आचारसंहिता पालना गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आग्रह
गोरक्ष समाचारदाता
दाङ, ९ फागुन । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउन नागरिक समाज दाङले सरोकारवाला सबैलाई आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ । नागरिक समाज दाङले शुक्रवार प्रेस विज्ञप्ति जारी गरेर सबै दल तथा समर्थकहरूलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गेको हो ।
नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा आममतदाताको भूमिकालाई विशेष महत्व दिँदै निर्वाचन प्रक्रियालाई विश्वसनीय र मर्यादित बनाउन अपिल गरेको हो । विज्ञप्तिमा निर्वाचन आयोगले पाँच दर्जन बढी बुँदामा निर्वाचन आचारसंहिता जारी गरिसकेको र मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गरिएको छ । निर्वाचन आयोगसँग सहकार्य गर्दै नेपाल कानुन समाज बुटवल, बेस संस्था, शान्ति समाज तथा नागरिक संवाद समूह तुलसीपुरलगायतका संस्थाले आचारसंहिताको प्रभावकारी कार्यान्वयन र नागरिक समाजको भूमिकाबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
कार्यक्रममार्फत् निर्वाचनलाई निष्पक्ष र धाँधलिरहित बनाउन सरोकारवालालाई सचेत गराउने प्रयास भइरहेको नागरिक समाजले जनाएको छ । विज्ञप्तिमा राजनीतिक तरलता कायम रहेको अवस्थामा लोकतान्त्रिक मुलुकमा निर्वाचन नै प्रमुख निकास हुने उल्लेख गर्दै सार्वभौमसत्ता सम्पन्न मतदाताले राष्ट्रिय स्वाभिमानको संरक्षण गर्दै देशलाई निकास दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिइएको छ । प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले एकअर्काप्रति मर्यादित व्यवहार प्रस्तुत गर्न आग्रह गरिएको छ ।
नागरिक समाज दाङले विगतका अनुभवको समीक्षा गर्दै निर्भयपूर्वक मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेको छ । मतदाताको सुरक्षाको सुनिश्चितता सरकारको दायित्व भएको उल्लेख गर्दै सुरक्षा निकायलाई संवेदनशील रहन र राजनीतिक दलहरूलाई नागरिक सुरक्षाप्रति अझ जिम्मेवार बन्न आग्रह गरिएको छ । समाजका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा आचारसंहिताको पूर्णपालना गर्दै आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलिरहित र मर्यादित ढङ्गले सम्पन्न गराई देशलाई निकास दिन आग्रह गरिएको छ ।
