Goraksha

National Daily

गिरीमाथि गरिएको अवरोधप्रति, कांग्रेस दाङको ध्यानाकर्षण

गोरक्ष समाचारदाता
दाङ, ९ फागुन । चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीमाथि अवरोध गरेको घटनाप्रति नेपाली कांग्रेस दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहिबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा तुलसीपुर बजार क्षेत्रमा जम्मा भएका रास्वपाका कार्यकर्ताको भिडले गिरी सवार सवारीसाधन रोकी हुलहुज्जत गर्न खोजेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको आफ्नो चुनावी अभियानलाई बिथोल्न विभिन्न शक्ति सक्रिय भएको आरोप लगाउँदै एक पार्टीका समर्थकले अर्को पार्टीका उम्मेदवारमाथि गर्ने यस्ता गतिविधि लोकतान्त्रिक विधिविपरीत भएको उल्लेख गरेको छ । पार्टीले लोकतन्त्रविरोधी, अराजक गतिविधि रोक्न आममतदातासँग अपिल गरेको छ ।

निर्वाचन आचारसंहिता अनुसार तोकिएको समय र स्थानमा शान्तिपूर्वक चुनावी अभियान सञ्चालन गर्न सबै दललाई अनुरोध गर्दै कांग्रेसले निर्वाचन बिथोल्ने गरी आचारसंहिता उल्लङ्घन गर्ने तथा उम्मेदवारमाथि अवरोध गर्ने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । उक्त दिन नै तुलसीपुरमा रास्वपाका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झन्डा जलाएको घटनाप्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

शान्तिपूर्ण निर्वाचन अभियानका क्रममा हुने यस्ता अराजक गतिविधि लोकतन्त्रमा असह्य हुने उल्लेख गर्दै नेपाली कांग्रेस दाङले सहअस्तित्व र आपसी सम्मान कायम राख्न सबै राजनीतिक दल र समर्थकलाई अपिल गरेको छ ।