Goraksha

National Daily

ऐना झुट बोल्दैन, उसले जे छ त्यही देखाउँछ

नारायणप्रसाद श्रेष्ठ
जीवन ऐना सरह पारदर्शी आचरणभित्र प्रदर्शन हुने सत्य हो । त्यस्तै ऐना पनि त्यो सत्य हो जसले कहिल्यै झुट बोल्दैन । यसले जे छ त्यही देखाउँछ । कालो, गोरो, सफा, फोहोर जे छ त्यही प्रस्ट्याउँछ ।

यदि मानिसको मन सफा र स्वच्छ छ भने तथा ऐना अगाडि र पछाडि उभिँदा वा बस्दा विश्वास र भरोसा राख्दछ भने एवम् सबै सामु एउटै व्यवहार गर्छ भने उसले त्यही भाव प्रदर्शन गर्दछ । उ कहिल्यै झुक्नु पर्दैन न त लज्जाबोध नै गर्नुपर्छ । ऐना सिसाको त्यस्तो यन्त्र हो जसले सत्य कुरा बाहेक बनावटी र आडम्बरयुक्त छदम भेष जान्दैन । न त अरु कसैको नक्कल गर्ने प्रवृत्ति नै उसमा हुन्छ । ऊ जे ग्रहण गर्दछ त्यही प्रदर्शन गर्दछ ।

ऐना त्यो भौतिक सत्य हो, जसले मानव आचरणमा देखिने गतिविधिलाई तथा बाह्य आवरणमा गरिने व्यवहारलाई मात्र देखाउँछ । मानवीय आचरणभित्र छिपेको अपारदर्शी चरित्र उसले जान्दैन पनि । देखेको सत्यलाई मात्र ग्रहण गर्दछ । उसले जे जस्तो देखाउँछ त्यो सत्यमा आधारित हुन्छ । मानव निर्मित भएर पनि यथार्थ सत्य बाहेक अरु उसले जान्दैन । तसर्थ यही सत्य मानव जीवनको आचरण र व्यवहारवाट पनि देखिने हुँदा सचेत मानव जीवनले पनि आफूलाई पारदर्शी ऐनासरह परिचालन गरी भौतिक शक्तिको यथार्थ धरातलमा आफूलाई उभ्याउन सक्नु पर्दछ ।

मानिस जे जस्तो कुरा बोल्दछ, जस्तो आचरण गर्दछ, त्यस्तै किसिमको सामाजिक रुपरेखा निर्धारण हुने हुँदा सामाजिक गतिविधिलाई शुद्ध सफा र सर्वजनाहिताय सर्वजन सुखायको सिद्धान्तभित्र आफूलाई परिचालन गर्न मानिस हरहमेशा सचेत रहनुपर्दछ । समाजलाई कुन गतिमा गतिशील बनाउने हो नयाँ पिढीको लागि के कस्तो संस्कार र संस्कृतिभित्र परिचालन गर्ने हो त्यो मानव आचरणको जिम्मेवारीभित्र पर्ने भएकोले यसको गम्भीर चिन्तन गर्नु, सबैले आफूले आफैलाई ऐना सरह प्रस्तुत गर्नु वर्तमानले खोजेको सत्य हो ।

मानिस सामाजिक प्राणी भएकोले नै उसले गर्ने हरेक क्रियाकलापबाट समाज र राष्ट्र प्रभावित भइरहेको हुन्छ । तसर्थ लटरम्म फल फलेर निहुरिएको वृक्षले जसरी आफूले बोझ बोकेर पनि दुनियालाई उसको आत्मातृप्ति गर्दै नयाँ विचार र सन्तुष्टिको आभास दिइरहेको हुन्छ त्यसैगरी मानवीय आचरण र व्यवहारले पनि जीवन र जगतको बारेमा आफ्नो सगुन साकार विचार प्रस्तुत गर्न सक्नु पर्दछ ।

झरनाको शुद्ध र सफा पानी बनी प्यासीको प्यास मेटाउने कार्य गरिरहनु पर्दछ । आफूसँग भएको गुणको भण्डारणलाई अरुको सेवा र समर्पणमा प्रस्तुत गरिरहने आचरण र व्यवहार गर्नुपर्दछ । मानव अन्तरनिहित पवित्रतालाई समाज उत्थानको सकारात्मक चिन्तनतर्फ आकर्षित गर्नुपर्दछ । किनकि जीवनको सफलताको आधार भनेकै उसको आचरण, कर्म र विचार हो ।

जहाँ स्वच्छ विचार र भावना पारदर्शी रुपमा मुखरित भएको हुन्छ त्यहाँको सामाजिक संस्कार र संस्कृतिमा पनि नयाँ आयाम थपिने परिस्थिति जन्मिन्छ । जुन चरित्रले समाजलाई आदर्श गति उन्मुख गराउँछ, त्यही चरित्रले समाजलाई विकासन्मुख पनि बनाउँदछ । त्यसैले मानवीय आचरण प्रशंसामा होइन सेवामा रमाउन सक्ने हुनुपर्दछ भनिएको हो । परिस्थिति जतिसुकै अप्ठ्यारोमा वा अप्ठ्यारो किन नहोस् त्यसवाट आत्तिनु हुँदैन ।

दुःखमा नआत्तिनु सुखमा नमात्तिनु त्यसै भनिएको होइन । समाजमा जे जस्तो घटना परिघटना घटेका छन् । त्यो परिस्थितिको जिम्मेवार मानिस स्वयम् भएकोले यो र त्यो वहानामा कर्म र विश्वासवाट पन्छिने प्रवृत्ति देखाउनु तथा बदलाको भावनाले कार्य गर्नु मानिसलाई सुहाउने विषय होइन । जति पनि विकृति र विसंगति छन्, ती सबैको कारक आफैँलाई सम्झी आफैबाट जिम्मेवारीबोध गर्ने वातावरण बनाउनु यो सबैको लागि अपरिहार्य आवश्यक हो ।

जसरी ऐनाले जुन सत्य हो त्यही देखाउँछ त्यसैगरी मानवीय कर्म र व्यवहारले पनि त्यही सत्य उजागर गरेको हुन्छ भन्ने मान्यता सिरोधार्य गरेर आफूलाई सच्याउन सक्नुपर्दछ । मैले जे गरे ठिक गरे भने अहंकारयुक्त व्यवहार गरिने हो भने त्यसले कहिले पनि राम्रो परिणाम दिँदैन । मानिसले जस्तो कर्म गर्छ त्यही अनुकूल मानवीय प्रवृत्ति पनि आकर्षित हुने हुँदा आफूभित्रको दिव्य शक्तिलाई पहिचान गरी शान्ति र स्वतन्त्रता आफैभित्रको ऊर्जा हो भन्ने मान्यता राखी आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

जसरी ऐनाले आफूलाई निष्कलंकित बनाई अरुलाई स्पष्ट र सही भएर अगाडि बढ्न प्रोत्साहित गरिरहन्छ, त्यसैगरी प्रत्येकले आफूलाई सामाजिक ऐना भएर संस्कार र परम्परालाई आदर्श उन्मुख गराउने चरित्रभित्र प्रमाणित गर्नुपर्दछ । अरुलाई एउटा औंला ठड्याएर देख्लास्, पखलास् भनेर भनिन्छ भने आफूसँगको तीनवटा औंलाले आफैलाई प्रश्न सोधिएको हुन्छ भन्ने सत्य कहिले बिर्सनु हुँदैन । त्यसैले अकबरी सुनलाई कसी लगाउन पर्दैन भनेझैँ प्रत्येक व्यक्ति र नेतृत्वले आफूलाई अकबरी सुनसरह प्रमाणित गर्न आफ्नो आचरण र व्यवहारलाई परिस्कृत गर्नुपर्दछ ।

हरेक व्यक्ति आफैमा योग्य र परिश्रमी हुन्छन् । उ परिश्रम गर्न पनि जान्दछ । ऊ आफूलाई कसरी सन्तुष्टि गराउने त्यो पनि जान्दछ । परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि उसले बुझेको छ । यति मात्र होइन परिश्रमबाट प्राप्त उपलब्धि नै उसको सुखद् क्षण हो भन्ने कुरा पनि उसले राम्ररी बुझेको छ । त्यसैले ऊ सधैँ परिश्रमी बनी दृड संकल्प भएर आफूलाई प्रस्तुत गर्न लागि पर्दछ । जीवनलाई पाप र पुण्यको साँछी भएर अगाडि बढाउन उ सधै प्रयत्नशिल भई सिकौँ र सिकाऔँ भन्दै लागि परिरहेको हुन्छ ।

पाप कर्म खराबै हुन्छ । यदि पुण्य कर्म गर्छु भनी अहंकारबंशनिहित स्वार्थपूर्तिको लागि केही कार्य गरिन्छ भने त्यो पनि खराबै हो । यो कुरा सबैले बुझ्न जरुरी हुन्छ । तसर्थ यदि कोही कसैले दोष लगाउँछ भने त्यो उसको आफ्नै कर्म भएको कारण भएको बुझी जीवनलाई गुनासो रहित बनाउनु पर्दछ । अरुको आलोचना गर्नु तथा अरुसँग आफूलाई तुलना गर्नु जीवन होइन । सधैँ दास भएर पिल्सिनु यो पनि जीवन होइन ।

सधैँ तृष्णा, अपेक्षा र अरुको इच्छाको जन्जिरमा बाँधिनु, दुःख निराशा पीडा शोकसँगै जीवनयापन गर्नु यो पनि जीवनको उद्देश्य होइन । जीवन आफैमा हिरा हो । यसलाई बुझी आफूलाई गतिशील बनाउनु पर्दछ । क्षणिक इच्छा शक्तिबाट निस्किएका जति पनि गलत कर्म छन्, तीनको पहिचान गरी काम, क्रोध, लोभ, मोह र अहंकार युक्त वीजलाई जरैबाट उखाल्न सक्नुपर्दछ । हरेक घटनाको जिम्मेवार म आफै हो । मलाई कसैको बदनाम गर्नु छैन ।

तथा अरुको सेवामुखी कार्यमा हस्तक्षेप गर्नु पनि छैन भन्ने कुरा मनन गरी कर्मले ल्याएको परिणामलाई स्वीकार्दै आफूलाई नवप्रतिभाशाली बनाई ऐना सरह हुन सक्नुपर्दछ । म र मेरो विचारमा आएका आदर्श कर्म राम्रो भनी अहंकार गर्नु भनेको आफूले आफैलाई क्षीण गराउनु हो । तसर्थ म यस्तो आचरण र व्यवहारलाई कदापि अगाडि बढ्न दिँदैन भनी संकल्प गरेर विचार र सेवामा समर्पित हुनु, बहुजन हिताय बहुजन सुखायको मान्यता राखी दया, करुणा र क्षमाको आचरण गर्नुपर्दछ ।

म सधैं आशावादी छु । म जुनसुकैबेला जस्तोसुकै परिस्थितिमा पनि गलत कार्य गर्ने छैन भन्ने मान्यता राखी सिर्जनाका नयाँ भावनालाई व्यवहारमा लागू गर्न हरहमेशा लागि रहन सक्नु पर्दछ । ऐनामा जे देखिन्छ त्यही नै सत्य हो, समस्याको समाधान पनि हो भनी भय, चिन्ता, डर त्रासबाट टाढा रही जीवनलाई सकारात्मक बनाउनु पर्दछ ।

अल्पज्ञानीले आफ्नो छाँयालाई आफै भूत सम्झेर जुनेली रातमा सडकमा भएको डोरीलाई सर्प सम्झी बिछुट्टिने जुन सोच चिन्तन मानव प्रवृत्तिमा देखिएको छ त्यस्तो प्रवृत्तिलाई हटाइ जीवनको महङ्खवपूर्ण क्षणको वास्तविकतालाई बुझी आफूलाई प्रदर्शन गर्नुपर्दछ । तब मात्र जीवनले खोजेको सत्य भेटिन्छ ।

मिठो बोल्ने र शान्त स्वभावको व्यक्ति कहिले हार्दैन । ऊ न त खुसीमा रमाउने गर्छ । न त दुःखमा नै दुखी हुन्छ । ऊ केवल जीवनको सत्यलाई बुझ्दछ । ऐना भएर आफूलाई हरमेशा प्रस्तुत गरिरहन चाहन्छ । उ जय पराजय जान्दैन । उसको उद्देश्य भनेको जीवनलाई सहज अवतरण गर्न कसरी सकिन्छ कसरी अरुलाई सेवा र सद्भाव बाड्न सकिन्छ तथा पाप र पुण्यको साक्षी भएर सामाजिक संस्कारलाई कसरी आदर्श बनाउन सकिन्छ भन्नेतर्फ उसको चिन्तन सधै रहिरहेको हुन्छ ।

ऊ खुसीको लागि काम गर्दैन, खुसी भएर काम गर्दछ । किनकि खुसीको लागि काम गरियो भने खुसी नमिल्न सक्छ । भन्ने कुरा उसले राम्ररी बुझेको छ । ऊ सधैँ अरुको जीवनको हरेक क्षणलाई खुसीमा परिणत गर्न चाहन्छ । उसको अन्तर हृदयभित्र सधैँ सुख र सुविधा कसरी बाड्न सकिन्छ भनी सोचिरहन्छ । खुसी हुँदा रमाउने दुःखी हुँदा रुने उसले कहिले सोच्दैन । ऊ सधैँ अरुको सुख सुविधामा साझेदारी बन्दै जीवन हिरा हो भन्ने मान्यतामा अडिग रहन्छ ।

पीडाबोध आफैंलाई कमजोर गराउने चिज हो भन्ने कुरा उसले सधैं बुझेको पनि हुन्छ । तसर्थ यो सत्य बुझेको मानवीय चरित्रले सधै आफूलाई सतर्क गराइरहनु पर्दछ । किनकि सिसा निर्मित ऐना भौतिक विकासको सत्यलाई उजागर गर्ने एउटा साधन मात्र हो, जीवन ऐना जस्तै यस्तो चम्किलो हिरा हो, जसले यत्रतत्र सर्वत्र आदर्श गति उन्मुख चाहान्छ । त्यसैले जीवनको यही सत्यलाई बुझी सबैले ऐना बनेर आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ । हिरा समान जीवनको महङ्खवलाई बुझी जीवनलाई विश्वास र भरोसा योग्य बनाउनु पर्दछ । चेतना भया ।