Goraksha

National Daily

प्रेरणाको विन्दु : चामलको एक दाना

तुफानबाबु श्रेष्ठ

शोभित एक अत्यन्त मेधावी विद्यार्थी थियो । उसले हाईस्कूल र इन्टरमिडियट दुवै परीक्षामा जिल्ला टप गरेको थियो । तर यति ठूलो सफलताका बाबजुद पनि उ्सका आमा–बाबु कहिल्यै खुसी देखिँदैनथे । कारण थियो– उसको पढाइमा आएको घमण्ड, ठूलासानासँगको असभ्य व्यवहार र आफूभन्दा ठूला व्यक्तिसँग पनि सम्मानपूर्वक नबोल्ने बानी ।

शोभित प्रायः मानिसहरूसँग चर्को स्वरमा बोल्थ्यो । अनावश्यक रूपमा कसैको मजाक उडाउँथ्यो । समय बित्दै गयो, उसले स्नातक पनि पूरा गर्यो तर व्यवहारिक अपूर्णताले उसको सफलतालाई छायामा पारिरह्यो । स्नातकपछि उसले जागिर खोज्न थालेर धेरै प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गर्यो । तर इन्टरभ्युमै बारम्बार असफल भइरहन्थ्यो । उसलाइ यकिन थियो कि मेरो अंक उत्कृष्ट छन्, जागिर त सजिलै पाइन्छ ।’ तर वास्तविकता बिल्कुलै विपरीत थियो ।

इन्टरभ्यू गर्नेहरूका लागि उसको अंक महत्त्वपूर्ण भए पनि उ्सको बोली, बानी र व्यवहारले सबै प्रभाव बिगारिदिन्थ्यो । त्यही कारणले ऊ बारम्बार असफल हुन थाल्यो । तर समस्या कहाँ थियो ? शोभित आफैंले अझै बुझिरहेको थिएन । एक दिन बाटोमा उसको भेट आफ्नै विद्यालयको एक प्रिय शिक्षकसँग भयो । शिक्षकले शोभितको कुरा धैर्यपूर्वक सुने र भने– ‘समाधान भोलि दिन्छु, बिहान घरमा आउनु ।’

भोलिपल्ट शोभित शिक्षकको घर पुग्यो । त्यसबेला शिक्षक घरमै चामल पकाउँदै थिए । कुराकानीको बीचमा शिक्षकले भने– ‘जाऊ, चामल पाके–नपाकेको एकपटक हेरेर आऊ ।’ शोभित भान्सातिर गयो र केही समयपछि भित्रबाटै भन्यो– ‘सर, चामल पाकिसक्यो ! म ग्यास बन्द गरिदिन्छु ।’

शिक्षकले ‘हुन्छ’ भन्दै अनुमति दिए ।
दुवै आमनेसामने बसेपछि शिक्षक मुस्कुराए र सोधे– ‘शोभित, चामल पाकेको कसरी थाहा पायौ ?’

शोभितले ढुक्क भएर भन्यो– ‘सर, यो त सहज हो । मैले एउटा चामलको दाना उठाएँ, त्यो पाकिसकेको थियो । एक दाना पाकेपछि सबै चामल पाकेका मानिन्छन् ।’
शिक्षक गम्भीर भए र भने– ‘यही नै त तिम्रो असफलताको मुख्य कारण हो ।’

शोभित अचम्मित भएर शिक्षकतिर हेर्न लाग्यो । शिक्षकले बिस्तारै भन्दै गए– ‘चामलको एउटा दानाले सम्पूर्ण भाँडोभरिको सबै भातको स्थिति बताइदिन्छ । मानिस पनि यस्तै हो । मानिस धेरै गुणले बनेको हुन्छ– पढाइ, व्यवहार, नम्रता, सम्मान, सकारात्मक सोच, संयम, अनुशासन…यीमध्ये एउटा गुण मात्र उत्कृष्ट भयो भनेर मानिस पूर्ण हुँदैन । तिमीले ‘पढाइ‘ भन्ने दाना त राम्रोसँग पकायौ, तर व्यवहार, बोली, बानी, सम्मान– यी दानाहरू काचै छोड्यौ । इन्टरभ्यूमा मान्छेले तिमीलाई चाख्छ ।

केही ठाउँमा तिमी पाकेको देखिन्छौ भने केही ठाउँमा काचै देखिन्छौ । पुरा नपाकेको चामल कसैलाई रुच्दैनन् त्यस्तै अधूरा गुण भएका उमेदवार पनि कसैलाई मन पर्दैनन् ।’

त्यस क्षणमा शोभितको मनभित्र एउटा ठूलो परिवर्तन आयो । पहिलोपटक उसले आफ्नै गल्तीलाई स्पष्ट रूपमा देख्यो । शिक्षकको घरबाट निस्कँदा ऊ आत्मसुधारको नयाँ ऊर्जा लिएर बाहिरियो । यो प्रसँगले स्पष्ट सन्देश दिन्छ– हामी सबैमा केही न केही कमजोरी हुन्छ, जुन हामीलाई आफैंले नदेखे पनि अरूले तुरुन्तै महसुस गर्छन् । त्यसैले हाम्रो भित्र रहेका सबै गुणका ‘दाना‘ राम्ररी पकाउन आवश्यक हुन्छ ।

केवल पढाइ वा सीप मात्र पर्याप्त हुँदैन, व्यवहार, विनम्रता, आदर र सकारात्मकता नै मानिसको वास्तविक पहिचान हुन् । जीवनमा साँचो सफलता तब मात्र सम्भव हुन्छ जब हाम्रो प्रत्येक ‘दाना‘ अर्थात हाम्रो प्रत्येक गुण सन्तुलित र परिपक्व हुन्छ । आखिर हामी जेसुकै रूपमा प्रस्तुत भए पनि, मानिसले हामीलाई ‘एक दाना‘ चाख्नेबित्तिकै हाम्रो सम्पूर्ण भित्र–बाहिरको स्तर, गुण र परिपक्वता सजिलै बुझिहाल्छ ।