दाङ,१५ फागुन । नेपाल विद्यार्थी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कुलराज पोख्रेल चयन भएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पोख्रेललाई लुम्बिनी प्रदेशको जिम्मेवारी प्रदान गरेका हुन्।
यो जिम्मेवारी प्राप्त गरेसंगै पोख्रेल नेविसंघ लुम्बिनी प्रदेशको संस्थापक अध्यक्ष बनेका छन् । नेविसंघ लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पाएका पोख्रेल यसअघि करिब तीन वर्ष नेबिसंघ दाङको नेतृत्व सम्हाल्दै आएका थिए। पोख्रेलले नेविसंघ दाङको कार्यबाहक अध्यक्षको जिम्मेवारी गुरुप्रसाद गौतमलाई दिइसकेका छन् ।
संगठन निर्माण र विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पोख्रेललाई केन्द्रिय अध्यक्ष शेर्पाले शुक्रबार प्रदेशको जिम्मेवारी प्रदान गरेका हुन् । आसन्न निर्वाचनको सम्मुखमा नेविसंघ लुम्बिनी प्रदेशको अध्यक्ष चयन भएका पोख्रेलले नेपाली काङ्ग्रेसको जीत सुनिश्चित गर्ने थप अभिभारा आफ्नो काधमा आएको बताए ।
उनले प्रदेशका १२ जिल्लाकै नेविसंघ जिल्ला नेतृत्वसंग समन्वय गरेर परिणाममुखी नतिजा आउने गरि पहलकदमी लिने बताए । यससँगै प्रदेशका विद्यार्थीको हकअधिकारका पक्षमा थालिने अभियानमा आफ्नो सकृयता रहने समेत उनले बताए ।