रोल्पाका अधिकांश स्थानीय तहको नतिजामा सुधार
भरत विश्वकर्मा
रोल्पा, ९ फागुन । कार्यसम्पादनमा रोल्पाका अधिकांश स्थानीय तहको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार रोल्पाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहको नतिजा धनात्मक देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादनमा रोल्पाका स्थानीय तहमध्ये सुनिलस्मृति गाउँपालिका उत्कृष्ट भएको छ, भने थबाङ गाउँपालिका पुछारमा परेको छ ।
रोल्पामा एक नगरपालिका र नौ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ को तुलनामा जिल्लाको सुनिलस्मृति, गंगादेव, परिवर्तन, सुनछहरी, लुङ्ग्री, माडी, त्रिवेणी र रुन्टीगढी गाउँपालिकाको नतिजामा सुधार देखिएको छ भने रोल्पा नगरपालिका र थबाङ गाउँपालिकाको नतिजा ऋणात्मक देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८१÷०८२ मा सुनिलस्मृति गाउँपालिकाले ७२ दशमलव ५७ अङ्कसहित प्रथम भएको छ, भने अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ मा ६६ दशमलव ३ अङ्कसहित दोस्रो भएको छ । सुनिलस्मृति गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा अङ्क पनि बढेको छ । गंगादेव गाउँपालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा ७२ दशमलव तीन अङ्क प्राप्त गर्दै जिल्लामा दोस्रो स्थानमा आएको छ अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ मा ६० दशमलव चार अङ्कसहित जिल्लामा पाँचौँ स्थानमा सिमित रहेको थियो ।
सो गाउँपालिकाको अघिल्लो वर्षको तुलनामा अङ्क पनि बढेको छ । परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष ०८१÷८२ मा ६८ दशमलव ८८ अङ्कसहित तेस्रो स्थानमा आएको छ भने अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा ६८ दशमलव ५ अङ्कसहित प्रथम भएको थियो ।
सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष ०८१÷८२ मा ६७ दशमलव ८७ अङ्क प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ५६ दशमलव तीन अङ्क प्राप्त गरेको थियो । लुङ्ग्री गाउँपालिकाले आर्थिक वर्ष ०८१÷८२ मा ६६ दशमलव २३ अङ्क प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ मा ६४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
माडी गाउँपालिकाले आर्थिक वर्ष ०८१÷८२ मा ६३ दशमलव २३ अङ्क प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ५२ दशमलव चार अङ्क प्राप्त गरेको थियो । त्रिवेणी गाउँपालिका आर्थिक वर्ष ०८१÷८२ मा ६१ दशमलव ९३ अङ्क प्राप्त गरेको छ, भने अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा ५६ दशमलव ८ अङ्क प्राप्त गरेको थियो ।
रोल्पा नगरपालिका आर्थिक वर्ष ०८१÷८२ मा ५८ दशमलव ७८ अङ्क प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०८०÷०८१ मा ६२ दशमलव आठ अङ्कसहित चौथो स्थानमा रहेको छ । रुन्टीगढी गाउँपालिका आर्थिक वर्ष ०८१÷८२ मा ५५ दशमलव १३ अङ्क प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ५० दशमलव पाँच अङ्क प्राप्त गरेको थियो ।
थबाङ गाउँपालिका आर्थिक वर्ष ०८१÷८२ मा ४९ दशमलव २३ अङ्क प्राप्त गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा ५९ दशमलव २ अङ्क प्राप्त गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर स्थानीय तहहरूको मूल्याङ्कन गर्ने गर्दछ । जस अन्तर्गत गाउँ कार्यपालिका÷नगर कार्यपालिकाले ०८२ असार १० गतेभित्र आर्थिक वर्ष ०८२÷०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा नगरसभामा पेस गरे÷नगरेको, गाउँकार्यपालिका÷नगरकार्यपालिकाले आर्थिक वर्ष ०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभाबाट ०८१ असार मसान्तभित्र पारित गरे÷नगरेको, स्थानीय तहले आर्थिक वर्ष ०८१ मा घरजग्गा रजिस्टेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे÷नगरेकोले आधार मान्ने गर्दछ ।
स्थानीय तहले आव ०८२÷०८३ को आय, व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण ०८१ पुस मसान्तभित्र मन्त्रालयमा पेस गरे÷नगरेको, स्थानीय तहले आर्थिक वर्ष ०८०÷८१ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०८१ कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, आर्थिक वर्ष ०८०÷०८१ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, अर्थात् राजस्व सङ्कलन, आर्थिक वर्ष ०७९÷०८० को राजश्व सङ्कलन, आर्थिक वर्ष ०८०÷०८१ मा कुल विनियोजित रकम, कुल खर्च रकम, कुल पुँजीगत विनियोजित रकम, कुल पुँजीगत खर्च रकमको आधारमा मूल्याङ्कन गरेको छ ।
यसैगरी आर्थिक वर्ष ०७९÷०८० को कुल लेखापरीक्षण भएको रकम र सो आर्थिक वर्षमा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र ०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, शैक्षिक सत्र ०८० मा कक्षा ८ मा रहेको विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र ०८१ मा कक्षा ९ मा रहेको विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र ०८० मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी सङ्ख्या र शैक्षिक सत्र ०८० मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा कम्तीमा ‘डी’ वा सोभन्दा उच्च ग्रेडसहित उत्तीर्ण विद्यार्थी सङ्ख्या, आर्थिक वर्ष ०८०÷०८१ मा अनुमानित गर्भवती महिला सङ्ख्या र सोही अवधिमा चार पटक गर्भजाँच गर्ने महिलाको सङ्ख्या, आर्थिक वर्ष ०८०÷०८१ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या, आर्थिक वर्ष ०८०÷०८१ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या र सोही अवधिमा पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्या, आयोगले तयार पारेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्ट गरे÷नगरेको विषयवस्तुलाई आधार मानेर आयोगले स्थानीय तहको मूल्याङ्कन गर्ने गर्छ ।
