Goraksha

National Daily

उज्यालो बन्दै सैघा

smart

अमरराज आचार्य
दाङ, १० फागुन । घोराही उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवा पुग्न थाले छ । विद्युत पुगेपछि सैघाका नागरिकको घर रातको समयमा पनि उज्यालो बन्ने गरेको छ । विद्युत सेवा विस्तार भएपछि स्थानीयवासीको वर्षौँदेखिको एउटा सपना पूरा भएको छ ।

उपमहानगरपालिका घोषणा भएको लामो समय बितिसक्दा पनि विद्युत सेवा पाउन सकेका थिएनन् । पछिल्लो समय विद्युत सेवा उपभोग गर्न पाउन थालेका हुन् । विद्युत बलेसँगै स्थानीयको दैनिक जीवनशैलीमा समेत सहजता हुन थालेको स्थानीयबासिन्दा बताउँछन् । सैघा बोल्दीका स्थानीय धनबहादुर साकीका अनुसार गाउँमा विद्युत सेवा पुगेपछि सबैभन्दा ठूलो राहत रातिको समयमा भएको छ ।

उनको घरमा करिब एक महिनाअघि मात्र विद्युतको सेवा पुगेको उनले बताए । ‘पहिले अध्यारोमा बस्नु पथ्र्यो । बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नु पथ्र्यो,’ उनले भने, ‘अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।’ उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो । ‘घर–घरमा मोवाइल भए पनि चार्ज गर्ने ठाउँ थिएन । कहिले छिमेकी गाउँ, कहिले बजार धाउनु पथ्र्यो,’ उनले भने ।

छिमेकी गाउमा गएर मोबाइल चार्ज लगाउन जाँदा पालो समेत बस्नु पर्ने गरेको थियो । घरमा विद्युतको सेवा पाएपछि अहिले त्यो समस्या अन्त्य भएको छ । घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको साकीले बताए । ‘एक पटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको दिन अझै सम्झनामा छ,’ उनले भने ।

उपमहानगरपालिकाभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उनको गुनासो छ । स्थानीयहरूका अनुसार विद्युत सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो । मिल, सिलाइ–कटाइ, कम्प्युटर सेवा, वेल्डिङ जस्ता काम सम्भव थिएनन् । अब भने त्यस्ता सम्भावना देखिन थालेका छन् । युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ ।

वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए । यसका लागि आफू लागि परेको बताए । आफू निर्वाचित भएपछि अनुसार २०७९ सालमा तीन करोड ६७ लाख रुपैयाँको लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको बताउँछन् । त्यस अघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन् । बाँकी रहेका ठाउँमा विद्युत पु¥याउनका लागि २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत् कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । तर, ठेकेदार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनले बताए ।

नागरिकको घरमा छिटो विद्युत पु¥याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ । ‘पटक–पटक आग्रह गर्दा पनि कामले गति लिन सकेन,’ उनले भने, ‘सैघालाई उज्यालो बनाउने मेरो योजना हो, यसका लागि धेरै प्रयास गरेका छौं।’ उनका अनुसार सैघामा धेरै ठाउमा विद्युत बले पनि लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायतका बस्तीमा अझै सेवा पुग्न सकेको छैन । ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उनले बताए ।

स्थानीयबासीको अपेक्षा भने अब विद्युतसँगै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने छ । सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ । विद्युतसँगै अन्य आधारभूत सेवा पुगेपछि गाउँमा बसाइँसराइ घट्ने र आर्थिक गतिविधि बढ्ने विश्वास स्थानीयको छ ।  सैघामा बलेको बत्ती केवल घर उज्यालो बनाउने साधन मात्र होइन, वर्षौँदेखिको प्रतीक्षा र संघर्षको प्रतिफल पनि हो । अध्यारोमा बितेका दिनहरूलाई सम्झँदै स्थानीय अब उज्यालो भविष्यको आशामा अघि बढिरहेका छन् । बाँकी बस्तीमा पनि चाँडै विद्युत सेवा विस्तार हुने अपेक्षा सहित सैघाबासीले विकासको गति तीव्र हुने आशा गरेका छन् ।