Goraksha

National Daily

घोराहीमा विकास र समृद्धिको चर्चा

अमरराज आचार्य
दाङ, ८ फागुन । त्रिभुवननगर जेसीज र दाङ महिला जेसीजले दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसँग घोराहीमा ‘ककस’ (संवाद कार्यक्रम) सम्पन्न गरेको छ । आसन्न फागनु २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरेको हो ।

ककस कार्यक्रममा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र सांस्कृतिक पहिचानका मुद्दामा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपाली कम्युनिन्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले दाङको दीर्घकालीन तथा योजनाबद्ध विकासका लागि ‘दाङ उपत्यका विकास प्राधिकरण’ गठन गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको समग्र विकासलाई संस्थागत ढाँचामा अघि बढाउन अधिकार सम्पन्न प्राधिकरण आवश्यक रहेको उनको तर्क थियो ।

वैज्ञानिक सहरी योजना, ढल निकाससहित धुलो मुक्त सडक सञ्जाल, वातावरणमैत्री पूर्वाधार निर्माण र व्यवस्थित भूउपयोग नीतिमा आफू केन्द्रित हुने उनले बताए । आचार्यले कृषिमा आधारित रोजगारी सिर्जना, उत्पादनको सामथ्र्य अनुसार मूल्य निर्धारण, भूमिसम्बन्धी समस्या समाधान, गुठी व्यवस्थापन तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्ने उल्लेख गरे । साथै थारू समुदायको संस्कृति संरक्षण र कानुनी मान्यता विस्तार तथा मगर संस्कृतिको प्रवर्धनमा विशेष पहल गर्ने उनको प्रतिबद्धता थियो । खेलकुद पूर्वाधार निर्माण र संविधानमा उल्लिखित अधिकारको प्रभावकारी कार्यान्वयनमा आफू जनताको सेवकका रूपमा उभिने उनले दाबी गरे ।

यसैगरी राष्ट्रिय जनमोर्चाका उम्मेदवार मनिराम खनालले राष्ट्रिय अखण्डता आफ्नो मुख्य एजेन्डा भएको स्पष्ट पारे । सङ्घीय संरचना खारेज गर्नु पर्ने धारणा राख्दै उनले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउनु पर्ने बताए । रोजगारीको ग्यारेन्टी र समाजवादी व्यवस्था स्थापना आफ्नो प्राथमिक लक्ष्य रहेको उनको भनाइ थियो । स्वतन्त्र उम्मेदवार प्रमोद धितालले व्यक्तिवादविरुद्ध आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताए । श्रमजीवी वर्गका मुद्दा उठाउने, सामाजिक न्याय र मानव विकासलाई प्राथमिकतामा राख्ने तथा मौलिक हक कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता थियो ।

अर्का स्वतन्त्र उम्मेदवार समीर वलीले कानुन निर्माणलाई परिणाममुखी बनाउने अठोट व्यक्त गरे । खेलकुदको व्यावसायीकरण र पूर्वाधार विकास, सुशासन प्रवर्धन, स्वास्थ्य सेवालाई नागरिकको अधिकारका रूपमा स्थापित गर्ने, युवालाई रोजगारी, शिक्षा र सिप विकासमार्फत् उद्यमशील बनाउने योजना उनले प्रस्तुत गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले उम्मेदवारलाई आफ्नो क्षेत्राधिकार स्पष्ट बुझेर मात्र प्रतिबद्धता जनाउन आग्रह गरे ।

कार्यान्वयन गर्न नसकिने आश्वासनले नागरिकलाई भ्रमित पार्ने भएकाले जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उनले बताए । ‘आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर गरिने वाचा जनतालाई झुक्याउने कार्य हो’, उनले भने । कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक बुद्धिप्रकाश शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल जेसीजका उपाध्यक्ष सन्दीप भुसाल र त्रिभुवननगर जेसीजका महासचिव बाबुराम पाण्डेले गरेका थिए ।