Goraksha

National Daily

‘देशको विकास र निकास दिने पार्टी कांग्रेस’

गोरक्ष समाचारदाता
तुलसीपुर, १० फागुन । नेपाली कांग्रेस तुलसीपुर–१३ को आयोजनामा फूलबारीमा चुनावीसभा सम्पन्न भएको छ ।

चुनावीसभालाई सम्बोधन गदै कांग्रेस नेताहरूले देशको विकास र निकास दिने पार्टी कांग्रेस भएको भन्दै यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई अत्याधिक मतले विजय बनाउन सबै कार्यकर्ता सक्रिय भएर लाग्न अपिल गरेका थिए ।

वडा इकाई सभापति चेतकान्त योगीको अध्यक्षतामा भएको चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव आचार्यले देशका १६५ वटौ निर्वाचन क्षेत्रमा कांग्रेसको जनलहर आएको बताएका थिए । चुनावी सभाका प्रमुख अथिति समेत रहेका आचार्यले दाङमा पनि कांग्रेसले विजय हासिल गर्ने भन्दै प्रतिनिधिसभा क्षेत्र नं. ३ का उम्मेदावर दिपक गिरीलाई रुखमा भोट हालेर अत्याधिक बहुमतले विजय गराउन सबैमा अपिल गरे ।

‘नेपाली कांग्रेस रुपान्तरितसँगै बदलिएको छ, अब देशलाई बदल्ने छ, त्यसका लागि कांग्रेसलाई विजय गराउनु पर्ने छ’, आचार्यले भने । उनले नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन देशभरसँगै दाङ क्षेत्र नं. ३ बाट पनि दिपक गिरीलाई जिताउनु पर्ने बताए । उनले फूलबारी कांग्रेसको उर्बरभूमी भएको भन्दै दिपक गिरीलाई विजय गराएपछि यस ठाउँको थप विकास हुने पनि बताए ।

उनले फूलबारीमा गिरी सिँचाइमन्त्री हुँदा डिपबोरिङ निर्माण गरेको भन्दै अहिले फूलबारी हरावरा भएको बताए । त्यस्तै नेपाली कांग्रेस प्रतिनिधि सभा दाङ क्षेत्र नं. ३ का उम्मेदवार दिपक गिरीले देश अहिले गम्भीर अवस्थमा पुगेको भन्दै लोकतन्त्र, धर्म संस्कृति रक्षा र देशको विकासका लागि कांग्रेसलाई भोट दिनु पर्ने बताएका थिए ।

‘यस क्षेत्रको विकास निर्माणमा कांग्रेसले पहिले पनि पहल गरेको हो अब पनि गर्नेछ पहिलो कुरा अहिले फागुन २१ गतेको निर्वाचनमा कांग्रेसलाई विजय बनाउने हो तपाई त्यसमा लाग्नुहोस विकास हामीले क्रमश गर्ने छौँ’ गिरीले भने । उनले दाङ त्यसमा पनि फूलबारीमा सडक सिँचाइलगायतका योजना ल्याउन आफूले पहल गरेको भन्दै अपुरा विकास निर्माण अब जितेर गएपछि पूरा गर्ने बताए । ‘कुनै बेला पानीको अभाव हुने यो फूलबारीमा सबैभन्दा धेरै डिपबोरिङ अहिले बनेका छन् अझै यहाँ बाटो पुल पुलेसा, खानोपानी, शिक्षा स्वास्थ्यको आवश्यकता छ त्यो हामीहरूले पूरा गर्ने छौँ तपाईहरूको भोट र आर्शिवाद अहिलेको आवश्यकता हो’, गिरीले भने । उनले अहिले फूलबारी हरावरा भएजस्तै कांग्रेसलाई पनि हरावरा बनाउन लाग्न सबैलाई अपिल गरे ।

त्यस्तै नेपाली कांग्रेसका नेता एवम् पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अहिले देश जलाउने वा देश बनाउने रोज्ने बेला आएको भन्दै देश बनाउने कांग्रेस भएको भन्दै कांग्रेसलाई बलियो बनाउँदै विकासप्रेमी नेता दिपक गिरीलाई रुखमा भोट हालेर विजय गराउन सबैलाई अपिल गरे । उनले नेपाली कांग्रेसले देशमा उत्पन्न समस्यालाई जहिले पनि सही निकास दिने भन्दै अब पनि कांग्रेसले विकास निकास दिने बताए ।

‘केन्द्रमा दिपक गिरीले पहल गर्नुहुन्छ प्रदेशमा मैले गर्छु पहिलो काम निर्वाचनमा कांग्रेसलाई जिताउने हो कांग्रेसलाई विजय गराउनुहोस् यहाँका विकासका कुरा हामीहरू पूरा गर्ने छौँ’ चौधरीले भने । उनले आफू मुख्यमन्त्री हुँदा होस वा कांग्रेसका अन्य नेता सत्तामा रहँदा यस क्षेत्रको विकासमा निरन्तर लागेको भन्दै अब पनि लाग्ने बताए ।

‘तपाईहरू कहीँ कतै नझुकिनुहोस् हिजो सिंहदरबारसँगै हाम्रा घर पनि जले अब जलाउनेलाई होइन देश बनाउनेलाई जिताउनुहोस्, तपाईहरूलाई विकास हामी दिने छौँ’ चौधरीले भने । त्यस्तै नेपाली कांग्रेसका नेता शंकर गिरीले राष्ट्रियता लोकतन्त्रको रक्षा गर्दै कांग्रेसले विकास दिने भन्दै कांग्रेसलाई विजय गराउन सबैलाई अपिल गरेका थिए ।

उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई रुखमा भोट हालेर जिताएपछि विकासका काम क्रमश रूपले आफूहरूले पहल गर्ने बताए । त्यस्तै उक्त वडामा खटिएका प्रतिनिधि तथा नेता टेकबहादुर वलीले तुलसीपुर–१३ का जनताले विकासका लागि विभिन्न माग उठाएको भन्दै त्यसलाई पूरा गर्न कांग्रेसलाई विजय गराउनु पर्ने बताएका थिए ।

‘अहिले कांग्रेसलाई जसरी पनि जिताउनु पर्छ तपाईहरूका सबै माग हामीहरूले टिप्पणी गरेका छौँ पहिले निर्वाचनमा विजय गराउनुहोस् त्यसपछि विकासमा माग पूरा गर्दै जाउँला’ वलीले भने । चुनावी सभामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विमल रिजालले बिना सत्र अहिले रुखमा भोट हालेर कांग्रेसका उम्मेदवार दिपक गिरीलाई विजय गराउन आग्रह गरे ।

उनले त्यसपछि विकासका माग उठाउनु पर्ने भन्दै पहिलो काम कांग्रेसलाई विजय बनाउने भएको बताए । ‘म पनि यहीको बासी हुँ यहाँका समस्या शिक्षा स्वास्थ्य अन्य विकासका छन्, त्यो पछि पूरा हुने छन्’ रिजालले भने । त्यस्तै नेपाली कांग्रेस तुलसीपुर नगरसभापति सुरेश हमालले पश्चिम दाङको विकासमा दिपक गिरीको भूमिका धेरै भएको भन्दै यो निर्वाचनमा गिरीलाई विजय गराउन सबै लाग्नु पर्ने बताए ।

‘कांग्रेस रुपान्तरित र परिवर्तन भएर आएको छ, यो ठाउँको विकास अघिपनि कांग्रेसले गरेको थियो अब पनि कांग्रेसले गर्ने छ’ हमालले भने । उनले फूलबारीमा हरावरा गराएका गिरीलाई विजय गराएर कांग्रेसलाई पनि हरावरा गराउन माग गरे । कार्यक्रमका नेपाली कांग्रेसका नेता हरिहर पौडेलेलगायतले कांग्रेसलाई विजय बनाउन सबै लाग्नु पर्ने बताएका थिए । त्यसैबिच नेपाली कांग्रेस तुलसीपुर–६ को आयोजनामा तुलसीपुरमा चुनावीसभा भएको थियो भने वडा नं. १२ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम भएको थियो ।