Goraksha

National Daily

दाङ निर्वाचन–२ : किरणका प्रतिज्ञा

गोरक्ष समाचारदाता
्दाङ, १३ फागुन । दाङ क्षेत्र नं.२ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले समग्र क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

मङ्गलवार घोराहीमा कार्यक्रमको आयोजना गरेर उम्मेदवार घिमिरेले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, ऊर्जा, खेलकुद तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । प्रतिज्ञापत्रमा दाङ क्षेत्र नं. २ को व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्नेदेखि विद्यालय तथा क्याम्पसको गुणस्तर अभिवृद्धिका लागि ‘शैक्षिक सुधार’ कार्यक्रम सञ्चालन गर्ने र प्रविधि तथा दक्ष जनशक्ति थप गर्दै स्मार्ट कलेजको अवधारणामा रूपान्तरण गर्ने योजना उल्लेख गरिएको छ ।

त्यसैगरी दाङलाई शैक्षिक हवका रूपमा विकास गर्न नेपाल संस्कृत विश्वविद्यालय र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान को स्तरोन्नति गर्दै घोराही इञ्जिनियरिङ कलेजलाई अविलम्ब सञ्चालनमा ल्याइनुका साथै घोराही र तुलसीपुरमा सहरी गरिबी व्यवस्थापन गर्दै रोजगारी कार्यक्रम लागु गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ । पूर्वाधारतर्फ घोराही–तुलसीपुर तथा घोराही–लमही सडकखण्डमा ‘ग्रीन बेल्ट’ निर्माण गरी सोलार प्रविधिबाट सडकबत्ती जडान गर्ने, भैसाही–सिमलतारा–हाँसीपुर हुँदै चैतेसम्म जोड्ने वीपी राजमार्ग कालोपत्रे गर्दै दाङ उपत्यकालाई प्रदेश राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्र्ने, टरिगाउँ विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्ने तथा नगर बस योजना तर्जुमा गर्ने योजना समेटिएको छ ।

त्यसैगरी बबई नदी तटबन्ध गरी ग्रीन पार्क निर्माण गर्ने, बेलझुण्डी रंगशाला र गुलरिया क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, नवलपुर खेल मैदान स्तरोन्नति गरी राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने र ‘एक वडा, एक खेल मैदान’ निर्माण गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनअन्तर्गत क्षेत्र नं. १ र ३ सँग समन्वय गरी बबई (सरयू) सभ्यता अध्ययन तथा भारतको अयोध्यासम्म धार्मिक ट्रेल निर्माणका लागि पहल गरिने, दाङ भ्यालीलाई अन्तर्राष्ट्रियस्तरको आईटी भ्यालीका रूपमा विकास गरी सूचना प्रविधि क्षेत्रमा दक्षजनशक्ति उत्पादन गर्ने योजना पनि समावेश गरिएको छ । साथै आदिवासी थारू समुदायको अर्गानिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमार्फत् सांस्कृतिक पहिचानलाई समृद्धिको आधार बनाउने लक्ष्य राखिएको छ ।

गुठी पीडित मोही किसानको जमिनमाथिको अधिकार सुनिश्चित गर्दै गुठी व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउने, ज्येष्ठ नागरिक संवाद केन्द्र सञ्चालन गर्ने र निःशुल्क स्वास्थ्योपचार तथा मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने र आयुर्वेद अस्पतालको स्तरोन्नति गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिज्ञापत्रमा समेटिएको छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिँचाइ सुविधा विस्तार, किसानलाई सहुलियत ऋण उपलब्ध गराउन ‘किसान क्रेडिट कार्ड’ व्यवस्था, प्रत्येक वडामा कृषि सहकारी समूह गठन तथा उत्पादनको बजारीकरणमा सहजीकरण गर्ने, पाँच वर्षभित्र मासु, अण्डा, दुध, तरकारी र फलफूलमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको छ ।

ऊर्जा क्षेत्रमा विद्युत् पहुँच विस्तार, विद्युतीय चुलो प्रवद्र्धन तथा पूर्वाधार सुदृढीकरण गर्ने प्रतिबद्धता जनाइएको छ । महिला, दलित, जनजाति, बालबालिका, अपाङ्गता भएका व्यक्ति, भूमिहीन तथा विपन्न वर्गका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक सेवामा डिजिटल प्रणाली विस्तार गरी पारदर्शिता र सुशासन कायम गर्ने प्रतिबद्धता पनि प्रतिज्ञापत्रमा उल्लेख छ ।

मोटर साइल ¥याली हुने

निर्वाचन युवा परिचालन समिती नेपाली कांग्रेस क्षेत्र नं २ ले आयोजनामा भोली बुधवार मोटर साइकल ¥याली गर्ने भएको छ । बुधवार ११ ः३० बजे नेपाली काँग्रेसको पाटी कार्यालयबाट सुरु हुने छ । ¥याली १२ः४५ बजे नारायणपुर बजार र १ः ३० बजे विजौरी पुग्ने भएको छ । ¥यालीमा सहभागि हुनका नेपाली काग्रेसका नेता कार्यकर्ता,सम्पुर्ण भातृ संघ तथा सम्पूर्णमा नेपाली काग्रेस घोराही उपमहानगर पालिकाका सभापती तिलक रावतले जानकारी दिए ।