गोरक्ष समाचारदाता
दाङ, १६ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले सुशासन र विकासलाई प्राथमिकतामा राख्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार आचार्यले शुक्रवार घोराहीमा ‘सुशासन, सामाजिक न्याय र समृद्ध दाङ हाम्रो अभियान’ भन्ने मूल नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनपेक्षा अनुसार परिणाम नआएको उल्लेख गर्दै उम्मेदवार आचार्यले विकासलाई नारामा मात्र नभएर व्यवहार र परिणाममा देखिने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने, सार्वजनिक सेवालाई फेसलेस, पेपरलेस र क्यासलेस बनाउने, सबै सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, इ–फाइल प्रणाली लागु गर्ने र बिचौलियामुक्त प्रशासन सुनिश्चितता गर्ने बताए ।
स्थानीय तहमा गुनासो सुनुवाइ एकाइ स्थापना, मेरिटोक्रेसीका आधारमा नियुक्ति, सूचना प्रविधिमैत्री सेवा प्रवाह र टोल विकास संस्थामार्फत् योजनामा जनसहभागिता सुनिश्चितता गरिने उल्लेख गरिएको छ ।
पूर्वाधार विकासतर्फ दाङ उपत्यका विकास प्राधिकरण गठन, चारलेन सडक विस्तार, ग्रामीण सडक कालोपत्रे, वैकल्पिक औद्योगिक मार्ग निर्माण, विमानस्थल व्यवस्थापन, हाइड्याम तथा जलाशय निर्माण कार्यक्रम अघि बढाइने, शिक्षातर्फ कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय र प्रविधियुक्त शिक्षा सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न पहल गर्ने बताए ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बहुविशेषज्ञ सेवासहितको उत्कृष्ट चिकित्सा शिक्षाको केन्द्र बनाउने, घोराही इन्जिनियरिङ कलेज सञ्चालन गर्ने, वन तथा कृषि क्याम्पस स्थापना गर्ने, आयुर्वेदिक अध्ययन संस्थालाई विश्वविद्यालयमा रूपान्तरण गर्ने, ब्रह्मकुमारी विश्वविद्यालयलाई योग ध्यान केन्द्रका रूपमा विकास गर्ने योजना प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवासहित अस्पताल स्तरोन्नति, सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार, गर्भवती तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स, बङ्गलाचुली अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्ने, कृषि क्षेत्रमा सिँचाइ विस्तार, मल, बिउको सुनिश्चितता, कृषि प्राविधिकको व्यवस्था, व्याज अनुदानमा ऋण, ‘एक वडा, एक नमुना उत्पादन’, घुम्ती शीतभण्डारण, मह प्रशोधन केन्द्र स्थापना र दाङको मह ब्रान्डिङ, पशुपालन र माछापालनमा विद्युत महसुल छुट, कृषि एम्बुलेन्स सञ्चालन, न्यूनतम समर्थन मूल्य निर्धारण, बबई नदी तटबन्ध तथा हरित करिडोर निर्माण गरिने उल्लेख गरेका छन् ।
उद्योग तथा रोजगारीतर्फ घोराहीमा आइसिटी हब स्थापना, कोइलाबास नाका प्रभावकारी सञ्चालन, युवा उद्यमका लागि सहुलियत ऋण, ‘एक सहर, एक अटो भिलेज’ अवधारणा कार्यान्वयन गर्ने, युवा तथा खेलकुद क्षेत्रमा बहुउद्देश्यीय रंगशाला निर्माण, प्रत्येक वडामा खेल मैदान, ‘एक विद्यालय, एक खेल शिक्षक’ व्यवस्था, सामाजिक न्यायतर्फ स्वर्गद्वारी गुठीको मोही समस्या समाधान, भूमिहीनलाई लालपुर्जा, लघुवित्त पीडितको ऋण पुनर्संरचना, महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, धारापानी–गोरक्षनाथ–अम्बिकेश्वरी–स्वर्गद्वारी–छिल्लीकोट धार्मिक पर्यटन सर्किट विकास, ऐतिहासिक क्षेत्र अध्ययन, उत्खनन्, सरियु नदी मुहान संरक्षण र क्रान्ति सङ्ग्रहालय निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ ।