Goraksha

National Daily

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

दाङ, ८ फागुन । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित बीरेन्द्र चोकमा विहीवार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वागतका क्रममा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रवार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७, कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिएका छन् । पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सुर्खेतबाट हापुरे हुँदै दाङ आउने क्रममा विहीवार साँझ तुलसीपुरको बिपी चोकमा एमालेको चुनाव चिन्ह अंकित झण्डा चलाउनका साथै नारावाजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङले राजनीतिक कार्यक्रमका नाममा हुने उच्छृंखल तथा उत्तेजनात्मक गतिविधिले सामाजिक सद्भाव र शान्ति–सुरक्षामा असर पार्ने भन्दै यस्ता कार्य नगर्न सबैलाई सचेत गराएको छ । साथै, सम्बन्धित पक्षहरूलाई संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ ।