गोरक्ष समाचारदाता
दाङ, १६ फागुन । साहित्यकार एवम् लोक संस्कृतिविद् डा गोविन्द आचार्यद्वारा लिखित ‘भूस्वर्गको टाकुराबाट’ निबन्धसङ्ग्रहको परिचर्चा कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।
प्रेरणाका लागि अभियानको आयोजनामा भएको परिचर्चा कार्यक्रममा समक्षक डा. शिवकुमार सुवेदी, डा.टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँ र पद्मप्रसाद शर्माले निबन्धका विभिन्न पक्षबारे चर्चा गरेका हुन् ।
समाजमा रहेका विभिन्न विकृति र विसङ्गतिको उठान, त्यसमाथिको व्यङ्ग्य र त्यसबाट समाज सुधारको अपेक्षा निबन्धसङ्ग्रहमा उल्लेख गरिएको समीक्षकले बताए । जीवन भोगाइका क्रममा अनुभव गरेका विभिन्न कुरालाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गरिएको निबन्धसङ्ग्रहमा १७ निबन्ध सङ्ग्रहित रहेका छन् ।
बहुआयामिक व्यक्तित्वका धनी लेखक डा गोविन्द आचार्यले बजारमा ल्याएको २७ औँ कीर्ति निबन्धसङ्ग्रह उत्कृष्ट कीर्ति रहेको र आगामी दिनमा साहित्यिक यात्राको शुभकामना व्यक्त गरे । कार्यक्रममा अन्य सहभागीले आचार्यको निबन्धले पाठकलाई नयाँ स्वाद दिएको र राप्ती क्षेत्रको निबन्ध लेखनको यात्रालाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधरकुमार लम्सालको अध्यक्षता तथा संस्कृतिविद् डा. शिवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेखक डा गोविन्द आचार्यले साहित्यिक यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
निबन्धसङ्ग्रह भूस्वर्गको टाकुराबाटको परिचर्चा कार्यक्रममा सहभागीलाई संस्थाका सचिव गिरिराज भण्डारीले स्वागत गरेका थिए सहजीकरण डा.लोकराज पराजुलीले गरेका थिए ।