परीक्षण प्राथमिकता निर्धारण गरी अगाडि बढ

अग्रपंक्तिमा रहेर कोरोना विरुद्धको लडाईमा योगदान गरिरहेकाहरुका मनोबल बढाउनु राज्यको आग्रह हो । यो कुरामा राज्यलाई दबाब नै नदिनुपर्ने हो । तर, निरन्तरको आग्रह र केही हदसम्मको दबाबपछि पत्रकारहरुको स्वाब परीक्षणको क्रम सुरु भएको छ । दाङमा बुधवार २५ जना सञ्चारकर्मीको स्वाब संकलन गरिएको छ । देशभर पनि यो क्रम चलेको छ । पत्रकार महासंघले दिएको जानकारी अनुसार फिल्डमा खटिने पत्रकारहरुमध्ये २०० को हाराहारीमा स्वाब परीक्षणको क्रममा छ । यो आफैमा प्रशंसनीय कदम हो । राज्य यसरी जोखिमपूर्ण काममा लागेकाहरुको वर्ग छुट्याउँदै परीक्षणको दायरालाई फराकिलो बनाएर पेश भयो भने न त आलोचना नै हुन्छ, न त कोरोना फैलने सम्भावना नै अत्यधिक हुन्छ ।

अग्रपंक्तिमा रहेर लडाई लड्ने एउटा वर्ग पत्रकार भएझैँ स्वास्थ्यकर्मी स्वयम्, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा अत्यावश्यक सामान उपलब्ध गराउनेहरु पनि अग्रपंक्तिका सिपाही हुन् । उनीहरु पनि ठाउँ–ठाउँ पुग्नुपर्ने र जोखिम मोलेर काम गर्नुपर्ने अवस्थाको सामना गर्न वाध्य भइरहेका हुन्छन् । पत्रकारहरु आफूसँग ‘एक्स्पोजर’ हुने हुँदा त्यो चाँडो सुनिने हुँदा परीक्षणको दायरामा परेको र आफूहरुको कुरा कसैले नसुनेको गुनासो गरेर यो वर्ग बस्न नपरोस् । यसतर्फ गम्भीर हुँदै राज्यका संरचनाहरुले पत्रकारसँगै स्वास्थ्यकर्मी स्वयम्, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा अत्यावश्यक सामान उपलब्ध गराउनेहरुको पनि परीक्षणलाई व्यवस्थित गर्दै नियमित बनाउन आवश्यक छ । यस्तो परीक्षण उनीहरुको स्वास्थ्यसँगको चासो मात्र हुँदैन । उनीहरु आफ्नो कर्ममा खटिँदा भेट हुने र संसर्गमा आउनेहरुको स्वास्थ्यसँग पनि जोडिएको विषय हो । उदाहरणका लागि भनौँ, एउटा खाद्यान्नको पसलमा उपस्थित भएर खाद्य सामग्री ग्राहकलाई उपलब्ध गराइराख्ने व्यक्ति संक्रमित छ कि छैन भनेर थाहा पाउने अधिकार ग्राहकको पनि हुन आउँछ । त्यो व्यक्तिको संक्रमण जाँच हुनु भनेको ग्राहकहरुको सुरक्षासँग पनि जोडिएको विषय हुन्छ । त्यसकारण यो अग्राधिकार वा विशेष अवसर होइन, नागरिक स्वास्थ्यको ख्याल राख्ने प्रक्रियाकै एउटा उपाय हो । पत्रकारसँगै स्वास्थ्यकर्मी स्वयम्, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा अत्यावश्यक सामान उपलब्ध गराउनेहरुको परीक्षणको माग गर्नु भनेको नागरिक स्वास्थ्यमा चासो देखाउनु नै हो ।

यसो गर्दा यो संकटमा स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी, सूचना दिने पत्रकार, सुरक्षा दिने सुरक्षाकर्मी, सरसफाईमा योगदान दिने सफाईकर्मी, अत्यावश्यक सामग्री उपलब्ध गराउन खटिने सबैको आत्मबल पनि बढ्ने छ र संकटमा पनि आ–आफ्नो प्रकृतिको सेवा दिन तल्लिन भइरहने छन् । अर्कोतर्फ नागरिक स्वास्थ्यको एउटा पाटो सुरक्षित रहने नै छ । यसवाहेक संक्रमितहरुको ट्राभल हिस्ट्री खोजेर सबैलाई परीक्षणको दायरामा ल्याउन आवश्यक छ । वर्ग, क्षेत्रलाई वर्गीकरण गरेर बढी जोखिम, फैनलसक्ने भूगोल वा वर्गलाई प्राथमिकतामा राखेर परीक्षणलाई अगाडि बढाउनु नै अहिलेको आवश्यकता महशुस भएको छ ।