चुनावी माहोलले बजारमा भीड, आर्थिक गति भने सुस्त
अमरराज आचार्य
दाङ, १३ फागुन । चुनावको मिति नजिकिँदै जाँदा दाङका सहर बजारदेखि ग्रामीण बस्तीसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । प्रतिनिधिसभाका लागि यही फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार मतदाता भेटघाटमा सक्रिय बनेका छन् । घरदैलो कार्यक्रम, टोलसभा, कोणसभा र अन्तरक्रियाका कार्यक्रम दैनिकजसो भइरहँदा जिल्लाभर चहलपहल उल्लेख्य रूपमा बढेको देखिन्छ ।
यतिबेला उम्मेदवार तथा तीनका समर्थक बिहानैदेखि साँझ अबेरसम्म गाउँ–गाउँ र टोल–टोलमा पुगिरहेका छन् । चुनावी प्रचारप्रसारका लागि सवारीसाधनको प्रयोग बढेको छ भने मोटरसाइकल र गाडीको आवतजावतले बजार क्षेत्रमा भीडभाड समेत बढाएको छ । मुख्य सडक, चोक र चोकमा झण्डा, ब्यानर र पोस्टरले सजिएका दृश्य सामान्य बनेका छन् । मानिसको बढ्दो आवतजावतसँगै स्थानीय होटल, खाजा पसल तथा रेष्टुरेन्टमा ग्राहकको संख्या बढेको व्यवसायी बताउँछन् ।
विशेषगरी चुनावी टोली बिहानको खाजा, दिउँसोको खाना तथा साँझको नास्ताका लागि होटलमा पुग्ने क्रम बढेको छ । यसले गर्दा तरकारी, मासु, दूध, दही, अण्डालगायतका दैनिक उपभोग्य वस्तुको माग पनि उकालो लागेको छ । घोराही, तुलसीपुर लगायतका मुख्य बजार क्षेत्रमा रहेका होटल व्यवसायीका अनुसार विगत केही हप्तायता व्यापारमा केही सुधार देखिएको छ । ‘अहिले चुनावी टोली दैनिकजसो आउँछन् । चुनावका लागि खटेका खाना खाने हुँदा बिक्री केही बढेको छ,’ एक होटल व्यवसायीले भने । तर उनीहरूका अनुसार यो वृद्धि स्थायी प्रकृतिको नभई चुनावी गतिविधिसँग मात्र सीमित छ ।
यस्तै, प्रचारप्रसार सामग्री उत्पादन गर्ने छापाखाना तथा डिजिटल प्रिन्टिङ पसलमा पनि कारोबार बढेको छ । पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स तथा स्टिकर छपाइका अर्डर बढेका छन् । केही पसलले त अतिरिक्त समय काम गर्नुपरेको बताएका छन् । ‘उम्मेदवारले छोटो समयमै धेरै सामग्री तयार गर्नुपर्ने हुन्छ । त्यसैले अहिले कामको चाप छ,’ एक प्रिन्टिङ व्यवसायीले भने । यद्यपि, बजारमा देखिएको भीडभाड र चहलपहल आर्थिक रूपमा अपेक्षाकृत सन्तोषजनक नभएको व्यवसायीको भनाइ छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले चुनावी समयमा बजार चलायमान हुने अपेक्षा गरिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए । ‘चुनावको समयमा व्यापार व्यवसाय बढ्नु पर्ने हो, तर त्यो हालसम्म स्पष्ट रूपमा देखिएको छैन,’ उनले भने, ‘भीडभाड बढेको छ, तर त्यस अनुसारको आर्थिक गतिविधि विस्तार हुन सकेको छैन ।’
उनका अनुसार विगतका निर्वाचनमा जस्तै यस पटक पनि व्यवसायीले व्यापार वृद्धि हुने आशा गरेका थिए । तर, बढ्दो महङ्गी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र आर्थिक तरलताको अभावका कारण बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको उनले बताए । ‘मानिस खर्च गर्न सचेत भएका छन् । चुनावी माहोलले मात्र दीर्घकालीन आर्थिक सुधार ल्याउन सक्दैन,’ श्रेष्ठले भने ।
चुनावले केही मात्रामा व्यापार व्यवसायमा वृद्धि भएको दाङ चेम्बर अफ कर्मसका अध्यक्ष विकास अग्रवालले बताए । तर, व्यवसायीको अपेक्षा अनुसार बढ्न नसकेको उनको भनाइ छ । ‘व्यवासायीको अपेक्षा अनुसार बजार चलायमान हुन सकेको छैन’ उनले भने । अहिले सवारीका साधन, होटेल रेष्टुरेण्ड, चिया हाउस, कफी हाउसको व्यापार वृद्धि भएको उनले बताए । यससँगै जोडिएका क्षेत्रमा पनि केही वृद्धि भएको पाइएको अध्यक्ष अग्रवाल बताउँछन् ।
बजार विश्लेषकका अनुसार चुनावी गतिविधिले अल्पकालीन रूपमा केही क्षेत्रलाई फाइदा पु¥याए पनि समग्र अर्थतन्त्रमा त्यसको प्रभाव सीमित हुन्छ । विशेषगरी प्रचारप्रसार, यातायात, होटल तथा खुद्रा व्यापार क्षेत्रमा अस्थायी सुधार देखिए पनि उद्योग, निर्माण तथा थोक व्यापारमा उल्लेख्य परिवर्तन देखिएको छैन । ग्रामीण क्षेत्रमा भने उम्मेदवारको बाक्लो उपस्थितिले स्थानीय चिया पसल र साना किराना पसलमा केही चहलपहल बढाएको छ । गाउँका चौतारो र सामुदायिक भवनमा हुने छलफल तथा भेटघाटका कार्यक्रमले स्थानीय स्तरमा उत्साह थपेको छ । तर, ग्रामीण व्यवसायी पनि दीर्घकालीन व्यापार वृद्धिको आशामा भने सावधानी अपनाइरहेका छन् ।
सुरक्षाको दृष्टिले पनि प्रशासन सक्रिय देखिएको छ । चुनाव नजिकिँदै जाँदा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ । बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षा अनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिँदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।
