कांग्रेस बदलिएर आउँदा मतदातालाई उर्जा मिलेको छ : योगेन्द्र चौधरी

देश अहिले निर्वाचनको सङ्घारमा छ । फागुन २१ गते हुने प्रतिनिभिसभा निर्वाचन आउन करिब आठ दिन मात्र बाँकी रहँदा राजनीतिक दल र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । जनमत आ–आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलदेखि उम्मेदवारहरु निर्वाचन केन्द्रीय कार्यक्रम तय गरेर जनताको घरदैलोमा जानेदेखि भेटघाट गर्ने काम गरिरहेका छन् । यसै सन्दर्भमा दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले चुनावी प्रचारप्रसारको कार्यक्रमलाई तीव्रता दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने विभिन्न बस्तीमा पुगेर जनताका गुनासा सुन्नेदेखि क्षेत्र नं. १ को विकासका लागि आफ्ना योजनाहरु समेत सुनाउँदै आएका छन् । घरदैलो तथा भेटघाटका क्रममा मतदाताको अपेक्षा, उम्मेदवारका चुनावी एजेण्डा र क्षेत्र नं. १ को भौगोलिक अवस्थाका बारेमा विषय केन्द्रित भएर गोरक्षकर्मी देवेन्द्र बस्नेतले उम्मेदवार चौधरीसँग गरेको कुराकानीको सारसंक्षेप ।
— प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं.१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारका रूपमा मैदानमा होमिनु भएको छ, चुनावी प्रचारप्रसार अभियानलाई  कसरी अगाडि बढाउनु भएको छ ?
निर्वाचन नजिकिएको छ । हामी प्रचारप्रसारका क्रममा विभिन्न स्थानमा जाँदै आफ्ना कुरा राख्नेदेखि जनताका गुनासा सुन्ने काम भइरहेको छ । निर्वाचनका लागि पार्टीका सबै संगठन क्रियाशील भएका छन् । नेपाली कांग्रेसको आफैमा ठुलो विशाल संगठन छ । पार्टीका सबै भातृ तथा शुभेच्छक संघसंगठनसहित नेपाली कांग्रेस अहिले चुनावी अभियानमा लागिरहेको छ ।
हामी पनि मतदाताको बिचमा नेपाली कांग्रेसले विगतमा गरेको काम, वर्तमानमा गरेका काम, रूपान्तरणसहितको कांग्रेस, बदलिएको कांग्रेस, नयाँ कांग्रेस, नयाँ भिजनसहितको कांग्रेस भन्ने कुरा जनतामा माझ बताइरहेका छौँ । हामी कसरी देशलाई अगाडि लैजान्छौँ । भ्रष्टाचारको सन्दरमुक्तिको प्रश्नलाई कसरी सम्बोधन गर्छौँ, यसलाई कसरी नियन्त्रण गर्ने उपाय खोज्छौँ । सुशासन माथि उठेको प्रश्नलाई हामी कसरी सेटल गर्छौँ, यसलाई विश्वासनीय आधार के–के हुन् भन्ने कुरा हामीले जनताको बिचमा बताइरहेका छौँ । विकासको नयाँ ढंगले कसरी अगाडि सार्छौँ बहस जनताबिचमा हामीले गरिरहेका छौँ ।
— नेपाली कांग्रेस रूपान्तरित भएर नेतृत्व परिवर्तन सँगसँगै कांग्रेसमा एक खालको जागरण पैदा भएको छ । सबै उमेर समूहलाई ल है पार्टी चाही युवाको हातमा, युवाको काँधमा, युवाको नेतृत्वमा गएको छ भन्ने एक खालको म्यासेज पनि गएको छ, तर यसलाई मतदाताले कसरी लिइरहेका छन् त ? चुनावी अभियानका क्रममा मतदातासँग के पाउनु भयो ?
सबैभन्दा पहिले रुख चिन्हमा ढुक्क भएर भोट दिन पाउँदा आम कांग्रेसीजनमा उर्जा मिलेको पाएको छुँ । कांग्रेसलाई पुराना दल भनेर केही भ्रम र नकारात्मक कुरा प्रचार गर्ने काम भएको छ । हामीले जनतालाई बुझाइराखेका छौँ दल कुनै पुराना हुँदैन । नेताहरूको समय सन्दर्भले त्यसको भूमिका सकिन सक्छ । त्यसैले गर्दा खेरी जनताको अपेक्षा अनुसार हामीले अब पार्टीको नेता पनि फेरेका छौँ ।
भारी प्रधानमन्त्रीको रूपमा गगन थापालाई अघि सारेका छौँ । अहिलेको सन्तती जति पनि प्रधानमन्त्रीका प्रस्तावित व्यक्तिहरू हुनुहुन्छ । ती सबै व्यक्तिहरूभन्दा गगन थापा योग्य, अब्बल, इमानदार भिजन सहितको नेतृत्व भनिराख्दा खेरी त्यो विषयहरूप्रति जनताहरू उत्साहित भएको पाएका छौँ । अब कांग्रेस साच्चिकै बदलिएको छ ।
उम्मेदवारी दिने बेला जसरी पहिला हामी बिच विवाद हुन्थ्यो त्यो पनि अहिले छैन । समग्रमा हेर्दा खेरी जनता चाही कांग्रेसप्रति ठुलो अपेक्षा बोकेको देखिन्छ । विगतको जस्तै गल्ती चाही नदो¥याऔँ भनेर सचेत पनि गराएको देखिन्छ । सम्रगमा कांग्रेस अहिले सिङ्गो आम मतदातामा गगनको नेतृत्वमा गयो भने गगन थापाले चाही देश बनाउँछन् भन्ने उर्जा तथा भरोसा गरेको देखिन्छ ।
— चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुग्दै गर्दा मतदाताको अपेक्षा जो विगतका निर्वाचनभन्दा केही त्यस्ता फरक अपेक्षा छन्, के पाउनु भयो तपाईले ?
पहिलो कुरा त सबै मतदातामा आम गुनासो निर्वाचित भएर जान्छन्, त्यसपछि कहिल्यै फर्किन्न् भन्ने ठुलो गुनासो छ । त्यस्तै किसानलाई मल, सडक, सिँचाइ, बत्ती समयमा भएनन् भन्ने गुनासा छन् । अनि युथहरूमा चाही के भयो त भन्ने प्रश्न पनि छ । यी विषय जसरी सामाजिक सञ्जालमा युवा पुस्तामा निराशा कुरा मात्र लिएर युथलाई नकारात्मक रूपमा घुसाइदिएको छ । तर, निराशाको कुरा गर्ने निराशाका व्यापार गर्ने कुरा केही दिनलाई त ठिक होला । तर, सधैको लागि ठिक हुँदैन भन्ने लाग्छ । तथापी अब मल्टी पार्टीको कुरा हो । हामी जुन व्यवस्थाको निम्ति मानिसले हामी सबै यही समाजमा हुर्केका मान्छे छौँ ।
कोही कांग्रेस थियौँ होला, कोही एमाले थियौँ होला, कोही माओवादी थियौँ होला । सबै यो देश बनाउनको लागि, जनताको अधिकारको लागि, राजनीतिक दलहरूले केही राम्रा कुरा गर्दागर्दै सकेनौँ, प्रयास त सबैले गरेका थियौँ । तर, यही दलबाट उछिटिएर गएका साथीहरू नयाँ दल खोलेर पनि आउनु भएको छ । सबै आचरण व्यवहार सबै यही समाजबाट हुर्केको हो ।
नयाँ भनेर आएका दल हुन् कि, पुराना भनेर रहेका दलमा मलाई लाग्छ मनोविज्ञान काम गर्ने तवर, तरिका उही हो । यसले मात्र पुग्दैन हामीले चाही बदल्नु पर्छ भन्ने कुरा स्वीकार गरेर अहिले नेपाली कांग्रेस जसरी आएको छ । सम्रगमा हेर्दा सबैभन्दा धेरै नेपाली कांग्रेसप्रति जनताको अपेक्षा, भरोसा, विश्वास प्रकट भएको मैले पाइरहेको छुँ ।
— नागरिकका अपेक्षा जहिल्यै पनि उनीहरूको आफ्नो जनजिविकाको सवालसँग केन्द्रित विषय मात्रै उठ्ने गरेको देखिन्छ ? हरेक निर्वाचन यता पनि निर्वाचन नभएको बेलामा पनि केही विकासका निर्माणका कुरा स्वास्थ्य, शिक्षा यी आपत जो नागरिकका आधारभूत आवश्यकता हुन्, ती चिज अहिले पनि सम्बोधन नहुँदै गर्दा यहाँले भने जस्तै एक खालको निराशा छ । तपाई नेपाली कांग्रेसको सहमहामन्त्री भएकाले नेपाली कांग्रेसले जनताका यी सवाललाई कसरी सम्बोधन गर्नेछ ?  
हामीले त भनिरहेका छौँ । मेजेर कुरा भ्रष्टाचारको सन्दर्भमा जे भइरहेको थियो, त्यसलाई अब हामी नदोहोरिने गरी कहाँनिर जुन अख्तियार दुरूपयोग अनुसन्धान आयोग चुक्यो । त्यसलाई हामीले कानुनी रूपमा कसरी जोड्न सक्छौँ । अख्तियार   भ्रष्टाचारको निवारणका निम्ति बनाएको संस्था हो । संवैधानिक हो, उसको अपेक्षा अनुसारले काम गर्न सकिन । यसलाई हामीले यसको गठन प्रक्रिया मै परिवर्तन गर्ने कुरा गरेका छौँ । अब सुशासनको प्रश्नमा सबै डिजिटल युगमा गएको समाजमा पुरानै तवर तरिकाले हामीले काम गरिरहेका छौँ । अब यो सँगैसँगै हामीले रोजगारीको कुरा पनि अहिले भनिरहेका छौँ ।
पाँच वर्षमा पन्ध्र लाख रोजगारी सिर्जना गरेर युवामा जो समस्या छ । रोजगारी छैन भन्ने कुरा सन्दर्भमा हामीले यसलाई चाही रोजगारी सिर्जना गर्छौँ भने आफ्नो डेमो तयारी गरी बताइरहेका छौँ । जुन हाम्रो पुरानो शिक्षा प्रणाली छ । त्यो शिक्षा प्रणालीलाई अब हामीले बदल्नु पर्ने छ । त्यो शिक्षा प्रणाली अब काम लाग्दैन । अबको शिक्षा साच्चिकै युथ वा अबको पुस्ता चाही आत्मनिर्भर बन्ने गरी शिक्षा आयो भने यसरी अब सधै सर्टिफिकेट खल्तीमा राख्ने । तर, रोजगारी नपाउने समस्या हुने स्थिति बढिरहेको छ । यसलाई हामी अन्त्य गर्छौँ ।
अब धेरै कुरा बाटो बन्दाखेरी धेरै वर्ष लाग्ने, बाटो बन्दा बर्षौँ कुर्ने । रुख काट्न नपाइने, रुख काट्नु पर्ने ठाउँमा  काट्न नपाइने । फेरि बर्षौँ कुर्नु पर्ने । तमाम झनझटिला कानुन भएकाले सबै कानुनको अध्ययन गरेर बदल्नु पर्ने छ । ताकी जनताले जसरी दुःख छ, सास्ती खेपेर व्यवस्थाप्रति प्रश्न उठाए । यसबारे हामीले कुन–कुन कानुन संशोधन गर्नु पर्ने छ भन्ने एउटा विज्ञ टोलीले अध्ययन गरिसकेको हाम्रो सभापतिले जनतामाझ भनिराख्नु भएको छ । यसरी नेपाली कांग्रेसले वर्कआउट गरिसकेको छ ।
कृषिलाई कसरी गरिरहेका छन्, विज्ञको आधारमा अध्ययन गर्ने र त्यसको फाइनिङबाट माथि नै हामीले नीति कानुन बनाउने भन्ने कुरामा अगाडि नबढ्दा यो  कुरा नारामा मात्रै सीमित भयो । यसले आपूर्ति दिएन र जनता निराश हुने स्थिति बन्यो । त्यस्तै शिक्षालाई कसरी अगाडि बढाउने शिक्षाविदसँग विज्ञताको आधारमा छलफल गरी फाइनिङ लिने, यसरी राजनीतिक र कानुन बनाउने ।
यदि क्षेत्रमा त्यसरी उनीहरूको अध्ययनबाट, आउटपुटबाट, निष्र्कषबाट हामीले बाटो तय गर्ने भन्ने कुरा सबै क्षेत्रको विज्ञताको आधारमा, फाइनिङको आधारमा हामीले कदम चाल्नु पर्छ । यही बताइरहेका छौँ कि हामी पुराना तवर तरिकाबाट गर्न सक्दैनौँ, विश्वास पनि लिन सकिन्न । अब माथि–माथि भाषण गर्ने, मिठो कुरा गर्ने । म समाज बदलिदिन्छु, भ्रष्टाचार रोकिदिन्छु भन्ने कुराले मात्र हुँदैन । हामी चाही भ्रष्टाचार यसरी रोक्छौँ । यसरी सुशासन दिन्छौँ भन्ने कुराले जनताले बुझ्ने गरी विश्वास गर्ने गरी जान खोजिरहेका छौँ भन्ने भरोसा हामीले जनताको माझ बताइरहेका छौँ ।
— तपाईले चुनावी प्रतिस्पर्धाको चुनौतीपूर्ण कसरी मान्नु भएको छ ? तपाईसँग प्रतिस्पर्धामा रहेका अन्य दल र उम्मेदवारको शक्तिलाई कसरी आंकलन गर्नुभएको छ ?
यही विषयलाई मलाई केही दिन अगाडि सोध्दै गरेको कुरालाई मैले एउटा औपचारिक कुरामा अभिव्यक्ति दिए । धेरै सामाजिक सञ्जालमा नकारात्मक तरिकाले पनि प्रस्तुत गर्ने प्रयत्न गरे । मैले कसैसँग पनि टिकाटिप्पणी छैन । जति पनि हामी प्रतिस्पर्धी छौँ । ती सबै प्रतिस्पर्धी हुन् । उसका पार्टीले उहाँलाई जित्छ, योग्य छ भनेरै पनि उम्मेदवार बनाएको हो । मलाई पनि यो ठाउँमा उम्मेदवार त्यो योग्यता जित्ने आधार देखेर बनाएको हो । त्यसरी नै अरू दलको पनि त्यही हो ।
कसैलाई पनि कमजोर ठान्नु हुँदैन । सबै प्रतिस्पर्धामा छौँ । अब यही समाजमा हामी सबै हुर्केका हौँ । मलाई विश्वास छ अहिलेका मतदाता विगतमा हरेक इतिहास हेरेर उसको समाजमा गरेको योगदान हेरेर, उसका राजनीतिकमा लगानी गरेको मतदाता चाही निर्णय लिनु हुने छ ।
— अन्त्यमा मतदातालाई के भन्नुहुन्छ र के सन्देश छ ?
निराशको व्यापार गर्ने प्रयत्न गरिएको छ । त्यसैले निराशाको कुरा मात्र गर्ने होइन । हामीले नागरिकमा आशा र भरोसामा दिलाएर हिड्नु पर्ने छ । मतदातालाई जसरी नेपाली कांग्रेसप्रति चिन्ता थियो । कांग्रेस बिग्रियो, सुध्रेन भन्ने चिन्ता थियो । त्यसैले आम जनता र आम मतदाताको अपेक्षा अनुसार कांग्रेस बदलिएको छ । कांग्रेसले युवा नेतृत्व ल्याएको छ ।
अहिले मलाई लाग्छ सबैभन्दा युवा कुनै पार्टीको सभापति हुनुहुन्छ भने नेपाली कांग्रेसकै सभापति हुनुहुन्छ ।  त्यसैले गर्दा आम मतदाताले सबै कुरा केन्द्रले नेतृत्वदेखि उसको तल्लोस्तरसम्मको प्रभावलाई पनि हेर्नु हुनेछ ।  समग्रमा मतदाताले देउखुरी क्षेत्रको उम्मेदवारले विगतमा गरेको काम, उसका राजनीतिक योगदान, उसका क्षमताको बारेमा मूल्याङ्कन गर्न योग्य हुनुहुन्छ । अहिले त मतदाताले सबै कुरालाई मूल्याङ्कन गरेर आफ्ना मलाई लाग्छ उहाँहरूले अन्तिम फैसला गर्नुहुन्छ । मलाई विश्वास छ ।
मेरो विगतको इतिहास हेरेर मैले गरेका कामको मूल्याङ्कनको आधारमा मलाई आम मतदाताले पहिलो रोजाइ गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गरेको छुँ । मलाई यस पटक देउखुरी जनताको प्रत्यक्ष रूपमा जितेर जनताको सेवा गर्ने मेरो इच्छा छ । म एक पटक जितेर गएर आम मतदाताको जसरी गुनासो छ कहिल्यै नेतामा आउने छैन । यो चाही म कहिल्यै गर्ने छैन । म फेरि पनि प्रतिव्यक्तता गर्छु । तपाईको यही पत्रिकाबाट विगतमा अरू नेताबाट भएको गल्ती मबाट दोहरिने छैन ।