तुलसीपुरमा अनुसन्धानात्मक राष्ट्रिय सम्मेलन हुने

गोरक्ष समाचारदाता
दाङ, १४ फागुन । तुलसीपुरमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ । दाङको शैक्षिकस्तरलाई अनुसन्धानमुखी बनाउन राप्ती बबई क्याम्पस तुलसीपुरले आगामी चैत ६ र ७ गते दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्ने भएको हो । सम्मेलनबारे जानकारी दिँदै राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा ठुलो उपलब्धि हुन नसकिरहेको अवस्थामा क्याम्पसले दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागेको बताए ।

सम्मेलनमा काठमाडौं, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताको सहभागिता रहने भएका छन् । अनुसन्धानमूलक सम्मेलनले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ । क्याम्पसका उपप्राध्यापक तथा सम्मेलनका सहसंयोजक सूर्यप्रसाद शर्माले एमफिल र पिएचडी गर्न चाहने तथा अध्ययन बाहेक अनुसन्धानात्मक लेख लेख्ने व्यक्तिका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार शिक्षा प्रणालीमा नवप्रवर्तन, वर्तमान शैक्षिक विधिहरूमा नयाँपन र सुधारका लागि क्याम्पसले प्रथम अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा एक सय बढी सहभागी हुनेछन् । शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अङ्ग्रेजी भाषालगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेका विद्यार्थी सहभागी हुन पाउनेछन् । दाङलाई शैक्षिक हब बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ । सम्मेलनमा बाह्य जिल्लाबाट आउने सहभागीका लागि आवाससहितको सुविधासमेत रहेको छ । क्याम्पसले आगामी दिनमा नयाँ विषयहरू बिआइटी, बिआइसिटी जस्ता विषय अध्यापन गराउने तयारी गरिरहेको अवस्थामा अनुसन्धानमूलक गोष्ठीले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख पार्धेले बताए ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले तुलसीपुरमा गरिन लागेको अनुसन्धानमूलक सम्मेलन शिक्षा क्षेत्रमा नयाँ अभ्यास भएको बताए । उनले अहिले पनि शिक्षामा भौतिक पूर्वाधारको विकास मात्रै लिने गरिएको तर यस्ता कार्यक्रम कम हुने गरेको उनले बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीले तुलसीपुर क्षेत्रमा एमफिल र पिएचडी गर्ने भनेर सोच गरिरहेकाका लागि अनुसन्धानात्मक क्षेत्र सहज होस् भनेर यस किसिमको सम्मेलन गरिन लागेको उनको भनाइ छ । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीले अनुसन्धान गरेर केही सिक्न चाहनेका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सम्मेलनलाई सफल बनाउन निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा देवराज अधिकारीले गर्ने भएका छन् । सम्मेलनका संयोजक डा. प्रेम योगीको विषय प्रवेशबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण कर्मचारी भीमार्जुन रेग्मीले गरेका थिए । पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख तथा प्रचारप्रसार उपसमिति संयोजक आनन्दा खत्रीले धन्यवाद ज्ञापन गरेकी थिइन् । आयोजकका अनुसार अहिलेसम्म सम्मेलनको तयारी करिब ७० प्रतिशत पूरा भएको क्याम्पसले जानकारी दिएको छ ।