महिनावारी र बालविवाहसम्बन्धी प्रशिक्षण

गोरक्ष समाचारदाता
दाङ, १५ फागुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रवार महिनावारी र बालविवाहसम्बन्धी प्रशिक्षण दिइएको छ ।

किशोरी क्लबका अध्यक्ष करिना जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलले प्रशिक्षण दिएकी हुन् । पौडेलले महिनावारीका समयमा सरसफाइसम्बन्धी ख्याल गर्नु पर्ने कुरा, किशोरावस्थामा हुने समस्या र स्वास्थ्य शिक्षासम्बन्धी प्रशिक्षण दिएकी हुन् ।

यसैगरी बालविवाह र यसका असरसम्बन्धी प्रशिक्षण दिँदै उनले किशोरकिशोरीले बालविवाहबाट बच्न सचेत हुनु पर्ने विषयमा अभिमुखीकरण गरेकी थिइन् । बाल क्लबका कोषाध्यक्ष शिखा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण किशोरी क्लबकी सचिव शान्ति नेपालीले गरेकी थिइन् । विद्यालयले हरेक शुक्रवार विभिन्न विषयमा चेतनामूलक र सिर्जनशील कार्यक्रम गर्दै आएको छ ।