गोरक्ष समाचारदाता
दाङ, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकले पार्टीप्रतिभन्दा देशप्रति निष्ठा देखाउनु पर्ने समय आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले घोराहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले देशलाई यत्तिकै छोड्ने कि बनाउने भन्ने निर्णय गर्ने समय आएकाले जनतालाई पार्टीभन्दा माथि उठ्न आग्रह गरेका हुन् ।
देशको परिवर्तनका लागि नागरिकको सहयोग आवश्यक रहेको भन्दै लामिछानेले भने, ‘अहिले पार्टीप्रतिभन्दा देशप्रति निष्ठा देखाउनु पर्ने बेला आएकाले अन्य दलका समर्थक र सदस्यले पार्टी नछाडेरै मत बदल्ने निर्णय गर्नुपर्छ ।’ जनताले क्रान्ति गर्ने निर्णय गरिसकेको बताउँदै लामिछानेले जनताको यो ऐतिहासिक निर्णय फागुन २१ पछि सार्वजनिक हुन बाँकी रहेको बताएका थिए ।
देश बनाउन यस पटक सरकार चलाउने जिम्मा आफ्नो पार्टीले लिने भन्दै लामिछानेले अन्य दललाई प्रतिपक्षमा बसेर खबरदारी गर्न आग्रह गरेका छन् । उनले आफूलाई सांसदबाट निकाल्ने यसपटक पनि चुनाव लडेकाले जनताले चिनेर सजाय दिनु पर्ने बताए ।
दुई÷दुई पटक जनताको अमूल्य मतले निर्वाचित हुँदा पनि आपूmलाई षड्यन्त्र गरी संसद्बाट निकाल्ने काम गरिएको भन्दै लामिछानेले भने, ‘संसद्बाट निकाल्यौ, अब सक्छौ भने जनताको मनबाट निकालेर देखाऊ ?’ यसैगरी लामिछानेले आपूmलाई संसद्बाट निकाल्नेदेखि पक्राउ गरेर अन्तिम इच्छा के छ भनेर सोध्ने कामसमेत गरिएको बताएका थिए ।
दाङ थारू बाहुल्य र सभ्यताको केन्द्र भएको बताउँदै लामिछानेले थारू जाति नभएर सभ्यता भएको बताए । ठुला राजनीतिक दलले ३५ वर्षसम्म थारूलाई भोटबैंक बनाएर जहाँ भन्यो त्यहीँ भोट हाल्न लगाए पनि थारू समुदायको हकहितका लागि केही काम नगरिएकाले मत परिवर्तन गर्न समेत आग्रह गरे ।
अन्य पार्टी जस्तै थारू, किसान, महिला, विद्यार्थी, युवा संघसंगठन आफ्नो पार्टीले नबनाउने बताए । सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीले कुनै पार्टीको झण्डा जलाउनेलगायतका अराजक गतिविधि गर्ने नीति नलिएको बताए । कसैले जलाएको भए कारबाही हुने भन्दै उनले भने, ‘कसैको झण्डा जलाउने पार्टीको नीति छैन । कसैले जलाएको भए कारबाही गर्छौँ तर आफैँ घुसपैठ गरेर ‘काँक्रा चोरेर बियाँ खाने’ प्रवृत्ति पनि रहेकाले यसप्रति सकर्त रहनुपर्छ ।’
सभालाई सम्बोधन गर्दै रास्वपाका सहमहामन्त्री एवम् दाङ क्षेत्र नं. २ का उम्मेदवार विपिनकुमार आचार्यले दाङको विकाससँगै सुशासन र भ्रष्टाचारमुक्त देश बनाउन आपूmलाई विजयी गराउन आग्रह गरे । देशमा परिवर्तन आवश्यक रहेको र त्यस परिवर्तन जनताले २१ गतेको निर्वाचनमा देखाउन आग्रह गरेका थिए । आपूmहरू राम्रो काम गर्नका लागि निर्वाचनमा आएको भन्दै राम्रो काम गर्न नसके अर्काे पटक जनतालाई खबरदारी गर्न समेत आग्रह गरे ।
दाङ क्षेत्र नं. १ का उम्मेदवार देवराज पाठकले फागुन २१ लाई भविष्य निर्माण गर्ने महत्वपूर्ण दिनको सङ्ज्ञा दिँदै सचेत र विवेकपूर्ण मतदान गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । जनताको पक्षमा काम गर्ने शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी भएको भन्दै उनले निर्वाचनमा आपूmलाई समर्थन गर्न मतदातासँग आग्रह गरेका थिए । दाङ क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले आधारभूत सेवा सुदृढ गर्दै क्षेत्रलाई ‘क्लिन स्वीप’ गर्ने लक्ष्यसहित मतदान गर्न आग्रह गरे । उनले सुशासन स्थापना, व्यथितिको अन्त्य र प्रभावकारी सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताएका थिए ।