Goraksha

National Daily

यस्तो छ दाङको चुनावी सुरक्षा व्यवस्था

खेमराज रिजाल
दाङ, ९ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान मिति आउन अब १२ दिन मात्रै बाँकी रहँदा दिनहुजसो सुरक्षा समितिका बैठक बसिरहेका छन् । जिल्लामा रहेका एक सय ५९ मतदान केन्द्रमा मतदान स्थलमा सेना, नेपाल प्रहरी, अनुसन्धान, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र निर्वाचन प्रहरी गरी कम्तीमा पाँच हजार पाँच सय ११ जना सुरक्षाकर्मी चुनावी सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनमा सुरक्षाकर्मी परिचालनकै क्रममा यस अघि सशस्त्र प्रहरीले सुरक्षा जिम्मा लिएको कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ कार्यरत सशस्त्र प्रहरीलाई चुनावी सुरक्षामा परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताएका छन् । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि जिल्लाभर व्यवस्थापन गरिएका एक सय ५९ मतदान केन्द्रमा भिन्न भिन्न सुरक्षा विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिने तयारी रहेको सुरक्षा समितिले जनाएको छ ।

‘हामीले मतदान स्थलको अवस्था मूल्याङ्कन गरी तीन तहमा सुरक्षा वर्गीकरण गरेका छौँ, मतदान स्थलमा १६ वटा मतदान केन्द्र सुरक्षाको दृष्टिले अतिसंवेदनशिल, एक सय ३४ मतदान स्थल संवेदनशील र ९ मतदान केन्द्रलाइ सामान्य रहेको मूल्याङ्कन गरिएको छ’, जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अर्यालले भने । समय परिस्थिति र आवश्यकता अनुसार सुरक्षाकर्मीको परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

निर्वाचन प्रहरीलाई आवश्यकता अनुसारको तालिम दिएर शुक्रवारदेखि फिल्डमा परिचालन गरिएको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार निर्वाचन सुरक्षामा परिचालन गर्न घोराही कारागारमा कार्यरत ३५ जना सशस्त्र प्रहरी, तुलसीपुर कारागारबाट ३८ जना सशस्त्र प्रहरी तथा टरिगाउँ विमानस्थलको सुरक्षामा खटिएका ११ जना नेपाल प्रहरीलाई निकालेर निर्वाचन सुरक्षामा परिचालन गरिएको छ । ती तीन वटै क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । अहिले घोराही कारागार सशस्त्र सुरक्षा बल कर्मचारी मिलन केन्द्रमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ ।

निर्वाचन लक्षित सुरक्षाका लागि नेपाली सेनाका सात सय दुई जना, नेपाल प्रहरी एक हजार तीन सय ७१, सशस्त्र प्रहरी सात सय तीन जना र सशस्त्र प्रहरी निर्वाचन प्रहरीतर्फ तीन सय तीन र निर्वाचन प्रहरीतर्फ दुई हजार चार सय नौ जना सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । नेपाली सेनाले मतदानस्थल तथा मतपेटिकाको सुरक्षा दिनेछ भने निर्वाचनको सुरक्षाका अन्य घेरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालित हुने बताइएको छ ।