गोरक्ष समाचारदाता
दाङ, १४ फागुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आशन्न निर्वाचनलाई देश जलाउने र देश बनाउने शक्तिबीचको जनमत–संग्रह भएको बताएका छन् । नेशनल भोलेन्टियर फोर्स क्षेत्र नं. २ ले घोराहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाङ क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका पोख्रेलले देशका महत्वपूर्ण सम्पदा जलाउनेहरू राष्ट्रका कलंक भएको बताएका हुन ।
देशको सम्पदा जलाउनेहरू राष्ट्रका कलंक भएको भन्दै पोख्रेलले भने, ‘देशका सम्पदा जलाउनेहरूलाई जनताले हिसाब खोज्नेछन् । निर्वाचनमार्फत् देश बनाउने शक्तिको जनमत बलियो बनाउनुपर्छ ।’ उनका अनुसार देशलाई बन्धक बनाउने शक्तिहरू हाबी भए परिवर्तन गुम्ने खतरा बढ्नेछ । त्यसैले युवाहरू गाउँ–गाउँमा पुगेर एमालेको सन्देश फैलाउनुपर्ने उनले जोड दिए । उनले एमालेले युवा, विद्यार्थी, महिला, असक्तलगायत सबै समुदायको हितमा काम गरेको दाबी गर्दै नवयुवाहरूलाई आन्दोलनमा धकेलेर देशविरोधी शक्तिहरू हावी हुन खोजेको आरोप लगाए । ‘त्यसको जवाफ नवयुवाहरूले मतको माध्यमबाट दिनुपर्छ’, उनले भने ।
कार्यक्रममा नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले निर्वाचन बिथोल्न खोजिए त्यसको प्रतिकारका लागि तयार रहन निर्देशन दिएका थिए । कार्यक्रममा हेडक्वाटर कमाण्डर सागर भट्ट, एमालेका युवानेता विवेक श्रेष्ठ तथा खेलकुद महासंघ दाङका अध्यक्ष अभिषेक बुढा मगरले पनि मन्तव्य व्यक्त गरेका थिए । केन्द्रीय कमाण्डर सदस्य त्रिभुवन बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भिमसेन डाँगीले गरेका थिए ।