गोरक्ष समाचारदाता
तुलसीपुर, ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ स्थापना दिवसको अवसरमा तुलसीपुरमा निर्वाचन आचारसंहितामा सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रासस तुलसीपुर दाङ लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागीले राज्यको आधिकारिक सञ्चार निकाय रासस भएको भन्दै विश्वनीय, निष्पक्ष सामाचार प्रशारण प्रकाशन राससले गर्ने गरेको भन्दै यसलाई अझै विश्वनीय बनाउनुपर्ने बताए ।
रासस दाङ जिल्ला शाखा प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सुरक्षा निकायले आवश्यक तयारी पूरा गरिसकेको जानकारी गराएका थिए । जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासन, सुरक्षा निकाय र निर्वाचन संयन्त्रबिच समन्वय भइरहेको उनको भनाइ थियो ।
‘सबैको प्रयासबाट मात्र निर्वाचन स्वच्छ निष्पक्ष विश्वसनीय हुन्छ त्यसमा सञ्चार माध्यम, सञ्चारकर्मीको पनि भूमिका निकै हुन्छ, पत्रकार समाजका ऐना हुन्’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने । प्रमुख जिल्ला अधिकारी अर्यालले अझै पनि निर्वाचन विरोधी र निर्वाचन विथोल्ने गतिविधि हुन सक्ने भन्दै निर्वाचन विथोल्न गतिविधि गर्नेलाई निगरानी गरिरहेको बताए । ‘आज पनि केही त्यस्तो देखिएको थियो हामी जिम्मेवारी ढङ्गले सहज गराउन लागेका छौँ’, उनले भने ।
उनले निर्वाचन आचारसंहिता मतदाता, उम्मेदवार, कर्मचारी, संघसंस्था नेपाल सरकारका सबै निकायलाई लाग्ने बताए । उनले सबैले आफ्नो ठाउँबाट निर्वाचन आचारसंहिता पालना गर्नु पर्नेमा जोड दिए । निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिँजाली मगरले आचारसंहिताका प्रावधानबारे स्पष्ट पार्दै पर्चापम्पलेट तोकिएको मापदण्डभित्र रहेर मात्र प्रयोग गर्न पाइने बताए । भित्तेलेखन पूर्णरूपमा निषेध गरिएको जानकारी दिँदै उनले निर्वाचन आचारसंहितामा झण्डा प्रयोग, साउन्डसिस्टम, लोगो अङ्कित टोपी, ज्याकेटलगायतका विषयमा स्पष्ट उल्लेख भएको भन्दै सोही अनुसार गर्न÷गराउनु पर्ने बताए ।
उनका अनुसार प्रचारका लागि दुई वटा हलुका सवारी साधन प्रयोग गर्न पाइने छ भने रेडियो र टेलिभिजनबाट २४ घण्टामा बढीमा चार पटक मात्र प्रचार सामग्री प्रसारण गर्न पाइने व्यवस्था छ । प्रेस काउन्सिलमा सूचीकृत अनलाइन माध्यमले मात्र निर्वाचन प्रचारसम्बन्धी सामग्री प्रकाशन गर्न पाउने प्रावधान रहेको जानकारी दिए । पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले निर्वाचन जस्तो संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारले तथ्यपरक, सन्तुलित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आचारसंहिता पालना गर्दै निष्पक्ष र विश्वसनीय रिपोर्टिङ गर्न उनले आग्रह गरे । सुवेदीले पत्रकारलाई निर्वाचनमा मात्र होइन अन्य समय पनि आचारसंहिता पालना गर्नु पर्ने भन्दै आफूले गर्न हुने र नहुने कुरा ख्याल गर्नु पर्ने बताए । मानव अधिकारकर्मी तथा पत्रकार सुशील बस्नेतले विगतका निर्वाचनमा केही व्यक्तिले मुख छोपेर पटक पटक मतदान गरेको घटना बाहिर आएको उल्लेख गर्दै मतदान केन्द्रमा बायोमेट्रिक प्रणाली जडान गर्नु पर्ने सुझाव दिए ।
दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकबाट मत बदर हुने समस्या रहेको भन्दै उनले साउन्डसिस्टमयुक्त मतदान प्रणालीको व्यवस्था गर्नु पर्ने धारणा राखेका थिए । यसैगरी सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टै लाइनको व्यवस्था गर्नु पर्ने, निर्वाचन अवधिभर मादकपदार्थको विक्रीवितरण पूर्णरूपमा बन्द गर्नु पर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा रासस दाङ जिल्ला शाखा प्रमुख नारायणी रजौरेले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेकी थिइन् । कार्यक्रममा सहभागी सरोकारवालाले स्वच्छ र पारदर्शी निर्वाचनका लागि सञ्चार माध्यम, प्रशासन, सुरक्षा निकाय र नागरिक समाजबिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण राससका सम्वाददाता दीपक बोहराले गरेका थिए ।