प्रिया स्मृती गजमेर
देउखुरी १३ फागुन । लमही क्षेत्रमा सञ्चालनमा रहेका अटो तथा इ–रिक्साको व्यवस्थापन, सेवा प्रवाहलाई सुलभ बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालाबिच छलफल गरिएको छ । बैठकले लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ ।
देउखुरी उद्योग वाणिज्य संघ, लमही चेम्वर अफ कमर्स, वडा प्रहरी लमही अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही, अटो व्यवसायी समिति सहितको सुझाव समिति बनाइएको छ । उक्त समितिले अध्ययन गरी १५ दिन भित्रमा प्राप्त प्रतिवेदन लमही नगरपालिकामा पेस गर्ने छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न छलफलमा अटो तथा इ–रिक्सा सञ्चालनलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले अव्यवस्थित पार्किङ, असुरक्षित सञ्चालन र नियम विपरितका गतिविधिले सवारी दुर्घटना बढ्ने सम्भावना रहेको उल्लेख गर्दै स्पष्ट मापदण्डसहित सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिए । उनले नगरभित्र सञ्चालनमा रहेका सबै सवारी साधनलाई दर्ता, रुट व्यवस्थापन र समय तालिका अनुरूप सञ्चालन गर्न आवश्यक रहेको बताए ।
उपप्रमुख लक्ष्मी योगीले नागरिकलाई सहज, सुरक्षित र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताइन् । नियम पालनामा सबै पक्षको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले कानुनी प्रक्रिया, कर तथा राजस्व व्यवस्थापन र दर्ता प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिए ।
वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले वडास्तरमा देखिएका समस्याबारे जानकारी गराउँदै पार्किङ व्यवस्थापन र ट्राफिक सचेतनामा विशेष ध्यान दिनु पर्ने बताए । देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलले व्यवसायीलाई स्पष्ट नीति तथा समन्वयमार्फत् अघि बढाउनु पर्ने आवश्यक रहेको बताए । लमही चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष शशिराम नेपालीले दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम र निगरानी संयन्त्र सुदृढ गर्नुपर्ने बताए ।
छलफलमा वडा प्रहरी कार्यालय लमहीका मनोहरराम चौधरीले ट्राफिक नियम उल्लघन, बिना अनुमति सञ्चालन तथा ओभर लोडजस्ता समस्या न्यूनीकरणका लागि कडाइ गरिने बताए । अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका महादेव भट्टले सवारी चालकलाई अनिवार्य लाइसेन्स, बीमा र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे । उपभोक्ता हित संरक्षण शाखाका शिवराज न्यौपानेले भाडादर पारदर्शी बनाउनु पर्नेमा जोड दिए ।
राजस्व शाखा प्रमुख अम्बिका शर्माले सबै सवारीसाधनलाई कर दायरामा ल्याएर व्यवस्थित अभिलेखीकरण गरिने बताइन् । त्यस अवसरमा दाङ अटो यातायात प्रालिका अर्जुन पुन मगर र विनोद चौधरी, दाङ भ्याली यातायात प्रालिका शिवु चौधरी र बलजित दमाई तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालि लमहीका गोवर्धन सापकोटाले व्यवसायीको तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छलफलमा अटो तथा इ–रिक्सा सञ्चालनका लागि निश्चित पार्किङ स्थल तोक्ने, पहिचान नम्वर अनिवार्य गर्ने, भाडादर सार्वजनिक गर्ने, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्ने र नियमित अनुगमन गर्ने सहमति भएको छ । सरोकारवालाबिचको यस छलफलले लमही क्षेत्रमा सुरक्षित, व्यवस्थित र गुणस्तरीय अटो तथा इ–रिक्सा सेवा सञ्चालनका लागि सकारात्मक आधार तयार गरेको अपेक्षा गरिएको छ ।