जी आन्दोलन पनि त्यसकै लागि थियो । युवा सकारात्मक रूपमा विकास र समृद्धिसँग जोडिन नितान्त आवश्यक छ । युवाको उर्जा राष्ट्र निर्माणमा हुनुपर्दछ भन्ने हाम्रो मुलभूत सिद्धान्त पनि हो । परिवर्तन मेरो जितका मुख्य आधार उल्लेख गर्न चाहन्छु ।

वौद्धिक र स्वच्छ छवि, भ्रष्टाचार विरुद्धको अभियानमा मेरो संलग्नता र सुशासन प्रतिको मेरो प्रतिबद्धतालार्ई जनताले रुचाउनुभएको छ । म प्रति यस क्षेत्रका जनताको पूर्ण विश्वास र भरोसा पनि छ । अन्तर्राष्ट्रिय र स्थानीय अनुभवको संगमः अमेरिका, युरोप, क्यानाडा र जापान लगायतका देशको अनुभवलार्ई स्थानीय विकासमा ढाल्न सक्ने मेरो क्षमता छ भन्ने मतदातालाई पनि बुझाइरहेको छु ।

धेरैले बुझिसक्नु भएको पनि छ । त्यसैले मैले यही कै स्थानीय जनताको सुझावमा आधारित वाचापत्र पनि मतदाता सामु सार्वजनिक गरेको छु । क्षेत्र नं. ३ का ३६ वटै वडाका नागरिकको प्रत्यक्ष संवाद र सुझावका आधारमा तयार गरिएको व्यावहारिक योजना मेरो वाचा पत्रमा उल्लेख छन् ।

युवा नेतृत्वको भरोसा देशको सुशासन र विकासका लागि समर्पित एक अग्रणी युवा नेताको रूपमा युवाको ठूलो समर्थन पनि मेरो बाचा पत्रमा उल्लेख भएको पनि यहा समक्ष जानकारी गराउन चाहन्छु ।

— तपाईका निर्वाचन क्षेत्रगत चुनावी वाचा के–के छन् ? विस्तृतमा बताइदिनुस न ?

मैले मेरो ‘वाचापत्र’ मार्फत् मुख्यतया दुई क्षेत्रलार्ई प्राथमिकतामा राखेको छु । पहिलो कृषि र किसानको सुरक्षा हो । पश्चिम दाङको प्यासी जमिन सिँच्न टोल–टोलमा सामूहिक डिप बोरिङको व्यवस्थाका लागि बजेट सुनिश्चित गर्ने गरी मैले संसदमा आवाज बुलन्द गर्ने छु र विषयगत विभाग र मन्त्रालयमा पहल गर्ने छु ।

कृषि पेसालार्ई सम्मानित बनाउन ‘योगदानमा आधारित किसान पेन्सन’ र उत्पादनमा आधारित ‘निःशुल्क कृषि बीमा’ लागू गर्ने पनि मेरो वाचापत्रमा छ । खेतीको सिजन सुरु हुनुअघि नै मल र उन्नत बीउको सुलभ उपलब्धता सुनिश्चित गर्ने तथा युवा, उद्यमशीलता र डिजिटल नेपालको अभियान पनि मेरो वाचा हो ।

युवाका नवीन सोचलार्ई व्यवसायमा बदल्न ‘युवा आइडिया बैंक’ स्थापना गरी सहुलियतपूर्ण कर्जा र अनुदानको व्यवस्था गर्ने । स्थानीय जनशक्ति र रोजगारीका अवसरलार्ई जोड्न एकीकृत ‘डिजिटल जब पोर्टल’ निर्माण गर्ने । अनलाईन गेमिङ (इ स्पोर्टस्) लार्ई नियमन र व्यवस्थित गर्न आवश्यक कानुन निर्माणमा नेतृत्व लिने लगायतका वाचा मैले मतदाता माझ राखेको छु ।

— यदि तपाई निर्वाचित हुनुभयो भने यो निर्वाचन क्षेत्रलार्ई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

मेरो परिकल्पनाको दाङ क्षेत्र नं. ३ एउटा सुशासित, समृद्ध र प्रविधिमैत्री क्षेत्र हुनेछ । मेरो नेतृत्वमा कृषि आधुनिक र सम्मानित पेसा बन्नेछ, जहाँ किसानले पेन्सन र बीमाको सुरक्षा पाउनेछन् । युवाले आफ्नै ठाउँमा डिजिटल प्लेटफर्म र स्टार्टअपका माध्यमबाट रोजगारी पाउनेछन् र वैदेशिक रोजगारीको बाध्यता कम हुनेछ । सार्वजनिक नीति विज्ञको रूपमा मेरो ज्ञानलार्ई उपयोग गर्दै गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र समावेशी विकासको नमूना यस क्षेत्रलार्ई बनाउनेछु । यो क्षेत्र भूगोल र भावना दुवै हिसाबले जोडिएको र विकासका हरेक सूचकाङ्मा अगाडि रहेको हुनेछ ।