जेसीजको ककस : समृद्धि, विकास र सुशासनका एजेन्डामा छलफल
बालाराम खड्का
तुलसीपुर, ८ फागुन । तुलसीपुर नगर जेसीजले दाङ क्षेत्र नम्बर. ३ का प्रतिनिधि सभाका उम्मेदवारलाई सँगै राखेर ककस गरेको छ । धुल्याम्मे अरनीको मैदानमा भएको कार्यक्रममा सहभागी सबै उम्मेदवारले देश, जिल्लाको समृद्धि, विकास, सुशासन र राष्ट्र र राष्ट्रिय एजेन्डा बोकेर निर्वाचनमा होमिएको बताएका छन् । सबैजसो उम्मेदवारले जनमैत्री कानुन, विकास, समृद्धि, शिक्षा, स्वास्थ्यका साथै रोजगारीका लागि आफूहरूले जितेर गएपछि ससंद्मा पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
ककस कार्यक्रममा बोल्दै दाङ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले राष्ट्रियता, प्रजातन्त्र, धर्म, संस्कृति, युवा स्वरोजगारदेखि विभिन्न कानुन निर्माणका लागि आफूले ससंद्मा भूमिका खेल्ने बताए । गिरीले राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रूपमा विकास गदै अन्य स्वास्थ्य संस्थाको विकासमा पहल गर्ने बताए । राप्ती बबई क्याम्पस स्थापनाका लागि आफूले गरेको मेहनत र अहिले राप्ती बबई क्याम्पसले पश्चिम दाङमा शैक्षिक विकास र गुणस्तर वृद्धिमा खेलिरहेको भूमिकाको स्मरण गराउँदै उक्त क्याम्पसलाई प्रविधिमैत्री विश्वविद्यालयका रूपमा विकास गर्ने उद्घोषसमेत गरे ।
गिरीले किसानका उत्पादनको भण्डारणका लागि कोल्डस्टोर (शीत भण्डार)को अपरिहार्यता औल्याउँदै त्यसका लागि काम गर्ने उनको प्रतिबद्धता छ । उनले आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै आफ्नो उम्मेदवारीको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए । गिरीले युवा जोशका साथ दाङ बनाउने आफ्नो हुटहुटीलाई फेरि साथ दिन आह्वान गरे । गिरीले भने ‘जुन जुन बेला पार्टीले मेरो आवश्यकता ठानेको छ, त्यति त्यतिबेला मलाई उम्मेदवार बनाएर खटाएको छ, म जनतालाई जनार्दन मानेर काम गर्दछु, मेरो उत्साह र जाँगर अहिले पनि उस्तै छ ।’
यसैगरी नेकपा एमाले प्रतिनिधि सभा सदस्य दाङ क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम पाण्डेले राष्ट्रियता, लोकतन्त्र रक्षाका साथै सुशासन र जनपक्षीय कानुन निर्माणमा आफ्नो भूमिका हुने बताए । सुशासन तथा जनअधिकारको लागि जनपक्षीय कानुन निर्माण पहिलो प्राथमिकता रहेको बताएका थिए । उनले मुलुकमा अर्थतन्त्रमा परेको असरलाई माथि उकास्ने र व्यवसायी प्रबर्धन गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए । उनले उद्यमशीलताको विकास, युवा रोजगार, पर्यटन क्षेत्रको विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
निर्धारित समयभित्र आफ्ना योजना राख्ने क्रममा उनले दाङ जिल्लालाई राजनीतिक अभ्यासको प्रयोगशाला मात्रै नभई अर्थतन्त्र सुदृढीकरणको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको समेत बताएका थिए । सहभागीले सोधेको प्रश्नमा पाण्डेले मेयर हुँदा आफूले लिएको एजेन्डा तुलसीपुरलाई स्मार्ट सिटी बनाउने जितेर गएपछि पूरा हुने बताए । पाण्डेले जितेर गएपछि आफूले उठाएका सबै एजेण्डा पूरा गर्ने बताए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नं. ३ का उम्मेदवार दामोदर भण्डारीले राष्ट्रियता, धर्म, संस्कृति अहिले सङ्कटमा परेकाले त्यसलाई रक्षाका लागि आफूहरू लागेको सुनाए । भण्डारीले देशमा कुशासन रहेकाले सुशासन कायम गर्नेदेखि राजनीतिक बेथितिलाई सुधार गर्न आफूहरू लाग्ने बताए । उनले राजसंस्था हिन्दु सर्वधर्म सापेक्ष आफूहरूको एजेन्डा भएको भन्दै आफूहरूले जिते देशको मूल फोहरलाई सफा गर्ने बताए । ककस कार्यक्रममा मङ्गोल नेसनल अर्गनाइजेसन दाङ क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम चौधरीले देशमा देखिएको व्यथितिलाई आफूहरूले हल गर्ने भन्दै देशको विकासका लागि आफूले जितेर गए पहल गर्ने बताए । यसैगरी श्रमसंस्कृति पार्टी दाङ क्षेत्र नं. ३ का उम्मेदवार टोपबहादुर महताराले देश विकास र श्रम संस्कृतिको विकास लागि आफूहरूले विभिन्न एजेन्डा अगाडि सारेको बताए । उनले आफूहरूले जितेर गएपछि जनतालाई दुई दिन श्रममा लगाएर यो देशको आमूल परिवर्तन गर्ने उद्घोष गरे ।
ककसमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका दाङ क्षेत्र नं. ३ का उम्मेदवार बलबहादुर वली शीतलले अहिले देश अप्ठ्यारो परिस्थितिमा पुगको बताए । उनले देशमा व्यथिति भ्रष्टाचार बढेको बताउँदै आफूहरूले व्यथिति अन्त्य गर्ने र जितेर गएपछि अग्राधिकारसहित संविधानको पुनर्लेखन, भ्रष्टाचारीका सम्पत्ति शुद्धीकरणदेखि अन्य जनजीविकाको पक्षमा काम गर्ने बताए । वलीले किसानलाई सहज मल, बिउदेखि अन्य कुरामा सहजीकरण गर्ने घोषणा गरेका थिए ।
यसैगरी दाङ क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेतले राष्ट्र, राष्ट्रियताको रक्षाका साथै राम्रो नीति, विधि बनाउने बताए । उनले आफूले जितेर गएपछि जनताको भावना अनुसार काम गर्ने बताए । ककस कार्यक्रममा नागरिक उनमुक्ति पार्टी दाङ क्षेत्र नं. ३ का उम्मेदवार महेश चौधरीले समृद्धि, पहिचान र सुशासनका लागि आफूहरू चुनावी मैदानमा आएको भन्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रसाद शर्मा र महासचिव झगुप्रसाद सापकोटाले गरेका थिए ।
