दाङमा ११ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
अमरराज आचार्य
दाङ, १४ फागुन । प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएका दाङका ६० जना उम्मेदवारमध्ये ११ जनाले मात्र बैंकको नयाँ खाता खोलेका छन् । हालसम्म बाँकी ४९ जना उम्मेदवारले बैंक खाता नखोलेको जिल्ला आचारसंहिता अनुगमन अधिकृत मोहनकुमार जैसवालले जानकारी दिएका छन् । उनका अनुसार निर्वाचनका क्रमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन आयोगको निर्णय अनुसार उम्मेदवारले नयाँ बैंक खाता खोल्नु पर्ने प्रावधान भए पनि जिल्लामा अधिकांश उम्मेदवारले बैंक खाता खोल्न ढिलाइ गरेका छन् । खाता खोल्नका लागि सिफारिस ३१ जनाले लगेको भए पनि ११ जनाले मात्र हालसम्म बैंक खाता खोलेको उनको भनाइ छ ।
प्रमुख राजनीतिक दलका उम्मेदवारले समेत बैंक खाता खोल्न आनाकानी गरेको पाइएको छ । निर्वाचन आयोगले पटक पटक उम्मेदवारलाई छुट्टै खाता खोल्न निर्देशन दिँदै आएको छ तर यसको प्रभावकारी रूपमा कार्यान्वन हुन सकेको छैन । आर्थिक पारदर्शिता बनाउन आयोगले उम्मेदवारको छुट्टै खाता खोलेर त्यसैमार्फत् आर्थिक कारोबार गर्न आग्रह गरेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नु पर्ने व्यवस्था छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न अनिवार्य नयाँ बैंक खाता खोल्नु पर्ने व्यवस्था गरिएको छ । जिल्लामा उम्मेदवारलाई बैंक खाता खोल्न आग्रह गरिएको भए पनि अधिकांश उम्मेदवारले खाता खोल्न ढिलाइ गरेको अनुगमन अधिकृत जैसवालले बताए । नयाँ बैंक खाता नखोल्ने उम्मेदवारबारे निर्वाचन आयोगमा जानकारी गराइने उनले बताए ।
दाङ क्षेत्र नं. १ मा १४ जना सबै पुरुष उम्मेदवार मात्र रहेका छन् । यसरी उम्मेदवार भएकामध्ये राजनीतिक दलबाट १२ जना र स्वतन्त्र दुई जना रहेका छन् । उम्मेदवारमध्ये खस आर्य बाट ४२ दशमलव ८६ प्रतिशत, आदिवासी जनजातिबाट ४२ दशमलव ८६ प्रतिशत र दलित १४ दशमलव २९ प्रतिशत रहेका छन् । क्षेत्र नं. १ मा कूल मतदाता एक लाख ४० हजार एक जना रहेका छन् । पुरुष ७० हजार पाँच सय ५४ जना मतदाता रहेका छन् । जुन ५० दशमलव ४० प्रतिशत हो भने महिला ६९ हजार चार सय ४६ जना छन् । जुन ४९ दशमलव ६० प्रतिशत हो । अन्य मतदाता एक जना रहेका छन् । क्षेत्र नं. १ मा ५४ वटा मतदानस्थल र एक सय ५८ वटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
यसैगरी दाङ क्षेत्र नं. २ मा पुरुष २१ र महिला दुई गरी २३ जना उम्मेदवार रहेका छन् । उम्मेदवारमध्ये राजनीतिक दलबाट १५ जना र स्वतन्त्रबाट आठ जना रहेका छन् । ती मध्ये खस आर्यतर्फ ७३ दशमलव ९१ प्रतिशत, आदिवासी जनजातितर्फ १७ दशमलव ३९ प्रतिशत र दलित आठ दशमलव ७० प्रतिशत रहेको छ । क्षेत्र नं २ मा एक लाख ४० हजार नौ सय ६५ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष मतदाता ६८ हजार पाँच सय ५८ जना, ४८ दशमलव ६३ प्रतिशत छन् भने महिला ७२ हजार चार सय छ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत छन् । अन्यमा एक जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ४९ वटा मतदान स्थल र एक सय ५५ वटा मतदान केन्द्र रहेका छन् ।
यसैगरी दाङ क्षेत्र नं. ३ मा पुरुष २० र महिला तीन गरी २३ जना उम्मेदवार रहेका छन् । उम्मेदवारमध्ये खस आर्य ६० दशमल ८७ प्रतिशत, आदिवासी जनजाति २१ दशमलव ७४ प्रतिशत र दलित १७ दशमलव ३९ प्रतिशत रहेका छन् । क्षेत्र नं. ३ मा कूल एक लाख ५० हजार सात सय २० मतदाता रहेका छन् । जसध्ये पुरुष ७४ हजार दुई सय ६८ अर्थात् ४९ दशमलव २८ प्रतिशत छन् भने महिला ७६ हजार चार सय ५१ जना अर्थात् ५० दशमलव ७२ प्रतिशत रहेका छन् । यसैगरी अन्यमा एक जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यस क्षेत्रमा ५६ वटा मतदान स्थल र एक सय ६९ मतदान केन्द्र रहेका छन् ।
