गोरक्ष समाचारदाता
तुलसीपुर, १४ फागुन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज र नेपाल आँखा अस्पतालबिच आँखा स्वास्थ्य सेवा र शैक्षिक विकासका लागि सम्झौता भएको छ । दुई पक्षबिच विशिष्टीकृत सेवा विस्तार र शैक्षिक विकासका लागि सेवा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीकोे अध्यक्षता तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाई, मेडिकल डाइरेक्टर डा. किरण शाक्यको विशेष उपस्थितिमा सेवा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाई, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले संयुक्त रूपमा सेवा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा सहभागीले दुई पक्षबिच भएको समझदारीले आँखा स्वास्थ्य सेवाको विकास र विस्तार तथा अन्धोपन न्यूनीकरणका लागि कोशेढुङ्गा सावित हुने बताएका थिए ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले लामो समयको छलफल भेटघाटले सार्थकता भएको भन्दै आगामी दिनमा अन्य साझेदारी सहकार्य गरी अन्धोपन न्यूनीकरणको अभियानमा लाग्ने बताएका थिए । कार्यक्रममा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाइले दुवै पक्षबिच भएको सम्झौताले अन्धोपन न्यूनीकरणका तथा शैक्षिक विकास हुने बताए । उनले दुवै संस्थाले अन्धोपन निवारणका लागि काम गरिरहेको भन्दै आगामी दिनमा अन्य सहयोग सहकार्य हुने बताए ।
कार्यक्रममा नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. किरण शाक्य, नेपाल नेत्रज्योति संघ दाङ शाखा सहकोषाध्यक्ष प्रणवकुमार खड्का, संघका सदस्यहरू सुरेन्द्रबहादुर खड्का, ध्रुव गौतम, ताराप्रसाद पोख्रेल, प्राडा प्रदीप बास्तोला, प्रमुख प्रशासक डा. सम्शेर थापा, राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर सहायक प्राडा रन्जितकुमार साहलगायतले दुई पक्षबिचको समझदारीले आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम र यसले दिएका सेवाको विषयमा जानकारी गराएका थिए ।