प्रिया स्मृती गजमेर
देउखुरी,१४ फागुन । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले राजनीतिक हस्तक्षेप र प्रशासनिक अवरोधका कारण चुरे तराई क्षेत्र संरक्षणमा समस्या थपिएको बताएका छन् । समितिले देउखुरी क्षेत्रका चार स्थानीय तहका जनप्रतिनिधिबिच नदीजन्य पदार्थ उत्खनन् तथा ठेक्का व्यवस्थापनका विषयमा बुधवार आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष पौडेलले राजनीतिक हस्तक्षेप र प्रशासनिक अवरोधका कारण कार्यसम्पादनमा चुनौती खेप्नु परेको बताएका हुन ।
‘स्थानीय तहलाई समयमा अनुमति दिएर काम गर्ने वातावरण सिर्जना गरौँ भन्ने प्रस्ताव मैले पटक पटक बोर्ड बैठकमा उठाउने गरेको छु’, उनले भने, ‘तर कहिले आन्तरिक असहमति त कहिले प्रशासनिक जटिलताका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।’ उनले स्थानीय तहको गुनासो सम्बोधन गर्न आफूले सकेजति पहल गरिरहेको बताउँदै भदौ महिनामै प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रक्रिया पूरा गरी असोज–कात्तिकभित्र उत्खनन् अनुमति दिने गरी समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए । तीन तहका सरकारबिच कानुनी बाझाबाझ र प्रक्रियागत झन्झटिलताका कारण काम गर्न ढिलाइ भएको बताएका थिए । छलफलमा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले नदीजन्य पदार्थ उत्खनन् प्रक्रियालाई सरलीकरण गर्न समितिले समन्वयकारी भूमिका खेल्नु पर्नेमा बताएका थिए । वन कार्यालयबाट हुने अवरोध हटाउन सम्बन्धित निकायबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले असोज–कात्तिकमै निकासी अनुमति दिन आग्रह गर्दै ढिलाइका कारण अवैध उत्खनन् बढेको बताए । ‘राति गिट्टी, बालुवा चोरी गरेर क्रसरमा डम्पिङ गर्ने प्रवृत्ति बढेको छ’, उनले भने, ‘समयमै अनुमति भए यस्ता समस्या न्यूनीकरण हुन्थे ।’ छलफलमा राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले सबै प्रक्रिया पूरा गरेर फाइल पठाउँदा पनि अनुमति ढिला हुने गरेको बताएका थिए । गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले अनुमति प्रक्रिया ढिलो हुनुको कारण स्पष्ट गर्न आग्रह गर्दै ‘फास्ट ट्रयाक’ प्रणालीबारे चासो व्यक्त गरेका थिए ।
लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले अनुमति ढिलाइ हुँदा स्थानीय व्यवसायीको असन्तुष्टि नगरपालिकामाथि नै केन्द्रित हुने गरेको बताउँदै जति सक्यो चाँडै उत्खनन् गर्ने गरी लाग्नु पर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले असोजमै ढुङ्गा, गिट्टी निकासी अनुमति पाए राजस्व सङ्कलनमा उल्लेखनीय सुधार हुने बताएका थिए । कार्यक्रममा इन्जिनियर सौगात वली, लेखा अधिकृत टोपबहादुर शाही, प्राविधिक अधिकृत सुवास कुमाललगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण राजस्व शाखा प्रमुख अम्बिका शर्माले गरेकी थिइन् ।