नारायणप्रसाद श्रेष्ठ
नेपाल र नेपालीको भविष्य निर्माण गर्नका लागि प्रतिनिधि छनौट गर्ने कार्य प्रारम्भ भइसक्यो । निर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि २०८२ फाल्गुन २१ गते मतदान हुँदैछ । फाल्गुन ४ गतेदेखि उम्मेदवारहरु चुनाव प्रचारप्रसारको लागि घरदैलो अभियानमा जुटिसकेका छन् । कतिपयले ¥याली समेत सुरु गर्दै हुनुहुन्छ । मतदाताको मन आफूतिर आकर्शित गर्न विभिन्न वाचा गर्दै तछाडमछाड गर्दै गरेको अवस्था पनि देखिन्छ । कहीँ कतै भने एक अर्कालाई हिलो छ्याप्ने कार्यहरु पनि भए गरेको सुनिँदै छ ।
राजनैतिक संस्कार क्षणिक स्वार्थतिर जान लागेको त होइन, यस्तो पनि देखिँदै छ । तसर्थ जनताको विश्वास लिन एक अर्कालाई हिलो छ्याप्ने होइन आफूलाई इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्ताको रुपमा पहिचान दिनु अहिलेको आवश्यक हामीले ठानेका छाँै । अहिले सबै नागरिक सचेत भइसक्नु भएको छ । यस अवस्थामा झुट्ठा आस्वासन र खोक्रो विचारले मतदाताको मन जित्न सकिँदैन । तसर्थ नेता, नेतृत्वकर्ता सबै सचेत भएर निर्वाचनमा जुट्न, जुटाउन हामी सबैमा अनुरोध बिसाउँछौ । .
नेपालको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने यहाँ धेरै राजनीतिक उथुलपुथुल र दुर्घटना भएको पाइन्छ । जसले जस्तो कर्म गर्छ त्यस्तै त्यस्तै प्रतिफल प्राप्त गर्छ भन्ने यथार्थता इतिहासले दर्शाइसकेको छ । पानीलाई जस्तो भाडोमा राखिन्छ त्यही आकार लिन्छ । त्यसरी नै राजनीतिक विषय पनि जुन किसिमले व्याख्या र विश्लेषण गरिन्छ त्यही व्याख्या र चरित्रभित्र यो विषय अगाडि बढेको हुन्छ । जसले जड तत्वको विषयमा मात्र जान्दछ, वास्तवमा ऊ अज्ञानी र स्वार्थी मानिन्छ र जो व्यक्ति चेतनाको बारेमा मात्र जान्दछ, ऊ केवल ज्ञानी मात्र कहलाउँछ ।
तसर्थ जड तत्व र चेतनशक्ति जब दुवैको उपादेयताबारे मानिसले जान्दछ । तब नै उ महान बन्न सक्छ । त्यसैले वर्तमानमा देखिएको राजनीतिक संस्कारले देखाउन खोजेको राजनीतिक विचलन र अनिश्चिततालाई हटाई इमान्दार र कर्तव्य निष्ठ भई आगामी पुस्ताको लागि मार्गनिर्देशक बन्न सक्ने आदर्शता प्रत्येक नेता र नेतृत्वमा हुन जरुरी छ ।
वर्तमानमा देखिएको राजनीतिक धुर्वीकरणले अस्वस्थ राजनीतिक प्रतिस्पर्धा उन्मुख भएको देखिन्छ। नेतृत्वहरु केवल आफ्नो स्वार्थतिर मात्र केन्द्रित भएको अवस्था देखिन्छ । लचकता र रुपान्तरण जस्ता शब्दहरु आत्मसमर्पण गराउने तर्फ केन्द्रित भई शब्दजालको रुपमा प्रयोग भएको देखिन्छ । झुटा आश्वासनको भारी बिसाउँदै जन अभिमत लिने कार्यहरु अहिले देखिँदै छ ।
विश्वासको संकटले जनता र नेताप्रतिको विचारमा फरक अनुभूति भइरहेको अवस्था छ । तसर्थ भन्नै पर्ने हुन्छ अरुलाई विश्वास गर्न नसक्ने राजनीतिक चरित्रले आफूलाई विश्वास गर भन्नु कति उपयुक्त होला ? राजनीतिक नाटक जनमत विपरित हुनु के सुहाउने विषय होला र ? यदि यस्तै रवैयाले जनताको मन र मतलाई भुलभुलैयामा पार्दै जाने र नेतृत्व र नेताको कर्म र कार्यमा नयाँ पुस्ताको लागि मार्गनिर्देशक बन्न नसक्ने परिबेश जन्माउने हो भने नेपाल र नेपालीको पहिचान र अस्तित्व कसरी जोगिन सक्ला ?
सिर्जनाले रोजेको संगीत चरित्र नभई, संगीतले रोजेको सिर्जना भन्दै उल्टो बाटो राजनीतिक गन्तव्य हुनु कति जायज ? अमुक पार्टीको असहमतिले जन अभिमतको कदर भएन भनी अरुलाई दोष दिई हिँड्ने संस्कृति र संस्कार बस्यो भने हाम्रो राजनैतिक संस्कार कतातिर मोडिने हो ? नेता र नेतृत्वको आचरणमा आघात पुग्नेगरी लालछना लगाउने संस्कृतिको परिवेश बन्यो भने के राजनीतिकले सफल बाटो लिन सक्ला? यसले भावी सन्ततिलाई कस्तो प्रभाव पार्न सक्छ ? दलगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ सर्वोपरि हुन्छ भन्ने पाठ सिकाउन नेतृत्वकर्तालाई कसले छेकेको छ ?
हाम्रा पुर्खाले सजाएको वीरता र राजनीतिक संस्कारलाई के वर्तमानले भुलेकै हो ? नाच्न नजान्ने आँगन टेढो भनेझैँ आफूले पूरा गर्नु पर्ने दायित्व पूरा नगर्ने, जनता अल्मल्याउने चरित्र प्रदर्शन गर्दै जाने, विदेशी ईशारामा आफूलाई सक्षम देखाउँदै हिँड्ने के नेपालको माटो सुहाउँदो राजनीतिक चरित्र हो ?
तसर्थ विभिन्न तर्क र कुतर्क बढाउनुभन्दा राज्यले खोजेको शान्ति र समृद्धिको बाटोमा गतिशील बनाउने राजनीतिक संस्कारको विकास गर्नु अहिलेको महत्वपूर्ण विषय मानिन्छ । विश्वास र नैतिकताको संकट मडारिरहेको यस अवस्थामा आफूले आफैलाई हिलो छ्याप्ने कार्यको अन्त गरी राष्ट्रिय स्वाधीनता र नेपाली चाहना अनुकूल राजनीतिक संस्कारको विकास गर्न अब हामी सबै जुट्नु परेको छ ।
नेपाल र नेपाली चरित्र लाई आदर्श गन्तव्य निर्धारण गरी नेपाली माटो सुहाउँदो राजनैतिक चरित्र अहिलेको आवश्यकता हो । नेपाली मन स्वच्छ र पवित्र छ । उनीहरु चाहन्छन सुशासन र शान्ति । निर्वाचन प्रक्रिया राष्ट्रिय राजनीतिलाई सही गन्तव्यमा परिचालन गर्ने एउटा सशक्त माध्यम हो । नेपाल र नेपाली मनलाई शान्ति र व्यवस्थित गर्दै सम्वृद्धि नेपाल सुखी नेपाली बनाउने तथा निर्धारण गर्ने माध्यम पनि हो । तसर्थ यसलाई व्यवस्थित र नीति नियम र नैतिकताको धरातलमा रहेर प्रत्येकले अनुशरण गर्नु अहिलेको जिम्मेवारी पनि हो ।
तसर्थ मानव अन्तर निहित दिव्यताकोबोध गरी गराइ सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक सशकता ल्याई सत्य तथा यथार्थ परक राजनैतिक संस्कारको विकास गर्नु यो समयको माग हो । दया र मायामा होइन व्यवहारबाट प्रमाणित गरी एक्काइसौँ शताब्दीको अपेक्षा पूरा गर्दै मूल्य र मान्यतालाई सार्थकता दिनु राजनीतिक चरित्रको उत्कृष्टता हो । वर्तमान अवस्थामा देखिएको विकृति र विसंगतिलाई चिर्दै असल संस्कृति परम्परा र नीति रितीथिति कायम गराउनु सबैको जिम्मेवारी हो ।
तथ्यपक असल संस्कार राष्ट्रिय विकासको बलियो आधार पनि हो । राष्ट्रलाई कुन दिशातर्फ उन्मुख गराउने तथा प्रत्येक नेपाली नागरिकको अभिमतलाई राष्ट्रिय चिन्तनको विषय कसरी बनाउने हो यो राजनीतिक नेतृत्वकर्ताको लागि गहन जिम्मेवारी र दायित्व पनि हो । नेपालीको गौरवमय इतिहासलाई हिजो जसरी विश्व सामु चिनारी दिइएको थियो ।
शान्ति र इमान्दारिता झल्काइएको थियो, त्यही सुसभ्य समाज, शान्ति र सम्वृद्धि समाज नेपालको चाहना, प्रत्येक नेपालीको चाहना पनि हो । तसर्थ राजनीतिलाई निहित स्वार्थ र अहंकारमा परिभार्षित नगरी राष्ट्रिय विकासको मूल आधार भनेको स्वच्छ र समुन्नत समाजको मान्यतालाई सिरोधारी गर्दै नेता र नेतृत्वहरु अहिलेको निर्वाचनमा सरिक हुन र जनताको अभिमतलाई सही सदुपयोग गराउनेतर्फ उन्मुख हुन अहिलेको आवश्यकता मानिन्छ ।
सञ्चार क्षेत्रमा देखिएको भौतिक विकास र त्यसले सिर्जना गरेको विश्व मानचित्रले अहिले क्षणिक समय भित्र अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटना र त्यसले ल्याउने राजनीतिक तरंगले विश्वमा प्रभाव पारिरहेको अवस्था छ । सबै सचेत नागरिकले विश्वको राजनीतिक परिदृश्यलाई नजिकबाट हेर्ने वातावरण पनि बनिसकेको छ । यस्तो अवस्थामा धरतीको एक मुठी माटो समाई, राष्ट्रिय चिन्तनमा राजनीति शुद्धता हुनु आवश्यकता मानिन्छ ।
तसर्थ मानवीय मूल्य र मान्यताको पहिचानसँगै नेपाल र नेपालीको सपनालाई सकारात्मक तथा भावनात्मक हिसाबले नयाँ आयाम थाप्दै नयाँ नेपालको खाका कोर्न, सुशासन र भ्रष्टाचार मुक्त समाजको स्थापना गर्न, नयाँ चिन्तनका साथ कर्तव्य परायण हुनु, अहिलेको आवश्यकता मानिन्छ । प्रत्येक राजनीतिक व्यक्तित्वले प्रथमतह आफूले आफैंलाई र आफ्नो अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्दछ । राष्ट्रिय राजनीतिमा मेरो जिम्मेवारी के हो ? म र मैले कस्तो दायित्व निर्वाह गर्नुपर्छ ? राष्ट्रले कुन किसिमको राजनीति विकास चाहेको छ, त्यसको गहिरेर अध्ययन मनन गरी त्याग र समर्पणमा आधारित राजनीतिक परिदृश्य वर्तमानले खोजिरहेको छ ।
विचारमा शुद्धता कर्ममा नैतिकता शासनमा, सुशासन तथा शान्ति, प्रत्येक नेपालीको चाहना भएकोले बढ्दै गरेको राजनीतिक ध्रुवीकरणले ल्याउने परिणामको मूल्याङ्कन गरी सगुन साकार चिन्तन गर्नु, अहिलेको आवश्यकता हो । पानी माथी ओभानो बन्ने मानसिकता हटाइ विश्वास र नैतिकतामा आधारित चरित्र अहिलेको वर्तमानले खोजिरहेको छ । चेतना भया ।